बिहानैदेखि चाँगुनारायणमा भक्तजनको घुइँचो

बिहिबार, ७ मंसिर, २०८०
डिजिटल संस्करण

हरिबोधिनी एकादशीका दिन आज भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित प्रसिद्ध चाँगुनारायण मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । चार नारायणमध्येका जेठो नारायणका रूपमा पुजिँदै आएको चाँगुनारायण मन्दिरमा आज बिहान ४ बजेदेखि दर्शनार्थीको घुइँचो लागेको मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले जानकारी दिए।  

आजका दिनमा चार नारायणको दर्शन गरेमा पुन्य प्राप्त हुने र चिताएको फल प्राप्त हुने जनविश्वास रहेकाले भक्तजनले भक्तपुरको चाँगुनारायण, काठमाडौंको शेषनारायण, इचंगुनारायण र ललितपुरको विशंखुनारायणको दर्शन गर्ने गर्दछन् । मेला व्यवस्थापन समितिका पदाधिकारीका अनुसार चार नारायणको दर्शन गर्दा जेठो नारायणको रूपमा मानिएको चाँगुनारायणको पहिला दर्शन गर्न सके उत्तम हुने मान्यता रहेकाले बिहान ४ बजेदेखि नै दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ ।
    
सहज रूपमा दर्शन र पूजा गर्ने व्यवस्थाका लागि मन्दिरमा स्वयंसेवक एवं स्काउट र प्रहरी परिचालन गरिएको चाँगुनारायणका गोकर्ण पुरीले जानकारी दिए । उनका अनुसार आज बिहानैदेखि मन्दिरपरिसरमा भक्तजनको घुइँचो लागेको छ ।

असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीर सागरमा शयन गरेका भगवाण विष्णु आजै जागा हुने भएकाले यस दिनलाई हरिबोधिनी एकादशीको रूपमा विशेष पूजा–अर्चना गरेर मनाइने पुजारी राजोपाध्यायको भनाइ छ । 
 
‘हरिशयनी एकादशीका दिन घरघरमा रोपिएको तुलसीको मठलाई आज परम्पराअनुसार सिँगारेर पूजा गरी माला लगाएर विष्णुसँग विवाह गराइएको दिने गरिन्छ,’ उनले भने, ‘आजको दिनमा व्रत बस्ने र चामलको परिकार खान नहुने परम्पराअनुसार पिँडालु र सख्खरखण्डको परिकार खाने प्रचलन छ ।’

त्यसैगरी चाँगुनारायण नगरपालिकाल– ५ छालिङ गोकुल गाउँस्थित प्रसिद्ध मच्छेनारायण मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । नारायणकाे पूजा एवं दर्शन गर्न व्रतालुको भिड लागेको गोकर्ण पुरीले जानकारी दिए । 
 

सुझावित समाचार