नेल्सन मन्डेला भर्खरै साउथ अफ्रिकाका राष्ट्रपति बनेका थिए । उनी पहिलो अश्वेत राष्ट्रपति थिए । त्यहाँ वर्षौंदेखिको अश्वेत र श्वेतबीचको विभाजन अझै मेटिइसकेको थिएन । जोहानेसबर्ग रंगशालामा १९९५ को रग्बी विश्वकपको फाइनल खेल हुँदै थियो । श्वेत वर्णका खेलाडीले भरिएको ‘स्प्रिङ बक्स’ (साउथ अफ्रिकाको राष्ट्रिय टोलीको नाम) फाइनलमा पुगेको थियो । लाखौँ दर्शकले भरिएको स्टेडियममा मन्डेला छिरे ।
स्टेडियम शान्त भयो । जब हरियो क्याप र जर्सीमा राष्ट्रपति देखिए, पूरै स्टेडियम र पूरै देशले ‘नेल्सन, नेल्सन’को नारा लगाए । देशभरिका अश्वेत र श्वेत सबैले एकै स्वरमा ‘नेल्सन, नेल्सन’ भने । जब मन्डेलाले श्वेत वर्णका कप्तानलाई बधाई दिँदै ‘हाम्रो देशका लागि तपाईंले गरेको योगदानका निम्ति धन्यवाद क्याप्टेन’ भने अनि क्याप्टेनले पनि ‘तपाईंले हाम्रो देशका लागि जे गर्नुभएको छ, त्यसका लागि धन्यवाद मिस्टर प्रेसिडेन्ट’ भने । पूरै स्टेडियम भावविह्वल भएर ताली बजायो । साउथ अफ्रिकाले त्यो विश्वकप जित्यो । यो देशको घाउ मेटाउने घटनाका रूपमा इतिहासमा सधैँ दर्ज भयो । दक्षिण अफ्रिकी सरकारी समाचार एजेन्सीका अनुसार पनि त्यो जितपछि मानिसले आफूहरूमा रहेको दूरी मेटाउन एक–अर्कामा समानता खोज्न थालेको बताइएको थियो ।
उत्कृष्ट, अद्भूत, बबाल, जित, केही हुन्छ, हामी सक्छौँ, हामी नेपाली, हाम्रो टिम भन्ने शब्द या शब्दावली विगत केही महिनायता नेपालमा जतिपटक भनिएको छ, त्यो क्रिकेटका लागि नै भनिएको छ । एसिया कप, एसियन गेम्स, टी–२० विश्वकप क्वालिफायरमा नेपालको प्रदर्शनले सारा नेपालीमा आशा जगाएको छ । केही भइरहेको छैन, हुँदैन भन्ने स्थितिमा क्रिकेट एउटा आशाको किरणका रूपमा उदाएको छ । अन्तिम बलमा सास रोकिनु, रौँ ठाडो हुनु, गर्वले छाती फुल्नु अनि खेलाडीको उत्साहमा आँखा रसाउनु विगत केही महिनादेखि खेलप्रेमी नेपालीको दिनचर्या बनेको छ । क्रिकेट नबुझ्ने मेरी आमा पनि जब नेपाल र इन्डियाबीच म्याच भयो र राष्ट्रिय गान घन्कियो, तब आँखाभरि आँसु लिएर ‘अब त इन्डियाले हेप्दैन होला नि’ भन्दै हुनुहुन्थ्यो ।
खेल खेल मात्र होइन, देश जोड्ने सूत्र पनि हो । आजको दिनमा खेल, त्यसमा पनि विशेष गरी क्रिकेटबाहेक अरू के त्यस्तो कुरा छ, जसले सारा देशलाई एउटै झन्डामुनि ल्याउन सक्छ ? देशभक्ति र राष्ट्रियतालाई जगाउन र सही दिशा दिन यो समयमा केही कुराले सक्छ भने त्यो क्रिकेटले मात्र सक्छ । आजको मितिमा अन्य कुनै गतिविधिले यति धेरै नेपालीलाई त्यो जोस, सकारात्मकता र उत्साहसहित एक ठाउँमा ल्याउन सक्दैन ।
खेल खेल मात्र होइन, देश जोड्ने सूत्र पनि हो । आजको दिनमा खेल, त्यसमा पनि विशेष गरी क्रिकेटबाहेक अरू के त्यस्तो कुरा छ, जसले सारा देशलाई एउटै झन्डामुनि ल्याउन सक्छ ?
लिंग, धर्म, जात या विचारका आधारमा हामी प्रत्येक दिन विभाजित हुँदै छौँ । यस्तो गम्भीर अवस्थामा आज सबै जाति, धर्म, लिंग, भूगोललाई जोड्न क्रिकेट सबैभन्दा महत्वपूर्ण माध्यम बन्न सक्छ । बन्न सक्छ मात्र होइन, हामीले क्रिकेटलाई त्यो हतियार बनाउन सक्नुपर्छ ।
तसर्थ, यो समयमा खेल राष्ट्रियता र एकताको प्रतीक बन्दै छ । देशभित्र मात्र होइन, हाम्रो भाषा र संस्कृतिलाई पूरै विश्वमा चिनाउन प्रभावकारी अनि सस्तो माध्यम पनि क्रिकेट बनिरहेको छ । नेपाल र भारतको खेल हुँदा नेपालबारे कति धेरै भारतीय र अन्य देशका खेलप्रेमीले थाहा पाए होलान् ? जब कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले चाइनामा विश्व रेकर्ड बनाए, तब प्रत्येक खेलप्रेमीले नेपालबारे खोजे होलान् ।
त्यसैले खेल राष्ट्रियतासँग जोडिएको छ । अनि, खेल अर्थतन्त्रसँग पनि जोडिएको छ । श्रीलंकामा नेपालको खेल हुँदा जसरी नेपाली श्रीलंका घुम्न गए, भोलि नेपालले महत्वपूर्ण खेल नेपालमै गराउन सक्दा यसले खेल पर्यटन र अन्य पर्यटनलाई पनि प्रवद्र्धन गर्छ । खेलाडी आउँदैमा नै पनि होटेलदेखि उनीहरूले गर्ने खर्चसम्म हाम्रो अर्थतन्त्रसँग जोडिन्छ । त्यसैले पनि यो खेल मात्र होइन, पर्यटनको समेत साधन बन्न सक्छ । एसिया कपमा भारत र पाकिस्तानसँगको खेलमा खेलअघि नेपालबारे टिभीमा देखाइएको दृश्य मात्र पनि पर्यटनका लागि महत्वपूर्ण छ ।
आज जसरी प्रत्येक जात, समुदाय या भूगोलका खेलाडी एउटा टिम बनेर खेलिरहेका छन्, यसले महत्वपूर्ण सन्देश दिइरहेको छ । हामी समानता र विभेद मेटाउन ठुल्ठूला कार्यक्रम ल्याउँछौँ, तर नतिजा हात परिरहेका हुँदैन । तर, यही अहिलेकै राष्ट्रिय टिमले ‘सबै जात, धर्म, समुदाय मिलेर खेल्दा मात्र जितिन्छ’ भन्ने ठूलो सशक्त सन्देश दिँदै छ । यसको ठूलो राजनीतिक, संवैधानिक र सामाजिक अर्थ छ । यसलाई हामीले थप मजबुत बनाउन सक्नुपर्छ । हामी राजनीति नै विभेद हटाउन र समानताका लागि गरेको भन्छौँ, तर यत्ति पनि नबुझ्ने कसरी राजनीतिज्ञ हुन सक्छ ?
अर्को महत्वपूर्ण कडी भनेको खेलले युवालाई सकारात्मक प्रभाव पारिरहेको हुन्छ । उनीहरूलाई खराब बाटोमा जानबाट रोक्छ । केन्याको सहर नैरोबीमा ‘म्याथारे युथ स्पोर्टस् एसोसिएसन’ले फुटबललाई माध्यम बनाएर सुकुमबासी बच्चाहरूमा नयाँ आशा र विश्वास जगाएको थियो । स्कुल ‘ड्रपआउट’ दर, ड्रग्सको समस्यालगायतलाई समाधान गर्न त्यहाँ फुटबल प्रयोग गरिएको थियो । यहीँनेर जोडौँ, हामीलाई लाग्छ, बच्चाहरू खेले भने पढाइ बिग्रन्छ । तर, विभिन्न अध्ययनले यसलाई गलत साबित गरेको छ । खेलमा संलग्न हुँदा विद्यार्थी गलत बाटामा नलाग्ने, विद्यार्थीको पढाइ पनि राम्रो हुने, पढाइसँगै जीवन पनि सकारात्मक बन्ने देखिएको छ । खेलले सिकाउने सहकार्य, अनुशासन र हारलाई स्विकार्न सक्ने क्षमता नै त हो, हामीले सिक्नुपर्ने जीवनमा । ‘म केही गर्न सक्दिनँ’ भनेर पढाइमा कमजोर भएका विद्यार्थीलाई, म सक्छु भन्ने आत्मविश्वास खेलले जगाउन सक्छ ।
खेलले विकासको गतिसमेत बढाउँछ । १९६४ को टोकियो ओलम्पिक, १९८८ को सिउल ओलम्पिकले जापान र साउथ कोरियाको विकासको गतिलाई बढाइदिएको थियो । अनि, उनीहरूलाई अन्तर्राष्ट्रियस्तरमा शक्तिशाली राष्ट्रका रूपमा समेत स्थापित गरेको थियो । यो चाइनाको हकमा समेत लागू हुन्छ । २००८ मा बेइजिङ ओलम्पिकले नै चाइनालाई शक्तिशाली राष्ट्रका रूपमा स्थापित हुन सहयोग गरेको थियो । त्यसैले पनि खेल खेल मात्र होइन । यो राजनीति हो । यो कूटनीति पनि हो । खेलमा पछि पर्नु भनेको राजनीति र कूटनीतिमा पनि पछि पर्नु हो । हरेक राजनीतिज्ञ राज गर्न चाहन्छ । राज गर्ने दुई तरिका हुन्छन् ।
पहिलो, समाजलाई दुई ध्रुवमा विभाजित गर्ने अनि एउटा ध्रुवको नेता बनेर राज गर्ने । दोस्रो, समाजलाई जोड्ने सूत्र निर्माण गर्ने अनि नेतृत्व गर्ने । चाइनाका पूर्वराष्ट्रपति देउ स्याओपिङले सबैलाई समृद्धिको सपनाले एकजुट बनाए । हो, नेपाल पनि एउटा साझा मुद्दा र सपनाको खोजीमा छ । त्यो साझा सपनासम्म पुग्न हालका लागि क्रिकेट एउटा महत्वपूर्ण बाटो हुन सक्छ । फेरि भन्छु, आजको दिनमा देशलाई एउटै झन्डामुनि ल्याउने तागत कसैमा छ भने त्यो क्रिकेटमा मात्र छ । सबै पार्टी, सबै भूगोल, सबै जात, सबै धर्मलाई बाँध्ने सूत्र क्रिकेट बन्दै छ । त्यसैले पनि खेललाई विभिन्न समयमा विभिन्न राजनीतिज्ञले युद्धको घाउमा मलम लगाउन र भविष्यमा हुन सक्ने द्वन्द्व व्यवस्थापन गर्न प्रयोग गर्दै आएका छन् । पछिल्लो समय अफगानिस्तानले क्रिकेटलाई त्यो माध्यम बनाइरहेको छ ।
अब के गर्ने त भन्दा प्रधानमन्त्रीदेखि क्यानसम्मले यो ‘स्पिरिट’ बुझेर काम गर्नुपर्छ । अहिलेको टिमलाई थप मजबुत बनाउने, अन्डर– १९ को टिमलाई निखार्ने, राजनीति र सम्बन्धमार्फत श्रीलंका, बंगलादेश, भारतका टिमसँग निरन्तर खेल राख्ने, अभ्यास गर्नेतर्फ क्यानले लगानी गर्नुपर्छ । अनि, खेलकुद परिषद् र मन्त्रालयले सहयोग गर्नुपर्छ । अब क्रिकेटमा राजनीति होइन, क्रिकेटको राजनीति गर्नुपर्छ । सँगै, खेलाडीले खाजामा अन्डा खाँदासमेत गनेर खानुपर्ने बाध्यता अन्त्य गर्दै खेलेर जीविका निर्वाह गर्न सकिन्छ है भन्ने वातावरण बन्न सक्नुपर्छ । राष्ट्रिय खेलाडीका हकमा मात्र होइन, प्रदेश अनि जिल्लाका खेलाडीको हकमा पनि यो लागू हुनुपर्छ । बिस्तारै कर्पोरेट हाउसहरूको क्रिकेटप्रतिको लगानी बढ्नु सुखद नै छ । यसलाई थप व्यवस्थित बनाउन जरुरी छ ।
अन्त्यमा, संसारको सबैभन्दा बढी समर्थक भएको क्रिकेट खेलाडी विराट कोहलीलाई ‘कुटुमा कुटु सुपारी दाना’ गीतमा नचाउन सक्ने तागत क्रिकेटमा देखियो । यसको सदुपयोग गरौँ । खेलको दिन प्रचण्ड स्टेडियम गएर वा केपी ओलीले क्रिकेट हेरेको फोटो राखेर वा केही नेता खेल हेर्न विदेशै गएर खेलको विकास हुँदैन । यसरी उहाँहरूको भोट पनि बढ्दैन । खेलको विकास गर्ने स्पष्ट नीति, कार्यक्रम र नेतृत्व लिन सके मात्र खेल र ती नेतृत्वको भलो हुनेछ । ल एउटा चुनौती लिऔँ, के हामी सन् २०३५ को क्रिकेट विश्वकपको आयोजना गर्न सक्छौँ ? सक्छौँ भनेर अघि बढ्ने र त्यो विश्वकप जित्ने सपना र आत्मविश्वास राख्न सक्ने हो भने यसले पक्कै पनि नेपाली खेल र समाजलाई नयाँ दिशा दिनेछ ।
क्रिकेट नेपालीको साझा सपना ‘आत्मसम्मान अनि समृद्धि’को एउटा सशक्त माध्यम बन्न सक्छ । खेल राष्ट्र निर्माणको एउटा सशक्त साधन हो । राष्ट्रभक्ति जगाउने एउटा बलवान् माध्यम हो । वास्तवमा संसारभरि धर्मपछि नागरिकलाई बाँध्ने सशक्त माध्यमका रूपमा खेललाई लिइन्छ । टुक्र्याउने, समाजलाई विभाजित गर्ने तन्तुलाई शान्तिपूर्ण रूपमा टक्कर दिने माध्यमका रूपमा खेललाई प्रयोग गरिँदै आएको छ ।
नेल्सन मन्डेलाकै भनाइबाट अन्त्य गरौँ । उनले सन् २००० मा भनेका थिए– ‘खेलले संसार बदल्ने तागत राख्छ । खेलले प्रोत्साहन गर्ने तागत राख्छ । यसमा मानिसलाई एकताबद्ध गर्ने शक्ति छ, जुन अरू थोरैमा मात्र हुन्छ । यसले युवालाई उनीहरूले बुझेको भाषामा सम्बोधन गर्छ । खेलकुदले आशा जगाउन सक्छ, जहाँ कुनै समय निराशा मात्र थियो । खेल जातीय अवरोध तोड्न सरकारभन्दा बढी शक्तिशाली हुन्छ ।’
(पाण्डे विवेकशील साझा पार्टीका नेता हुन्)