परराष्ट्रमन्त्री साउद कतार भ्रमणमा जाँदै

बुधबार, १३ मंसिर, २०८०
डिजिटल संस्करण
परराष्ट्रमन्त्री साउद कतार भ्रमणमा जाँदै

विपिन जोशीका बुबाआमासँग मन्त्री साउद

परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाँदै छन्। हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपिन जोशीको रिहाइको पहलका लागि मन्त्री साउद मंसिर २३ मा कतार जाने भएका हुन्।

यसअघि मंसिर ८ गते उनले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग मन्त्रालयमा भएको भेटमा विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए। जवाफमा कतारका विदेश राज्यमन्त्रीले त्यसका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए।

त्यसअघि मंसिर ७ गते (बिहीबार) मन्त्री साउदले विपिनको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए।

परराष्ट्रमन्त्री साउदले बुधबार गृहजिल्ला कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा विपिन जोशीका बुबाआमासँग पनि भेट गरेका छन्।

कतार बसाइका क्रममा उनी दोहा २१औँ फोरममा पनि सहभागी हुनेछन्। डिसेम्बर १० देखि सुरु हुने कार्यक्रम दुई दिनसम्म चल्नेछ।

सुझावित समाचार