अमेरिकी सहजता र सकारात्मकता दिगो रहोस्

मंगलबार, ५ मंसिर, २०८०
डिजिटल संस्करण

अमेरिकाले आयोजना गरेको यस वर्षको एसिया–प्रशान्त आर्थिक साझेदार समूह (एपेक) का नेताको अनौपचारिक बैठकले एपेक अर्थतन्त्र र व्यापक अन्तर्राष्ट्रिय समुदायबाट अपेक्षाकृत सर्वसम्मत सकारात्मक मूल्यांकन पाएको छ । वास्तवमा यो सजिलो थिएन ।

एपेक क्षेत्रमा आर्थिक सहयोगका लागि समर्पित एसिया–प्रशान्तको बहुआयामिक मञ्चलाई सम्भावित रूपमा बिथोल्दै अमेरिकाले आफ्नै एजेन्डा सार्ने हो कि भन्ने चिन्ता सतहमा आएका थिए । यी चिन्ता निराधार थिएनन्, तर सौभाग्यवश अन्त्यमा परिणाम सकारात्मक आएको छ । बैठकको नतिजाले क्षेत्रीय आर्थिक सहयोगमा प्राथमिक ध्यान कायम हुने र यस्ता साझेदारी सुदृढ हुने आशा जगाएको छ । यस सन्दर्भमा सानफ्रान्सिस्कोमा भएको एपेक शिखर सम्मेलनले बहुमूल्य सन्देश र प्रेरणा प्रदान गर्दै इतिहासमा एक विशिष्ट स्थान राख्नेछ ।

१७ नोभेम्बरका दिन स्थानीय अमेरिकी समयमा जारी गरिएको सानफ्रान्सिस्को घोषणापत्रले स्वतन्त्र, खुला, निष्पक्ष, भेदभावरहित, पारदर्शी, समावेशी र अनुमान गर्न सकिने व्यापार एवं लगानीको वातावरण स्थापना गर्ने संकल्पलाई दोहो¥याएको छ । यसबाहेक घोषणापत्रले विश्व व्यापार संगठन (डब्लुटिओ) भित्र एपेकको समग्र कार्यक्षमता बढाउन आवश्यक सुधार गर्ने सबै राष्ट्रको प्रतिबद्धतालाई जोड दिएको छ । यो सामूहिक सिद्धान्तले एसिया–प्रशान्त क्षेत्रका लागि साझा दृष्टिकोण र आकांक्षा झल्काउँछ ।

सानफ्रान्सिस्को घोषणा गत वर्षको बैंकक घोषणाभन्दा भिन्न छ अर्थात् रुस–युक्रेन द्वन्द्वबारे केही उल्लेख छैन । बैंकक घोषणामा यसलाई समावेश गरिनुपर्छ भनेर अमेरिकाले कडा रूपमा पैरवी गरेको थियो । त्यसवेला अमेरिकाको अडानले विवाद उत्पन्न गराएको थियो, किनभने अधिकांश एपेक सदस्यले एपेकलाई भूराजनीतिक मुद्दामा चासो राख्ने मञ्च नभई आर्थिक सहयोगको मञ्चका रूपमा हेर्नुपर्छ भन्ने मत राखेका थिए । यो मूलधारको मत यस वर्ष निकै स्पष्ट र मुखर ढंगले सतहमा आएको थियो, तसर्थ आयोजक राष्ट्र यो अवधारणाविरुद्ध गएन । अन्त्यमा, अमेरिकाले रुस–युक्रेन द्वन्द्व र इजरायल–प्यालेस्टाइन द्वन्द्वका मामिलामा आफ्नो मत व्यक्त गर्न अलग्गै वक्तव्य जारी गरेको थियो । यो वास्तवमा बहुपक्षीय मञ्चलाई अपहरण गर्ने वासिंटनको इच्छाको असफलता हो र बहुमतले प्रस्तुत गर्ने मतको शक्तिको प्रतिबिम्ब पनि हो । 

अमेरिकाले आफ्नो प्रतिष्ठा मात्र नभई आफ्नो सौम्य शक्ति, राष्ट्रिय विश्वसनीयता र मूल्यवान् ‘नेतृत्व’मा प्रभाव पर्ने भन्दै एपेक शिखर सम्मेलनमा अवरोध नगर्ने उद्देश्य राखेको थियो । नतिजा बृहत् सहयोग र थप संयमित दृष्टिकोण प्रदर्शन गर्दै अमेरिकाले विभिन्न मामिलामा बहुमतलाई साथ दिने निर्णय गर्यो । यसैकारण सानफ्रान्सिस्कोमा सफल एपेक बैठकले अनुकूल नतिजा दिएको छ ।

अमेरिकाले प्रतिष्ठा मात्र नभई सौम्य शक्ति, राष्ट्रिय विश्वसनीयता र मूल्यवान् ‘नेतृत्व’मा प्रभाव पर्ने भन्दै एपेक सम्मेलनमा अवरोध नगर्ने उद्देश्य राखेको थियो 

यो एपेक शिखर सम्मेलनमा देखिएको रचनात्मक भूमिकाका साथसाथै अमेरिकी मनोवृत्ति र व्यवहारमा आएको परिवर्तनले सन्देह गर्ने ठाउँ भने खडा गरेको छ । अर्थात् अमेरिकाले स्विकारेको व्यवहार अस्थिर र परिवर्तनको विषय त होइनन् भन्ने प्रश्न पनि उठेको छ । यो एपेक मात्र नभई विश्व शासन प्रणालीका लागि पनि ठूलो अनिश्चितता हो । साझेदारी एक सामान्य प्रवृत्ति हो, तर प्रक्रिया भने सहज हुँदैन । र, सहजता अमेरिकाको सकारात्मक वा नकारात्मक भूमिकामा निहित छ ।

एपेक शिखर सम्मेलनको आयोजकका रूपमा अमेरिकाले सानफ्रान्सिस्कोमा इन्डो–प्यासिफिक इकोनोमिक फ्रेमवर्क फर प्रोस्परिटी (आइपिइएफ) बैठक आयोजना गर्नेजस्ता केही कुटिल रणनीति प्रयोग गरेको थियो । १४ सदस्य भएको आइपिइएफलाई चीनलाई तारो बनाउने अमेरिकी पहलका रूपमा हेरिन्छ । यद्यपि, बैठकले व्यापक व्यापार सम्झौतामा नतिजा ल्याउन सकेन, जसले प्रगति नभएको तथ्यलाई संकेत गर्छ । चीनबाहेक कुनै पनि एसिया–प्रशान्त बहुपक्षीय आर्थिक र व्यापार संयन्त्र सफल हुने सम्भावना छैन भन्ने तथ्य यसले पनि स्पष्ट पारेको छ ।

एपेक बैठक सुचारु ढंगले अघि बढ्नुमा चिनियाँ र अमेरिकी राष्ट्रप्रमुखबीचको बैठकले महत्वपूर्ण भूमिका खेलेको थियो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाका अनुसार राष्ट्रपतिद्वय सी–बाइडेन बैठकले विश्वव्यापी सहयोग महत्वपूर्ण रहेको संकेत गरेको जनाएकी छिन् । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले कसरी यी दुई नेताको बैठकले चीन र अमेरिकाबीचको बढ्दो प्रतिद्वन्द्वितालाई लिएर एपेक अर्थतन्त्रमाझ रहेको चिन्तालाई कम ग¥यो भन्ने उल्लेख गरेका छन् । जर्मन दैनिक फ्रान्कफर्टर अल्जेमाइन जेइटुङले सी–बाइडेन भेट भएको शिखर सम्मेलनपछि विश्व ‘थोरै सुरक्षित’ भएको जनाएको छ । यस्ता समाचारले अन्तर्राष्ट्रिय समुदायको साझा अपेक्षालाई प्रतिबिम्बित गर्छ ।

हामीले यी अपेक्षा पूरा गर्छौं वा गर्दैनौँ भन्ने आधारमा परिणाम भिन्न–भिन्न हुनेछन् । सानफ्रान्सिस्कोमा भएको एपेक शिखर सम्मेलनले केही हदसम्म अन्तर्राष्ट्रिय वातावरणमा सकारात्मक प्रभाव पारेको छ र क्षेत्रीय सदस्यको भविष्यको सहयोगमा विश्वास बढाएको छ । वास्तवमा यो निकै महत्वपूर्ण उपलब्धि हो । यदि अमेरिकाले भविष्यमा बृहत्तर अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यलाई निरन्तरता दिँदै गतिशील, सामञ्जस्यपूर्ण र समृद्ध एसिया–प्रशान्त समुदायको स्थापनामा योगदान पुर्याउँछ भने यसले थप महत्वपूर्ण र आकर्षक नतिजा हासिल गर्ने सम्भावना छ । यस दिशामा अमेरिकाले ठोस कदम चाल्नेछ भन्ने सबैले आशा गरेका छन् । त्यस्ता कार्य विश्वव्यापी शान्ति र विकासका लागि महत्वपूर्ण मात्रै नभई यसले विश्वमञ्चमा अमेरिकाको उत्तरदायित्व र निष्ठाको परीक्षणका रूपमा पनि काम गर्छ ।
(४ मंसिरको ग्लोबल टाइम्सको सम्पादकीय)

सुझावित समाचार