सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन सोमबारदेखि सुरु भएको छ । गोकर्ण गल्फ कोर्समा भएको पहिलो दिनको खेलमा एमेच्योर गल्फर टासी छिरिङ ७ अन्डर ६५ को स्कोरका साथ शीर्ष स्थानमा रहे । उनले राष्ट्रिय टोलीका युवा एमेच्योर गल्फर सद्भाव आचार्यलाई एक स्ट्रोकले पछि पारेका छन् । सहभागी ३३ प्रोफेसनल गल्फरलाई दुई एमेच्योर खेलाडीले पछि पारेका छन् । सद्भाव ६ अन्डर ६६ कार्डसहित दोस्रो स्थानमा रहेका छन् । धरानका प्रोफेसनल गल्फर नीरज तामाङ ३ अन्डर ६९ कार्डसहित तेस्रो स्थानमा रहे । प्रोफेसनलतर्फ अगाडि रहेका नीरज लिडर एमेच्योर टासी भन्दा ४ स्ट्रोकले पछि छन् ।
जयराम श्रेष्ठ २ अन्डर ७० कार्डसहित चौथो स्थानमा रहेका छन् । शीर्ष स्थानमा रहने क्रममा टासीले उत्कृष्ट सुरुवात गर्दै फ्रन्ट नाइन ७ अन्डर २९ को कार्ड लेखाएका थिए । उनले दोस्रो, छैटौँ, सातौँ, आठौँ र नवौँ होलमा बर्डी प्रहार गरे । पाँच पारको तेस्रो होलमा उनले इगल हात पारे । टासीले त्यसपछि १३औँ, १५औँ, र १७औँ होलमा समान एक सट बचाएका थिए । उनी १२औँ, १७औँ र १८औँ होलमा बोगी खेप्न बाध्य भए । यसै प्रदर्शनका आधारमा उनले ब्याक नाइन इभन पार ३६ मा सकाए ।
दोस्रो स्थानमा रहेका सद्भावले फ्रन्ट र ब्याक नाइन समान ३ अन्डर ३३ को कार्ड लेखाएका छन् । उनले दोस्रो होलमा बोगी खेपे । त्यसपछि सद्भावले तेस्रो, चौथो, छैटौँ र नवौँ होलमा बर्डी प्रहार गरेका थिए । उनले ११औँ, १२औँं, १४औंँ र १७औंँ होलमा एक–एक सट बचाए । उनले १६औँ होलमा बोगीको सामना गरे ।
चौथो स्थानमा जयराम
प्रोफेसनल गल्फर जयराम श्रेष्ठ चौथो स्थानमा रहेका छन् । उनले १ अन्डर ७१ को कार्ड लेखाए । तोरणविक्रम शाही पाँचौँ स्थानमा छन् । इभन पार ७२ खेलेका दिनेश प्रजापति र प्रदीपकुमार लामाले संयुक्त रूपमा छैटौँ स्थानमा रहे । तीन गल्फर पशुपति शर्मा, भुवन नगरकोटी र बलभद्र राई संयुक्त रूपमा आठौँ स्थानमा छन् । उनीहरूले १ ओभर ७३ को कार्ड बनाए ।
तेस्रो स्थानमा रहेका नीरजले फ्रन्ट नाइन १ अन्डर ३५ कार्ड लेखाएका थिए । उनले पहिलो र तेस्रो होलमा बर्डी प्रहार गरेका थिए । आठौँ होलमा एक सट खेर फालेका उनले ब्याक नाइन २ अन्डर ३४ मा सकाए । यस क्रममा उनले १०औँ र १४औँ होलमा बर्डी प्रहार गरे । जयरामले फ्रन्ट नाइन ४ अन्डर ३२ को कार्ड लेखाए । उनले पाँचौँ, सातौँ, आठौँ र नवौँ होलमा बर्डी प्रहार गरे ।