विपन्न मुलुकमा परिवार नियोजनलाई कसरी सफल बनाउने ?

शुक्रबार, २४ कार्तिक, २०८०
डिजिटल संस्करण

इथियोपियाको दुर्गम गाउँमा चार सन्तानकी व्यस्त एवं कम उमेरकी आमा अमिनाले आफूलाई आवश्यक गर्भनिरोधक सुईका लागि स्वास्थ्य क्लिनिकमा आउजाउ गर्न सधैँ सजिलो थिएन । क्लिनिकका स्वास्थ्यकर्मी सेलमले अन्य विकल्पबारे छलफल गर्दा अमिनाले लङ एक्टिङ इम्प्लान्ट (एक गर्भनिरोधक साधन)बारे थाहा पाउँदा हर्षित भइन् । यसले उनको स्वास्थ्य क्लिनिकको नियमित आउजाउको बोझलाई घटाउँथ्यो ।

सेलमले व्यस्तताबीच आउजाउको असहजताका कारण धेरै महिलाले लङ एक्टिङ इम्प्लान्टको विकल्प रोजेको देखेकी थिइन् । क्लिनिकमा इम्प्लान्टको अभावका कारण सेलम अमिनाजस्ता सेवाग्राहीले भर परेका आवश्यक परिवार–योजना विधि अपुग हुनेमा चिन्तित थिइन् । यो समस्या सेलमको क्लिनिकमा मात्रै सीमित छैन, देशभरका स्वास्थ्य केन्द्रमा यही समस्या छ ।

पहिलेको तुलनामा अहिले धेरै इथियोपियाली महिलाले परिवार नियोजनका सेवा प्रयोग गरिरहेका छन् । मुलुकको गर्भनिरोधक प्रचलन दर ४१ प्रतिशतमा उक्लिएको छ । सरकारले परिवार नियोजन कोष बढाएको छ र सामुदायस्तरमा पहुँच विस्तार गरिरहेको छ, जहाँ ४२ हजार स्वास्थ्यकर्मी खटाइएको छ । यसले हामीलाई उल्लेखनीय प्रगति हासिल गर्न मद्दत गरेको छ । तर, हाम्रो गर्भनिरोधकको आपूर्ति बढ्दो मागअनुकूल हुन सकेको छैन । स्वास्थ्य मन्त्रालय, जसले अमिनाजस्ता महिलालाई निःशुल्क गर्भनिरोधक विकल्प उपलब्ध गराउँछ, त्यसले परिवार नियोजन उत्पादनका लागि ठूलो वित्तीय अन्तरसाथ देशव्यापी अभावको सामना गर्दै आएको छ ।

इथियोपिया मात्र नभई न्यून र मध्यम आय भएका मुलुकले गत वर्ष गर्भनिरोधकका लागि १० करोड डलरभन्दा बढी रकम कमीको सामना गर्नुपरेको थियो । यस अन्तरले लाखौँ महिला र बालिकालाई परिवार नियोजन वा गर्भनिरोध विधिको पहुँचबाट वञ्चित गर्नेछ । नतिजा थप अनिच्छित गर्भधारण, असुरक्षित गर्भपतन र मातृमृत्यु निम्तिनेछ । अहिले यो वित्तीय खाडल हटाउनु चुनौतीपूर्ण छ । 

उसो त नीति निर्माताले सामना गर्ने कठिन निर्णयबारे म जानकार छु, तर सरकारले परिवार नियोजनलाई प्राथमिकता दिँदा मैले महत्वपूर्ण लाभ देखेकी छु । विभिन्न अध्ययनले परिवार नियोजनमा लगानी गरिएको प्रत्येक एक डलरले आठ डलरभन्दा बढी सामाजिक आर्थिक लाभ उत्पन्न गर्छ भन्ने देखाएको छ । किनभने, अनियोजित गर्भधारणलाई कम गर्नाले धेरै आमा र बच्चा प्रसवबाट जोगिन्छन् र धेरै बालिका विद्यालय जाने एवं महिलाले उद्यम गर्ने समय पाउँछन् । अन्ततः बलियो र स्वस्थ परिवारको वृद्धि हुन्छ । गर्भनिरोधकमा हुने पहुँचले सशक्तीकरणको चक्र जीवन्त बनाउँछ, जसले सबैका लागि आर्थिक वृद्धि र समृद्धि उत्पन्न गर्छ ।

तसर्थ, हामीले हाम्रा स्रोत विस्तार गर्न इथियोपियामा नवप्रवर्तनीय स्वास्थ्य–वित्तीय रणनीति अँगालेका छौँ । लक्ष्य भनेको छोटो अवधिमा वित्तीय अन्तरलाई कम गर्ने र दीर्घकालीन रूपमा देशको स्वामित्व बढाउने (अर्थात् दातामाथिको निर्भरता घटाउने) हो । यस उद्देश्यका लागि इथियोपियाको स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयले संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए)सँग सम्झौता गरेको थियो, जसलाई कन्ट्री कम्प्याक्टको नाम दिइएको छ ।

विभिन्न अध्ययनले परिवार नियोजनमा लगानी गरिएको प्रत्येक डलरले आठ डलरभन्दा बढी सामाजिक आर्थिक लाभ उत्पन्न गर्ने देखाएको छ 

यसले दाताबाट आएको प्रारम्भिक सहायता प्रयोग गर्दै परिवार नियोजनका लागि राष्ट्रिय कोषलाई क्रमशः र दिगो रूपमा बढाउने लक्ष्य राखेको छ । दोस्रो, पूरक वित्तीय संरचनाले अब हामीलाई इथियोपिया सरकार, बिल र मेलिन्डा गेट्स फाउन्डेसन, डेभिड र लुसिल प्याकार्ड फाउन्डेसन, सुसन थम्पसन बफेट फाउन्डेसन, युएसएड इथियोपिया र नेदरल्यान्ड्सबीच हस्ताक्षर भएको साझेदारी कम्प्याक्टमार्फत परिवार नियोजन उत्पादनका लागि कोष बढाउन सक्षम बनाइरहेको छ ।

अबको तीन वर्षमा इथियोपिया सरकारले आफ्नो गर्भनिरोधक कोषलाई तीनगुणाले बढाउनेछ र गर्भनिरोधक आपूर्ति कोषमा एक करोड ११ लाख डलर योगदान गर्नेछ । यो लागत दातामार्फत प्रबन्ध हुनेछ । यसले दुई दशकमा परिवार नियोजनका लागि इथियोपियाको सबैभन्दा महत्वपूर्ण प्रतिबद्धतालाई संकेत गर्छ र संयुक्त आर्थिक सहयोगले गर्भनिरोधकका लागि आवश्यक कोषमा हुने अनुमानित कमीको लगभग ७० प्रतिशत पूर्ति गर्नेछ ।

यी सम्झौता इथियोपियाले द्वन्द्व, जलवायुसम्बन्धित खडेरी, बाढी र रोगको प्रकोपको सामना गरिरहेको वेला भएको छ र यो उल्लेखनीय छ । किनभने, हामी परिवार नियोजनको महत्व कठिनाइको समयमा अझ तीव्र हुन्छ भन्ने बुझ्छौँ । हाम्रो सफलता साझेदारीको शक्तिको प्रमाण मात्र नभई आर्थिक रूपमा चुनौतीपूर्ण अवस्थामा पनि परिवार नियोजनमा बढ्दो लगानी सम्भव छ भन्ने पनि देखाउँछ । निःसन्देह गर्भनिरोधकको पर्याप्त आपूर्ति समस्याको एक सानो हिस्सा मात्रै हो ।

परिवार नियोजन विस्तार सुधार गर्न, हामीले हाम्रो पहुँच विस्तार गर्न र हाम्रो स्वास्थ्य प्रणालीलाई बलियो बनाउन इथियोपियाका महिला र बालिकालाई आवश्यक हेरचाह हासिल गर्न सशक्तीकरणको प्रक्रिया जारी राख्नुपर्छ । तर, गर्भनिरोधकका लागि कोषको अन्तरलाई बन्द गर्ने काम पहिलो प्राथमिकता हो ।

महत्वपूर्ण के छ भने सरकारी निकाय मिलेर काम गर्दा प्रगति गर्न सकिन्छ (उदाहरण, हालै इथियोपियाको स्वास्थ्य र वित्त मन्त्रालयले मिलेर काम गरेका छन्) र त्यसैगरी सरकारी निकाय दातासँग प्रभावकारी रूपमा संलग्न पनि हुन्छन् । साझेदारका रूपमा स्थानीय सार्वजनिक स्वास्थ्यको पारस्परिक उद्देश्यतर्फ अगाडि बढ्दै हामीमध्ये कुनै एकले एक्लैले हासिल गर्न सक्नेभन्दा धेरै हासिल गर्न सक्छौँ ।

(टेडेसे इथियोपियाकी स्वास्थ्यमन्त्री हुन्) प्रोजेक्ट सिन्डिकेटबाट

सुझावित समाचार