नेपाली चलचित्र ‘रंगेली’को नयाँ क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। अभिनयमा पोख्त अभिनेता अर्पण थापाको पात्रलाई ‘भगवान् दादा’को रूपमा परिचय गराउँदै पोस्टर सार्वजनिक गरिएको हो।
यसअघि अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको पात्रअनुसारका पोस्टर सार्वजनिक गरिएको थियो। ‘रंगेली’मा थापाले जबर्जस्त भूमिका निर्वाह गरेको निर्देशक अर्जुन सुवेदीले बताए। सुवेदीकै लेखन रहेको फिल्ममा अर्पण, दयाहाङ र मिरुनासहित प्रवीण खतिवडा, रमेश बुढाथोकीलगायतको प्रमुख भूमिका रहेको छ।
फिल्म आगामी फागुन २५ गते महाशिवरात्रिको दिन विश्वव्यापी रिलिज हुँदै छ। यस फिल्मका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सविन सिंहको शब्द, रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत रहेको छ।
फिल्मको कार्यकारी निर्माताहरू जितेन्द्र खतिवडा र अनुजजंग थापा हुन्। निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिवशंकर चौलागाईं सहनिर्माता हुन्। विवेक खड्का (योलो) एसाेसिएट निर्माता हुन् भने छायाकार सुसन प्रजापति हुन्।
अस्ट्रेलिया र अमेरिकामा कलाकारसहित भिआइपी रेड कार्पेट प्रिमियर हुने यो फिल्म नेपालसँगै नेपालीको बसोवास रहेका अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, हङकङलगायतका देशमा एकसाथ रिलिज हुनेछ।
जापान, कोरिया र हङकङमा उज्ज्वल गुरागाईं र युएनए इन्टरटेनमेन्ट, अमेरिकामा ‘एक्का बास्सा इन्टरटेनमेन्ट’ र ‘लाइभ एट प्रिजेन्ट’ तथा अस्ट्रेलियामा ‘हट बिट्स इभेन्टस्’ले ‘रंगेली’ रिलिज गर्दै छन्। ओएआर डिजिटल फिल्मको डिजिटल वितरक हो।