मिथिलामा अक्षय नवमी पर्व मनाइँदै

मंगलबार, ५ मंसिर, २०८०
डिजिटल संस्करण

मिथिला क्षेत्रमा आज अक्षय नवमी पर्व मनाइँदै छ । कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार यो पर्व आज मनाइँदै गरिएको हो । मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व सामूहिक भोजन गरिने रमाइलो चाडबाडमा गनिन्छ ।

कात्तिक शुक्ल नवमीका दिन अमला (धातृ) को रूखको फेदमा खाना खाने मैथिल परम्परा छ। पर्वविशेषमा आज महोत्तरीका गाउँ, नगर र बस्तीमा बिहानैदेखि युवापंक्ति सामूहिक भोजनको तयारीमा जुटेका छन्। यो पर्वमा घरनजिकै, बगैँचा वा वनक्षेत्रमै रहेको अमलाको रूखका फेदमा खानेकुरा पकाएर त्यहीँ खाने चलन छ ।

पर्वमा अमलाका विशेष परिकार (अचार, मुरब्बा र चटनी)सहित शाहाकारी खाना खाने परम्परा छ। अब चिसो मौसम छिप्पिँदै जाने क्रममा खानेकुरामा अमलाको प्रयोग बढाउने सन्देश रहेको मैथिल संस्कृति परम्पराका जानकार बर्दिबास नगरपालिका– २ का कर्मकाण्डी ब्राह्मण पण्डित महेशकुमार झा बताउँछन् । 

पर्वमा खासगरी किशोर र युवा वनभोजको चाँजोपाँजो मिलाउन व्यस्त देखिएका छन् । सांस्कृतिक पर्वमा किशोर र युवाको सहभागिता बढ्नु सकारात्मक भएको पाका मैथिलको प्रतिक्रिया छ। सांस्कृतिक पर्वमा किशोर र युवाको सहभागिताले संस्कृतिको जगेर्ना, विकास र निरन्तरता पाउनमा सहयोग हुने जिल्लाकै बलवा नगरपालिकाको बलवाबजारका बासिन्दा शिवनारायण झा बताउँछन्। 

पर्वविशेषमा जिल्लाको बर्दिबास नगरक्षेत्रका कारेघोप्टे, माईस्थान, टुटेश्वर, राईमण्डल, कालापानी र गौरीडाँडा वनपार्कनजिकैका वनक्षेत्रका  अमलाका रूखका फेदमा एकाबिहानै कैयौँ वनभोजका टोली पुगेका छन् । खानेकुरामा अमलाको नियमित प्रयोगमा जोड दिने परम्पराले यो पर्व स्वास्थ्य सचेतनाका लागि सहयोगी भएको बर्दिबास अस्पतालका मेडिकल अधिकृत डा. किशोर अधिकारीको भनाइ छ ।

मिथिलामा आज (कात्तिक शुक्ल नवमी)को दिनलाई कुष्माण्ड नवमीसमेत भनिने गरिएको छ । यसै तिथिमा द्वापरयुगमा श्रीकृष्णले कुष्माण्डक दैत्यलाई संहार गरेर कंश बध गर्नुपूर्व मधुरा, वृन्दावन र गोवर्द्धन पर्वत क्षेत्र परिक्रमा गर्नुभएको जनश्रुति रहेको मिथिला कला, साहित्य र परम्पराका ज्ञाता यस क्षेत्रका प्रसिद्ध साहित्यकार डा. राजेन्द्रप्रसाद विमल बताउँछन्। 

कात्तिक शुक्ल नवमीदेखि पूर्णिमासम्म भगवान् विष्णु अमलाका रूखमा बस्ने हिन्दू मैथिल जनविश्वास  छ । अक्षय नवमीका दिन भगवान् विष्णुको आराधनाले इच्छित कामना पूरा हुने र सन्तान सुख प्राप्त हुने हिन्दू मैथिल मान्यता छ । इच्छित कामना पूरा हुने भएकाले यस पर्वलाई इच्छा नवमी र अमला (धातृ)को प्रयोगमा जोड दिइने परम्पराले धातृ नवमीसमेत भन्ने गरिएको डा. विमल बताउँछन् । अमला स्वस्थ खानाको वस्तु भएकाले यो पर्व  स्वास्थ्य सचेतनाकै लागि पूर्वजले सुरु गरेका मैथिल युवा बताउँछन् ।
 

सुझावित समाचार