१०,८०० मेगावाटको कर्णाली चिसापानी अघि बढाउने तयारी

आयोजना निर्माण गर्न विद्युत् प्राधिकरणमार्फत अद्यावधिक अध्ययन गराउने मन्त्रिपरिषद्को निर्णय

शुक्रबार, २४ कार्तिक, २०८०
डिजिटल संस्करण

सरकारले दक्षिण एसियाकै सबैभन्दा ठूलो प्रस्तावित जलविद्युत् आयोजना ‘कर्णाली चिसापानी’ अघि बढाउने तयारी गरेको छ । झन्डै ६ दशकदेखि अलपत्र अवस्थामा रहेको १० हजार आठ सय मेगावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत् आयोजनाको अद्यावधिक अध्ययन गरेर अघि बढाइने भएको हो ।  

मन्त्रिपरिषद्को बिहीबारको बैठकले नेपाल विद्युत् प्राधिकरणमार्फत कर्णाली चिसापानी जलविद्युत् आयोजनाको अध्ययन अघि बढाउने निर्णय गरेको छ । सरकारले आफ्नै स्रोतमा प्राधिकरणमार्फत कर्णाली चिसापानीको अद्यावधिक अध्ययन गराउने भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले बताए । 

‘सरकारले ऊर्जा विकासको मार्गचित्र तथा कार्ययोजना बनाएको छ, सन् २०३५सम्ममा २८ हजार मेगावाट विद्युत् उत्पादनका लक्ष्य लिइएको छ,’ उनले भने, ‘हाम्रो लक्ष्य र योजनाअनुसार ऊर्जा उत्पादनका लागि ठूला–ठूला आयोजना अघि बढाउनुपर्नेछ, सोहीअनुसार चिसापानी कर्णाली पनि अघि बढाउने तयारी गरिएको हो ।’ प्राधिकरणले अध्ययन सकेपछि अध्ययन प्रतिवेदनमा आधारित भएर निर्माण अघि बढाइने उनले बताए ।

कर्णाली चिसापानीको पहिलो सम्भाव्यता अध्ययन सन् १९६६ मा सम्पन्न भएको थियो । सम्भाव्यता भएको ५७ वर्ष बितिसक्दासमेत आयोजनाले गति लिन सकेको छैन । चर्चामा मात्रै सीमित रहेको यस आयोजनाका विगतका अध्ययनलाई समेत समेटेर प्राधिकरणले अद्यावधिक सम्भाव्यता अध्ययन गर्नेछ । तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ०७५ वैशाखमा ऊर्जा श्वेतपत्र जारी गर्दै पाँच वर्षभित्र यस आयोजनाको विस्तृत अध्ययन गर्ने भनेका थिए । तर, त्यसयता कुनै काम भने हुन सकेन । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि कर्णाली चिसापानी जलविद्युत् आयोजना अघि बढाउने बताउँदै आएका छन् । १ भदौमा आयोजित प्राधिकरणको ३८औँ वार्षिक उत्सवमा बोल्दै प्रधानमन्त्रीले कर्णाली चिसापानीको अध्ययन गर्न विद्युत् प्राधिकरणलाई दिने बताएका थिए । प्रधानमन्त्रीले यस आयोजनालाई छिट्टै मूर्तरूप दिने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । ‘यसलाई एउटा गेम चेन्जर परियोजनाका रूपमा अघि बढाउनेछ, यो आयोजना बनाउन सकेमा नेपालको आर्थिक विकासले ठूलो फड्को मार्नेछ,’ उनले बताएका थिए ।

विगतका अध्ययनले यस आयोजनाबाट वार्षिक २० हजार गिगावाट विद्युत् उत्पादन हुने देखिएको छ । नेपालको दुई लाख र भारतको ३४ लाख हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ । साथै, भारत र बंगलादेशको बाढी नियन्त्रणमा पनि कर्णाली चिसापानी जलविद्युत् आयोजनाको बाँधले योगदान दिने देखिएको छ । यद्यपि, यो आयोजना निर्माण गर्दा दुई लाखभन्दा बढी जनसंख्या विस्थापित हुने अनुमान गरिएको छ । सन् १९८९ मा गरिएको अध्ययनले आयोजनाको क्षमता बढाएर १६ हजार दुई सय मेगावाटको पुर्याउन सकिने देखाएको थियो । 

आयोजना निर्माण र लगानीका लागि सबै विकल्प खुला राखिएको सचिव घिमिरेले बताए । ‘प्राधिकरणको अध्ययनले आयोजनाको लागत, उत्पादन क्षमता, लाभ, विस्थापित हुने संख्यालगायत विभिन्न पक्ष अद्यावधिक अवस्था देखाउनेछ,’ उनले भने, ‘प्रतिवेदनपछि लगानी मोडल र निर्माणको खाका कोरिनेछ ।’

पूर्वाधार करको आधा रकम सीधै बुढीगण्डकीलाई
सरकारले इन्धनमा लगाउँदै आएको पूर्वाधार करको आधा रकम बुढीगण्डकी जलविद्युत् आयोजनालाई दिने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले ‘इन्धनमा लगाउँदै आएको पूर्वाधार शुल्कमध्ये पाँच रुपैयाँ प्रतिलिटर बुढीगण्डकी जलविद्युत् आयोजनाका लागि उपलब्ध गराउने व्यवस्था गर्ने’ निर्णय गरेको हो ।

तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ०७१/७२ को बजेटमार्फत बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि भन्दै पेट्रोल, डिजेल र हवाई इन्धनबाट प्रतिलिटर पाँच रुपैयाँ उठाउने व्यवस्था गरेका थिए । त्यसपछि ०७५/७६ मा तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले बढाएर प्रतिलिटर १०–१० रुपैयाँ शुल्क तोके, हवाई इन्धनको शुल्क भने हटाए । गत आवको बजेटले बुढिगण्डकीलाई छाडेर पूर्वाधार कर नामकरण गर्यो । हालसम्म यस शीर्षकबाट एक खर्ब १० अर्बभन्दा बढी रकम संकलन गरिसकेको छ । 

सुझावित समाचार