विराट कोहली र केएल राहुलको अर्धशतकप्रेरित भारतले आइसिसी एकदिवसीय विश्वकप २०२३ फाइनल जित्न अस्ट्रेलियालाई दुई सय ४१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस हारेको भारतले सुरुवाती ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा अलआउट हुँदै दुई सय ४० रन बनाएको हो।
भारतका राहुलले एक सय ७ बलमा सर्वाधिक ६६ रन बनाए। उनले मात्र एक चौका हिर्काए। तेस्रो नम्बरमा क्रिजमा आएका विराट कोहलीले ६३ बलमा चार चौकासहित ५४ रनको योगदान गरे।
ओपनर रोहित शर्माले ३१ बलमा ४७ रन बनाएर आउट भए। चार चौका र तीन छक्का हिर्काएका रोहितलाई ग्लेन म्याक्स्वेलले ट्राभिस हेडबाट क्याच आउट गराए। भारतका लागि सूर्यकुमार यादवले १८ रनको योगदान गरे।
अस्ट्रेलियाका मिचेल स्टार्सले १० ओभरमा ५५ रन खर्चँदै तीन विकेट लिए। कप्तान प्याट कमिन्स र जस हेजलवुडले समान दुई विकेट लिए।
भारत घरेलु मैदानमा तेस्रोपटक विश्वकप उचाल्ने दाउमा छ। अस्ट्रेलिया कीर्तिमानी छैटौँपटक उपाधि जित्ने लक्ष्यमा छ ।
भारतले यसअघि १० खेलमा अपराजित रहँदै फाइनलमा स्थान बनाएको थियो। सुरुवाती दुई खेल हारेको अस्ट्रेलिया त्यसपछिका आठ खेलमा अपराजित छ।