वरिष्ठ आख्यानकार रमेश विकलको ९५औँ जन्मदिवस मनाइयो

मंगलबार, २८ कार्तिक, २०८०
डिजिटल संस्करण
वरिष्ठ आख्यानकार रमेश विकलको ९५औँ जन्मदिवस मनाइयो

गोकणेश्वर नगरपालिकाका प्रमुख दिपक रिसाल वरिष्ठ आख्यानकार स्व. रमेश विकलको पुर्णकदको शालिकमा माल्यार्पण गर्दै ।

वरिष्ठ आख्यानकार स्वर्गीय रमेश विकलको ९५औँ जन्मदिवस मनाइएको छ। 

स्वर्गीय विकलकोे जन्मस्थल आरुबारीमा उनकै आवास रहेको जमिनमा स्थापना गरिएको रमेश विकल साहित्य प्रतिष्ठानमा विशेष कार्यक्रमका साथ जन्मदिवस मनाइएको हो। 

प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरेको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा विकलका साहित्यिक र कलाकारिताले भरिएको व्यक्तित्वका बारेमा उनका समकालीन साहित्यकार तथा कलाकारले स्मरण तथा विवेचना गरेका थिए। 

कार्यक्रममा विकलको कलाचेत तथा प्रस्तुतिका बारेमा कला समीक्षक मुकेश मल्ल र ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति के. के. कर्माचार्यले आ-आफ्नो विचार प्रस्तुत गरेका थिए। 

संघीय सांसद तथा प्रतिनिधिसभा अर्थ समितिका सभापति सन्तोष चालिसेले आफ्नै निर्वाचन क्षेत्र राष्ट्रिय महत्त्वका साहित्यकारको जन्मस्थल भएकोमा गर्व गर्दै सरकारले कला र साहित्य क्षेत्रमा पर्याप्त ध्यान दिन नसकेको गुनासो गरे। 

साहित्य तथा कला क्षेत्रको संरक्षण र संवर्द्धन गर्नमा सकेसम्म योगदान दिने उनले प्रतिबद्धता व्यक्त गरे। त्यस्तै, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले विकास भौतिक निर्माणमा मात्र सीमित हुन नहुने बताए। 

मानसिक विकास भौतिक विकासको जग भएको र साहित्य तथा कला त्यसको मुख्य साधन भएको उनको भनाइ थियो। नगरपालिकाले साहित्य तथा कला विकास र संरक्षणका साथै नयाँ प्रतिभाको साहित्यिक प्रस्फुटनका लागि अवसर उपलब्ध गराउने हिसाबले बजेटको व्यवस्था गरेको उनले जानकारी दिए। 

रमेश विकल साहित्यिक प्रतिष्ठानजस्तै साहित्य र कलामा समर्पित संस्थाहरू यस प्रकारको विकासका लागि मार्गदर्शक बन्न सक्ने उनको भनाइ थियो। 

सुझावित समाचार