बाइडेन–सी शिखर वार्ता र चीन–अमेरिका सम्बन्ध

विश्वका दुई शक्तिशाली राष्ट्रले एक–अर्कासँग सञ्चार गर्नैपर्छ र दुई देशबीच टुटेको संवादका च्यानल पुनः स्थापना गर्नुपर्छ

आइतबार, २६ कार्तिक, २०८०
डिजिटल संस्करण

चिनियाँ उपराष्ट्रपति हान झेङले सिंगापुरमा ब्लुमबर्ग न्यू इकोनोमी फोरममा बोल्दै चीन अमेरिकासँग सम्बन्ध सुधार गर्न तयार रहेको बताएका छन् । स्थिर र बलियो सम्बन्ध दुवै पक्षका जनताको साझा चाहना रहेकाले चीन अमेरिकासँग सबै तहमा सञ्चार र संवादलाई सुदृढ गर्न, पारस्परिक लाभकारी सहयोगलाई प्रवद्र्धन गर्न, भिन्नतालाई उचित रूपमा व्यवस्थापन गर्न र विश्वव्यापी चुनौतीलाई संयुक्त रूपमा सम्बोधन गर्न तयार रहेको झेङले बताएका छन् ।

चीन–अमेरिका सम्बन्ध वास्तवमा भयावह र तनावपूर्ण रहँदै आएको छ । अमेरिकाले संवेदनशील प्रविधि र रणनीतिक कच्चा पदार्थमा चीनको पहुँचलाई प्रतिबन्ध लगाउने नीतिलाई तीव्र र व्यापक रूपमा अघि सारेको छ । आर्थिक सुरक्षा सुनिश्चित गर्न अमेरिकी नीति निर्माताले अघि सारेको ‘सानो यार्ड, उच्च बार’ को रणनीतिलाई चीनले अमेरिकाको चीनको उदयलाई नियन्त्रण गर्ने र रोक्ने मनसायले उत्प्रेरित रहेको बताउँदै आएको छ ।

अर्कातर्फ, आगामी ०२४ को चुनावमा दोस्रो कार्यकालको खोजी गरिरहेको बाइडेन प्रशासन चीनसामु कुनै पनि कोणबाट कमजोर देखिन चाहँदैन । तर, दुवै देशका नेतृत्व चाहँदैनन् कि उनीहरूबीचको सम्बन्ध पूर्णतया युद्ध या शीतयुद्धको मार्गमा जाओस् । कुनै पनि प्रकारको युद्ध दुवै राष्ट्रको हितमा नहुने आमसहमतिका बाबजुद भूरणनीतिक, आर्थिक, औद्योगिक र सैन्य क्षमता निर्माणसहित धेरै क्षेत्रमा रणनीतिक प्रतिस्पर्धालाई लिएर दुवै देशमा एक–अर्कासँग मतभेद छ र आउने दिनमा यो मतभेद थप बढ्ने सम्भावना छ । तैपनि, सम्बन्धलाई ‘ट्र्याक’भन्दा बाहिर जानबाट रोक्नुपर्छ भन्नेमा दुवैतर्फ एउटा स्पष्ट बुझाइ भने रहेको छ ।

बाइडेन–सी सानफ्रान्सिस्को शिखर वार्ता दुवै नेताका लागि सम्बन्ध सुधार्न, वर्तमान तनावग्रस्त अन्तर्राष्ट्रिय वातावरणलाई गम्भीरतापूर्वक विश्लेषण गर्न र शान्ति स्थापनाको दिशामा आपसी कदम बढाउन अति आवश्यक दोस्रो मौका हुन सक्छ

राष्ट्रपति बाइडेनले ह्वाइट हाउसमा वाङ यीलाई भेट्दा अमेरिका र चीन दुवैले प्रतिस्पर्धालाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न र विश्वव्यापी चुनौतीको सम्बोधन गर्न मिलेर काम गर्न अति आवश्यक रहेकाले दुई देशबीच सञ्चारका लाइनहरू कायम गर्न आवश्यक रहेको बताएका थिए । त्यस्तै चाल्र्स सुमरको नेतृत्वमा अमेरिकी सिनेटको प्रतिनिधिमण्डललाई स्वागत गर्दा राष्ट्रपति सी चिनफिङले चीन–अमेरिका सम्बन्ध संसारमा सबैभन्दा महत्वपूर्ण रहेको र यसले मानव जातिको भविष्य र भाग्य निर्धारण गर्ने बताएका थिए । चीन–अमेरिका सम्बन्धहरू वास्तवमै महत्वपूर्ण छन् र यी दुई राष्ट्रबीचको स्थिर सम्बन्धको अतुलनीय विश्वव्यापी महत्व छ भन्ने तर्कलाई सायद धेरै कमले खण्डन गर्छन् ।

यही सन्दर्भमा विश्वको नजर आगामी १४ देखि १७ नोभेम्बरसम्म अमेरिकाको सान फ्रान्सिस्कोमा हुने एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) को बैठकमा  केन्द्रित हुनेछ, जहाँ अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिंग ठीक एक वर्षपछि भेट्दै छन् । बाइडेन र सीले नोभेम्बर ०२२ को बाली जी–२० शिखर सम्मेलनको साइडलाइनमा तीन घण्टा वार्ता गरेका थिए । सो भेटमा बिग्रिँदै गएको चीन–अमेरिकी सम्बन्ध सहज बनाउन वातावरण सिर्जना गर्ने सहमति भए पनि त्यसअनुरूप उपलब्धि हासिल हुन भने सकेको देखिएन । 

बाली शिखर सम्मेलनको केही समयमै अमेरिकी भूमिमा देखिएका चिनियाँ बेलुनलाई लिएर दुई देशबीचको कूटनीतिक सम्बन्ध जटिल बनेको थियो, जसलाई चिनियाँ टेक्नोलोजीमा अमेरिकाले लगाएको थप प्रतिबन्ध र ताइबानको मुद्दाले थप पेचिलो बनायो । हालैका महिनामा दुई देशबीच उच्च स्तरको आदानप्रदानको लहरपछि सम्बन्ध केही न्यानो भएको छ । वासिंगटनले जुनदेखि बेइजिङमा चार क्याबिनेट अधिकारीहरू पठाएको छ, जसमा विदेशमन्त्री एन्टोनी ब्लिंकेन, ट्रेजरी सेक्रेटरी जेनेट येलेन, जलवायु दूत जोन केरी र वाणिज्य सचिव जिना रेमन्डो समावेश छन् ।

बाइडेन र सीबीचको आगामी शिखर सम्मेलनले दुई देशबीच विद्यमान सबै समस्या समाधान नगरे पनि वर्तमान अशान्त अन्तर्राष्ट्रिय वातावरण र बढ्दो विश्वव्यापी विकास चुनौती न्यूनीकरणमा यो महत्वपूर्ण साबित हुन सक्छ 

त्यस्तै, सिनेट नेता चाल्र्स सुमरको नेतृत्वमा गत महिना द्विदलीय सिनेटरीय प्रतिनिधिमण्डलले बेइजिङ भ्रमण गरेको थियो र क्यालिफोर्नियाका गभर्नर गेभिन न्युजम अक्टोबरको अन्त्यमा बेइजिङ पुगेका थिए । त्यस्तै, चिनियाँ वाणिज्यमन्त्री वाङ वेन्ताओले मे महिनामा अमेरिकाको भ्रमण गरेका थिए भने चिनियाँ विदेशमन्त्री वाङ यीले अक्टोबर २७ र २८ मा वासिंटनको औपचारिक भ्रमणका क्रममा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान, विदेशमन्त्री एन्टोनी ब्लिंकेन र राष्ट्रपति बाइडेनसँग भेट गरेका थिए ।

यी उच्च प्रोफाइल भ्रमणका क्रममा दुई देशले विभिन्न कार्य समूह स्थापना गरेका छन्, जसमा अमेरिकी ट्रेजरी र चिनियाँ अर्थ मन्त्रालयअन्तर्गत अर्थतन्त्रका विषय, युएस ट्रेजरी र पिपुल्स बैंक अफ चाइनाअन्तर्गत वित्त, अमेरिकी वाणिज्य विभाग र चिनियाँ वाणिज्य मन्त्रालयअन्तर्गत निर्यात नियन्त्रण र अमेरिकी राज्य विभाग र चिनियाँ विदेश मन्त्रालयअन्तर्गतका एसियाली मामिला रहेका छन् । विश्वका दुई शक्तिशाली राष्ट्रले एक–अर्कासँग सञ्चार गर्नैपर्छ भन्दै चीनका लागि अमेरिकी राजदूत निकोलस बन्र्सले दुई देशबीच टुटेको संवादका च्यानल पुनः स्थापना गर्न केही प्रगति भएको बताएका छन् ।

बाइडन र सीबीचको आगामी शिखर सम्मेलनले दुई देशबीच रहेका सबै समस्या समाधान गर्नेछ भन्ने होइन । तर, वर्तमान अशान्त अन्तर्राष्ट्रिय वातावरण र बढ्दो विश्वव्यापी विकास चुनौतीलाई ध्यानमा राख्दै चीन र अमेरिकाबीचको प्रभावकारी समन्वय र सहयोग इतिहासको कुनै पनि समयभन्दा अहिले बढी आवश्यक छ ।

कोभिड महामारीपछिको आर्थिक रिकभरी, जलवायु परिवर्तन र विभिन्न अन्तर्राष्ट्रिय र क्षेत्रीय द्वन्द्व र हटस्पटहरू सबैले विश्व शान्ति र सुरक्षामा चुनौती खडा गरेका छन् । यस्ता समस्यालाई दुई प्रमुख शक्तिका रूपमा चीन र अमेरिकाले जिम्मेवारीको भावनाका साथ मिलेर सम्बोधन गर्नैपर्छ । गम्भीर समस्यामा रहेको अमेरिका–चीन सम्बन्धका संकटलाई कम गर्ने र शान्ति स्थापना गर्न यी दुई राष्ट्रले संयन्त्र र व्यवस्थालाई संस्थागत गर्न हरसम्भव प्रयास गर्न जरुरी छ ।

अर्कातर्फ युद्धग्रस्त संसारलाई नेतृत्वको तत्काल आवश्यकता रहेका वेला यी दुई राष्ट्रले कुनै पनि अवसर बर्बाद गर्नु हुँदैन । यस अर्थमा बाली बैठकको विपरीत यही साता हुने बाइडेन–सी सान फ्रान्सिस्को शिखर वार्ता दुवै नेताका लागि सम्बन्ध सुधार्न र वर्तमान तनावग्रस्त अन्तर्राष्ट्रिय वतावरणलाई गम्भीरतापूर्वक विश्लेषण गर्न र कदम बढाउन अति आवश्यक दोस्रो मौका हुन सक्छ ।

निकट भविष्यमा यी दुई राष्ट्रले एक–अर्काको कदमलाई ध्यानपूर्वक हेर्ने कुरामा कुनै दुई मत छैन । तर, यी दुई देशले कसरी टकराव व्यवस्थापन गर्छन् र आपसमा रहेका गलत धारणा कम गर्छन् भन्ने नै बढ्ता महत्वपूर्ण छ । त्यसले मात्र विद्यमान मुद्दालाई नियन्त्रणबाहिर लैजान सक्छ । महान् शक्ति सम्बन्ध आपसी सहयोग, सम्मान र संवादमा आधारित रहन जरुरी छ । हेनरी किसिन्जरले ठीकै भनेका छन्– अमेरिका–चीन सम्बन्धमा द्वन्द्व एक विकल्प हो, आवश्यकता होइन ।

सुझावित समाचार