एफसी चितवनले तोड्यो डेडलक, वीरगन्ज एफसी २–१ ले पराजित

नेपाल सुपर लिग २०२३

शुक्रबार, १५ मंसिर, २०८०
डिजिटल संस्करण

एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जित दर्ता गरेको छ । वीरगन्ज युनाइटेड एफसीलाई २–१ ले पराजित गर्दै एफसी चितवनले पहिलो जित दर्ता गरेको हो । 

एनएसएलको पहिलो सिजनमा समेत कुनै खेल नजितेको एफसी चितवनले दोस्रो संस्करणका अघिल्ला दुई खेलमा पनि स्पष्ट जित निकाल्न सकेको थिएन ।

एफसी चितवनको जितमा विमल घर्तीमगर र टोरिक जेब्रिनले एक–एक गोलको योगदान गरे । वीरगन्जको तर्फबाट आइकिन्स बाफुरले गोल गरे ।

खेलको २६औँ मिनेटमा गोल गर्दै विमलले चितवनलाई अग्रता दिलाएका थिए । तर, ५५औँ मिनेटमा आइकिन्सले गोल फर्काउँदै वीरगन्जलाई बराबरीमा ल्याए । 

त्यसको दश मिनेटपछि नै चितवनका लागि टोरिकले गोल थपे । यही गोल चितवनका लागि जितको डेडलक खोल्न पर्याप्त बन्यो । 
 
आजको जितपछि चितवनको तीन खेलमा एक जित र एक बराबरीबाट चार अंक भएको छ । दोस्रो खेल खेलेको नवप्रवेशी वीरगन्जले भने अंकको खाता खोल्न सकेको छैन । 

सुझावित समाचार