सामुदायिक विद्यालय र कलेजमध्ये राम्रो नतिजा हासिल गर्दै आइरहेको भक्तपुरको बागिश्वरी कलेजको नयाँ भवन उद्घाटन गरिएको छ।
शुक्रबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, सांसद सुरेन्द्रराज गोसाई, भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापतिलगायत कलेज तथा विद्यालयका प्रधानाध्यापक, कक्षा ११ र ११ का इन्चार्ज, कलेजका प्राचार्यलगायतले संयुक्त रूपमा नवनिर्मित भवनको उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहमा बोल्दै नेता बिजुक्छेले नयाँ पुस्तालाई विदेश जानबाट रोक्ने र देशभक्ति जागृत गराउने किसिमको शिक्षा आवश्यक रहेको बताए।
यसैगरी सांसद सुरेन्द्रराज गोसाईले सामुदायिक क्याम्पस र विद्यालयलाई सुधार गरी व्यवस्थित गर्नुपर्ने उल्लेख गर्दै बागिश्वरीको नयाँ भवनले शैक्षिक गतिविधिमा थप सहज हुने बताए।
पाँच करोड १४ लाख ९७ हजार पाँच सय ३५ रुपैयाँमा निर्माण सम्पन्न भएको भवनको निर्माण कार्य ०७६ देखि सुरु भएको थियो। भवन निर्माणका लागि आन्तरिक कोषबाट दुई करोड ३६ लाख १० हजार चार सय ५५, बागमती प्रदेशबाट एक करोड ६० लाख ३९ हजार दुई सय ४२, भक्तपुर नगरपालिकाबाट २५ लाख र विश्वविद्यालय अनुदान आयोगबाट ९३ लाख ४७ हजार सात सय ५६ रुपैयाँ खर्च भएको छ।
बागमती प्रदेशअन्तर्गतको बजेटमध्ये ४९–४९ लाख दुई चरणको बजेट सांसद सुरेन्द्रराज गोसाईको पहलमा विनियोजन भएको थियो। कलेजको नयाँ भवनमा बिए, बिबिएस, एमए र एमबिबिएस तहका कक्षा सञ्चालन गरिनेछ।
बागिश्वरीमा अब चिनियाँ भाषा पढाउनेबारे तयारी पनि गरेको विद्यालयका ११ र १२ का इन्चार्ज ज्ञानसागर प्रजापतिले जानकारी दिए। उनका अनुसार हाल स्नातक तहमा एक हजार एक सय ८६ र विद्यालय तहमा चार हजार एक सय १६ विद्यार्थी छन्। त्यस्तै, हाल विद्यालय तहमा सरकारी र निजी गरी दुई सय ५२ र कलेजमा ५२ जना शिक्षक कर्मचारी छन्।
बागिश्वरीले च्यामासिंह र कमलविनायक दुई ठाउँबाट स्कुल तथा कलेजको पठनपाठन सञ्चालन गर्दै आइरहेको छ।