भारतमा चलिरहेको आइसिसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा तीन राष्ट्र पुगिसकेका छन् । आयोजक भारत, दक्षिण अफ्रिका र अस्ट्रेलियाले अन्तिम चारको स्थान पक्का गरे । अब न्युजिल्यान्ड र पाकिस्तानमध्ये एक अन्तिम चारमा पुग्नेछ । दक्षिण अफ्रिकासँगको हारले अफगानिस्तानको सेमिफाइनल पुग्ने आशा समाप्त भयो । विश्वकपमा लिग चरणका नौ खेल लगभग समाप्तितर्फ अग्रसर भइरहेको छ । अहिलेसम्म भारत मात्र अपराजित टोलीका रूपमा रहेको छ । यसपटक पूर्वअनुमान गरेका खेलाडीले आशा गरेजस्तो प्रदर्शन गर्न सकेनन् । केहीले भने विश्वकपको डेब्युमै उत्कृष्ट प्रदर्शन गरेका छन् । विश्वकपको ४२औँ खेलसम्म खेलाडीहरूले गरेका प्रदर्शन यस्ता छन् :
चार शतक जोडेका डी कोक
दक्षिण अफ्रिका विश्वकपको सेमिफाइनल पुग्नुको पछाडि ओपनर क्विन्टन डी कोकको योगदान धेरै मान्नुपर्छ । सम्भवतः करिअरकै उत्कृष्ट फर्ममा रहेका डी कोकले चालू विश्वकपमा सर्वाधिक चार शतक लगाएका छन् । भारतसँगको खेलमा केवल पाँच रनमा पेभेलियन फर्केका उनले त्यसपछि लगातारजसो खेलमा टोलीको जितमा महत्वपूर्ण योगदान दिए ।
उनले न्युजिल्यान्डविरुद्ध एक सय १४, बंगलादेशविरुद्ध एक सय ७४, अस्ट्रेलियाविरुद्ध एक सय नौ र श्रीलंकासँगको खेलमा सय रन जोडेका थिए । यसैगरी, उनले न्युजिल्यान्डसँगको प्रतिस्पर्धामा नटआउट ८४ रन बनाए ।
चालू विश्वकपमा समग्र सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा उनी शीर्ष स्थानमा छन् । उनले नौ खेलमा ७३.७५ को औसतमा पाँच सय ९० रन बटुले । लिग चरणको अन्तिम खेलमा उनले अफगानिस्तानविरुद्ध ४१ रन बनाए । विकेटकिपरसमेत रहेका उनले अहिलेसम्म १३ क्याच लिएका छन् ।
सर्वाधिक विकेट लिने मदुशंका
सन् १९९६ को विजेता श्रीलंकाले भारतमा चलिरहेको प्रतियोगितामा राम्रो प्रदर्शन गर्न सकेन । पूरै नौ खेलमा श्रीलंकाले केवल चार अंक मात्र बटुल्यो । विश्वकपमा श्रीलंकाले दुई जित र सात हारको सामना गर्यो ।
यद्यपि, टोलीको प्रदर्शन खराब रहे पनि बलर मदुशंकाले उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले प्रतियोगितामै सर्वाधिक २१ विकेट लिएका छन् । सेमिफाइनल दौडबाट बाहिरिसकेको श्रीलंकाका लागि उनले प्रत्येक खेलमा जित दिलाउन निकै कोसिस गरेका थिए ।
उनले नौ खेलमा २५ को औसतमा बलिङ गरेका छन् । उनको रेकर्ड अस्ट्रेलियाका स्पिनर एडम जाम्पाले तोड्न सक्छन् । जाम्पाले आठ खेलमा २० विकेट हात पारेका छन् । मदुशंकाले भारतविरुद्धको खेलमा ८० रन खर्चेर पाँच विकेट लिए ।
उत्कृष्ट ब्याटिङ स्ट्राइक रेसको नाममा
एकदिवसीय विश्वकपकै साबिक विजेता इंग्ल्यान्डले अहिलेसम्मकै खराब प्रदर्शन गर्यो । उपाधि रक्षा गर्न भारत आएको इंग्ल्यान्डले लिग चरणका सबै खेल खेल्दा केवल दुई जित मात्र निकाल्यो । इंग्ल्यान्डले लगातार चार हारपछि जित हात पार्यो । तर, इंग्ल्यान्डका रेस टोप्लेले प्रतियोगितामा उत्कृष्ट ब्याटिङ स्ट्राइक रेटमा ब्याटिङ गरेका थिए । उनले केवल दुई इनिङमा १७७.७ को स्ट्राइकमा खेले ।
त्यसपछि इंग्ल्यान्डकै गुस अकिन्सले १६८.१८ का आधारमा दोस्रो स्थानमा छन् । अफगानिस्तानसँगको प्रतिस्पर्धामा दुई सय एक रन जोडेका अस्ट्रेलियाका ग्लेन म्याक्सवेल तेस्रो स्थानमा छन् । उनले सात इनिङ्समा १५२.६९ को स्ट्राइक रेटमा ब्याटिङ गरेका छन् । अस्ट्रेलिया सेमिफाइनल पुगेको अवस्थामा म्याक्सवेलले आफ्नो स्ट्राइक रेट बढाउन सक्छन् ।
व्यक्तिगत उच्च स्कोरमा ग्लेन म्याक्सवेल
अस्ट्रेलिया र अफगानिस्तानबीचको खेल कसैले पनि भुल्न सक्दैनन् । त्यसवेला एक ब्याट्सम्यान ‘वान म्यान आर्मी’का रूपमा उभिए । अस्ट्रेलिया निकै नाजुक अवस्थामा पुगिसक्दा पनि उनै ब्याट्सम्यान म्याक्सवेलले असम्भव जित दिलाए । इनिङ्सको एक समय ९१–७ को स्थितिमा रहेको अस्ट्रेलियाले अफगानिस्तानमाथि अविश्वसनीय जित निकाल्दा म्याक्सवेल एक्लैले दुई सय एक रनको दोहोरो शतकीय इनिङ्स खेले ।
चोटका कारण क्रिजमा राम्रोसँग उभिन नसक्ने स्थितिमा समेत उनले अस्ट्रेलियालाई जित मात्र दिलाएनन्, सेमिफाइनलको स्थानसमेत पक्का गराए । विश्वकपमा दक्षिण अफ्रिकाका क्विन्टन डी कोकले म्याक्सवेलपछि एक सय ७४ रनको व्यक्तिगत स्कोर गरेका छन् । चालू विश्वकपमा न्युजिल्यान्डका डेभोन कोन्वेले एक सय ५२ रन र इंग्ल्यान्डका डेबिड मालानले एक सय ४० रन एक खेलमा बनाएका थिए ।
डेब्युमै सर्वाधिक रन जोडेका रवीन्द्रा
विश्वकप खेल्न पाउनु नै एक खेलाडीलाई ठूलो अवसर हो । अझ त्यस पनि डेब्यु विश्वकपमै उत्कृष्ट प्रदर्शनका साथ टोलीको जितमा योगदान दिन पाउँदा त्योभन्दा खुसीको क्षण अर्को के हुन सक्छ ? यस्तै अविश्वमरणीय प्रदर्शन न्युजिल्यान्डका रचिन रवीन्द्राले गरेका छन् । उनको यो डेब्यु विश्वकप हो । उनले डेब्यु विश्वकपमै व्यक्तिगत रूपमा धेरै रन बनाउने कीर्तिमान आफ्नो नाममा लेखाएका छन् ।
उनले नौ खेलमा पाँच सय ६५ रन जोडेका छन् । यसअघि इंग्ल्यान्डका जोनी बेरेस्टोले सन् २०१९ मा पाँच सय ३२ रन बनाएका थिए । रवीन्द्रा चालू विश्वकपकै दोस्रो व्यक्तिगत सर्वाधिक रन बनाउने खेलाडीसमेत हुन् । उनले नौ खेलमा एक नटआउट रही तीन शतक तथा दुई अर्धशतकीय इनिङ खेले । उनको ब्याटिङ औसत ७०.७२ रहेको छ ।
सर्वाधिक अर्धशतक प्रहार गरेका विराट कोहली
तेस्रोपटक विश्वकप जित्ने लक्ष्यका साथ भारत अगाडि बढिरहेको छ । भारतले अहिलेसम्म कुनै पनि खेल गुमाएको छैन । भारतका लागि पूर्वकप्तान विराट कोहली गज्जबकै फर्ममा खेलिरहेका छन् । उनले दुई शतकीय इनिङ्स खेलिसकेका छन् । चालू विश्वकपमा उनले चार अर्धशतक जोडेका छन् । चालू विश्वकपमा धेरै अर्धशतकीय इनिङ्स खेल्नेको सूचीमा उनी शीर्ष स्थानमा छन् ।
आठ खेलमा उनले तीनपटक नटआउट रही पाँच सय ४३ रन जोडेका छन् । विश्वकपमै उनले एकदिवसीय क्रिकेटमा सचिन तेन्दुलकरको नाममा रहेको ४९औँ विश्वकीर्तिमानी शतक बराबरी गरेका छन् । विराटसमक्ष सचिनको नाममा रहेको रेकर्ड तोड्ने अवसर छ । भारतमा चलिरहेको विश्वकपमा न्युजिल्यान्डका सचिन रवीन्द्राले धेरै अर्धशतक बनाउने सूचीको दोस्रो स्थानमा छन् । दुई शतकसहित उनले ६ पटक ५० रनमाथिको प्रदर्शन गरेका छन् ।
सात ब्याट्सम्यान शून्यमा आउट
विश्वकपमा खेलाडीहरूले व्यक्तिगत रेकर्ड बनाइरहँदा कसैले भने खराब प्रदर्शन गरिरहेका छन् । एक ब्याट्सम्यानलाई डकआउट हुनु सबभन्दा खराब प्रदर्शनका रूपमा लिने गरिन्छ । यसैक्रममा यसपटक सात ब्याट्सम्यान समान दुईपटक डकआउट भएका छन् ।
अफगानिस्तानका नभिन उल हक, श्रीलंकाका महिश थिक्क्षण, नेदरल्यान्ड्सका भान डेर, नेदरयान्ड्सका भान मिकेरेन, बंगलादेशका हुसेन सान्टो, श्रीलंका निसांका र नेदरल्यान्ड्सकै एडवाड्स दुई–दुईपटक शून्य रनमा आउट भए । श्रीलंकाका निसांका दुईपटक डक आउट भए पनि उनले चार खेलमा अर्धशतकीय इनिङ्स खेलेका छन् । उनले नौ खेलमा तीन सय ३२ रन जोडेका छन् ।
धेरै छक्का प्रहार गर्ने दुई ब्याट्सम्यान
विश्वकपमा दुई ब्याट्सम्यानले समान धेरै छक्का प्रहार गरेका छन् । भारतका कप्तान रोहित शर्मा र अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले समान २२ छक्का हिर्काएका छन् । म्याक्सवेलले सात खेलमा दुई सय ६० बल सामना गरेका छन् । भारतका रोहितले चार सय ४२ बल खेलेका छन् । म्याक्सवेलले समग्रमा ४० चौकाको सहयोगमा तीन सय ९७ रन बटुलेका छन् ।
रोहितले आठ खेलमा ब्याटिङ गरी चार सय ४२ रन बनाए । उनले चालू विश्वकपमा एक शतक र दुई अर्धशतक जोडेका छन् । दक्षिण अफ्रिकाका क्विन्टन डी कोक तेस्रो स्थानमा छन् । उनले नौ खेलमा २१ छक्का प्रहार गरे । अस्ट्रेलियाका ओपनर डेभिड वार्नरले नौ खेलमा २१ छक्का जोडे । अस्ट्रेलियाका बायाँहाते ब्याट्सम्यान डेभिड वार्नर आक्रामक खेल्न रुचाउँछन् । इनिङ्सको पहिलो बलदेखि नै बाउन्ड्री लगाउने कसरत उनी गर्छन् । अहिलेको विश्वकपमा उनले ४२ चौका प्रहार गरेका छन् । डी कोकको नाममा सर्वाधिक ५७ चौका रहेको छ ।
सामीले लिए दुईपटक पाँच विकेट
भारत सहज रूपमा विश्वकपको सेमिफाइनल पुग्दा फास्ट बलर मोहमद सामीले उत्कृष्ट बलिङ प्रदर्शन गरे । यस सिजनको लयमा देखिएका सामीले विश्वकपमा दुईपटक पाँच विकेटको प्रदर्शन गरेका छन् । उनले एकपटक चार विकेट लिए । सामीले चारपटक मात्र खेल्दा विश्वकपमा १६ विकेट पुर्याएका छन् ।
उनले तीनपटक मेडन ओभर फ्याँकेका छन् । भारतकै रवीन्द्र जडेजाले आठ खेलमा एकपटक पाँच विकेट प्रदर्शन गरे । पाकिस्तानका साहिन साह अफ्रिदी, श्रीलंकाका दिल्सान मदुशंका र न्युजिल्यान्डका मिचेल सान्टरले एक–एकपटक पाँच विकेटको प्रदर्शन गरे ।
(एजेन्सीको सहयोगमा)