प्रहरी समायोजनबारे प्रदेशका आन्तरिक मामिलामन्त्रीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

बुधबार, १३ मंसिर, २०८०
डिजिटल संस्करण
प्रहरी समायोजनबारे प्रदेशका आन्तरिक मामिलामन्त्रीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

बुधबार प्रधानमन्त्री प्रचण्डलाई प्रहरी समायोजनको माग गर्दै ध्यानाकर्षणपत्र बुझाउँदै सातै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरू ।

ऐन कार्यान्वयनमा नआउँदा प्रदेशको शान्ति, सुरक्षालगायत एकल अधिकारका विषय प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको दाबी

ऐन बनेको चार वर्ष बितिसक्दा पनि संघ र प्रदेशबीच प्रहरी समायोजन हुन नसकेपछि सातै प्रदेशका गृहमन्त्रीले संघीय सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षणपत्र बुझाएका छन् ।

उनीहरूले प्रधानमन्त्री प्रचण्डलाई प्रधानमन्त्रीनिवास बालुवाटार र गृहमन्त्री श्रेष्ठलाई सिंहदरबारस्थित गृह मन्त्रालयमा ध्यानाकर्षणपत्र बुझाएका हुन् । ध्यानाकर्षणपत्रमा प्रहरी कर्मचारी समायोजन ऐन, २०७६ र नेपाल प्रहरी तथा प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६ संघीय संसद्बाट पारित भएर प्रमाणीकरण भइसक्दासमेत संघ र प्रदेशबीच प्रहरी समायोजन हुन नसकेको उल्लेख छ । 

‘प्रहरी कर्मचारी समायोजन ऐन, २०७६ र नेपाल प्रहरी तथा प्रदेश प्रहरी(कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६ संघीय संसद्बाट पारित भएर प्रमाणीकरण भइसक्दा पनि संविधानको अनुसूची ६ बमोजिम नेपाल सरकारले प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने, तर आजसम्म प्रहरी कर्मचारी तथा संरचनाहरूको हस्तान्तरण हुन सकेको छैन’ पत्रमा भनिएको छ । 

संघीय संसद्बाट पारित भएपछि प्रहरी कर्मचारी समायोजन ऐन, २०७६ र नेपाल प्रहरी तथा प्रदेश प्रहरी(कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन २०७६, २८ माघ ०७६ मा प्रमाणीकरण भएको थियो । दुवै ऐन हालसम्म कार्यान्वयनमा नआउँदा प्रदेशको शान्ति, सुरक्षाजस्ता कुरा प्रदेशको एकल अधिकारका विषय प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको पत्रमा उल्लेख छ । 

‘ऐनअनुसार संघ र प्रदेश प्रहरी समायोजन नहुँदा संविधानले प्रदान गरेको प्रदेशको शान्ति, सुरक्षाजस्ता प्रदेशको एकल अधिकारका विषय प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन,’ पत्रमा छ, ‘अतः संघीय संसद्ले पारित गरेको ऐनको मर्म र भावनाअनुसार अविलम्ब  प्रहरी समायोजन गरी प्रदेश सरकारमातहत ल्याउन र समायोजनका लागि आवश्यक कारबाही अघि बढाउन ध्यानाकर्षण गराउन चाहन्छौँ ।’

संविधानबाट प्रदत्त अधिकार प्रदेश सरकारले अहिलेसम्म प्रयोग गर्न नपाएपछि सातै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री एकजुट भई प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री श्रेष्ठलाई ध्यानाकर्षणपत्र बुझाउन बाध्य भएको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले बताए । ‘प्रहरी कर्मचारी समायोजन ऐन, २०७६ र नेपाल प्रहरी तथा प्रदेश प्रहरी(कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६ संघीय संसद्बाट पारित भएर प्रमाणीकरण भएको चार वर्ष बितिसक्यो,’ उनले भने, ‘तर, प्रदेश प्रहरी समायोजन भएन । जसकारण प्रदेश सरकारले संविधानबाट प्रदत्त अधिकार पनि प्रयोग गर्न सकेन । त्यसो हुँदा हामीले प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराएका हौँ ।’

पत्र बुझेपछि प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठकपछि मात्रै संघ र प्रदेशबीच प्रहरी समायोजन गरिने जवाफ दिएका थिए । सोही विषयलाई लिएर मन्त्रिपरिषद् बैठकमा पटक–पटक छलफल भएकोसमेत उनले पत्र बुझ्ने क्रममा बताएका थिए । ‘संघ र प्रदेशबीच प्रहरी समायोजन हुन सकेको छैन । यस विषयमा सरकार प्रयत्नरत छ । मन्त्रिपरिषद् बैठकमा पनि छलफल भएको छ । यही विषयलाई लिएर सर्वदलीय बैठक राख्ने योजना छ । त्यसपछि समायोजनको काम अघि बढ्नेछ,’ प्रधानमन्त्रीको भनाइ थियो ।

पत्र बुझ्ने क्रममा गृहमन्त्री श्रेष्ठले संघीयतालाई बलियो बनाउन आवश्यक ऐन निर्माण, संशोधन एवं कार्यविधि तय गर्न सरकार लागिरहेको बताए । ‘प्रदेशहरूलाई अधिकार सम्पन्न र संघीयतालाई बलियो बनाउन संघीय सरकार आवश्यक ऐन निर्माण, संशोधन एवं कार्यविधि तय गर्न लागिरहेको छ । प्रहरी समायोजन प्रक्रियालाई प्राथमिकतामा टुंग्याइनेछ । सरकारको नीति कार्यक्रममा नै यो विषय उल्लेख भएकाले यस सन्दर्भमा सरकार संवेदनशील छ,’ गृहमन्त्री श्रेष्ठले भने ।

ध्यानाकर्षणपत्र बुझाउन बागमती प्रदेशका आन्तरिक मामिलामन्त्री श्रेष्ठसहित मधेशका मोहम्मद समिम, लुम्बिनीका सन्तोषकुमार पाण्डे, कर्णालीका कृष्णबहादुर जिसी, सुदूरपश्चिममा शिवराज भट्ट सहभागी थिए । त्यस्तै, गण्डकीकी ऊर्जामन्त्री सरस्वती अर्याल तिवारी र कोशीका विनाविभागीयमन्त्री शमशेर राई प्रतिनिधिका रूपमा सहभागी थिए । 

सुझावित समाचार