‘लगानीको संवद्र्धन : उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने नारासहित २१ मंसिरदेखि पोखरामा समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलाको ०८० आयोजना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश तथा पोखरा उद्योग वाणिज्य संघको आयोजनामा हुने मेलाको पोखराको प्रतिष्ठित व्यावसायिक घराना लक्ष्मी गु्रपको उत्पादन समृद्धि स्टिल्सको मुख्य प्रायोजनमा मेला आयोजना हुने भएको हो ।
गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड प्रवद्र्धकका रूपमा रहेको मेला १ पुससम्म चल्नेछ । गण्डकी प्रदेशको व्यवसाय विस्तारको सम्भावनाको खोजी तथा प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने लक्ष्य लिएको मेलाको ८० प्रतिशत स्टल बुकिङ भएको आयोजक पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले जानकारी दिए । तीन सयभन्दा बढी स्टल रहने मेलामा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषिमेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिको प्रदर्शनी, विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाको गतिविधिको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु, घरायसी सरसामान, लत्ताकपडा, शृंगारका सामानहरूको बिक्री–वितरणसँगै लोकदोहोरी, बालउद्यान साथमा स्थापित हास्यकलाकारद्वारा मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिने अध्यक्ष प्रजापतिले बताए ।
संघका महासचिव बलराम आचार्यका अनुसार मेला प्रवेशका लागि सर्वसाधारणका लागि एक सय रुपैयाँ र विद्यार्थीका लागि ६० रुपैयाँ प्रवेश शुल्क कायम गरिएको छ । ज्येष्ठ नागरिक र अपांगता भएकालाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उनले जानकारी दिए । प्रतिप्रवेश टिकटमा जाजरकोट भूकम्पपीडितका लागि १० र विद्यार्थीको टिकटबाट पाँच रुपैयाँ छुट्याइने आचार्यले जानकारी दिए ।