डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सको सुखद सुरुवात, स्पोर्टिङ इलाम १-० ले पराजित

शुक्रबार, ८ मंसिर, २०८०
डिजिटल संस्करण

डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सले नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा सुखद सुरुवात गरेको छ । 

दशरथ रंगशालामा आज भएको लिगको उद्घाटन खेलमा काठमाडौं रेजर्सले नवप्रवेशी टोली स्पोर्टिङ इलामलाई १–० ले निराश बनायो । यो जितसँगै उसले स्पष्ट तीन अंक हासिल गरेको छ । 

काठमाडौं रेजर्सको जितमा वैकल्पिक खेलाडी राजीव लोप्चन नायक साबित भए । उनले ५१औँ मिनेटमा सिक्स यार्ड बक्सबाट प्रहार गरेको गोलले जाली चुमेपछि काठमाडौं रेजर्सले खेलमा अग्रता लिएको थियो । खेलमा त्यसपछि कुनै गोल हुन नसक्दा त्यही गोल निर्णायक साबित भयो ।

कोमिलोभले प्रहार गरेको कर्नरमा जुनिएर एनकुनगएले गोलपोस्टतर्फ हेड गर्दा स्पोर्टिङ इलामका कप्तान गोलकिपर विकेश कुथुले राम्रो जज गर्न सकेनन् । विकेशले नियन्त्रणमा लिन नसकेको बललाई दोस्रो प्रयासमा राजीवले जाली चुमाए ।

कुल ४० खेल हुने प्रतियोगितामा काठमाडौं, धनगढी, इलाम, झापा, वीरगन्जसहित एफसी चितवन, बुटवल लुम्बिनी, पोखरा थन्डर्स र ललितपुर सिटी एफसी सहभागी छन् ।
 

सुझावित समाचार