भूकम्पपीडितलाई तत्काल गुजाराका लागि नगद राहत दिन सवा अर्ब लाग्ने

शुक्रबार, २४ कार्तिक, २०८०
डिजिटल संस्करण
भूकम्पपीडितलाई तत्काल गुजाराका लागि नगद राहत दिन सवा अर्ब लाग्ने

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका– १ मा पालमुनि परालको ओछ्यानमा बस्न विवश भूकम्पपीडित

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका– १ मा पालमुनि परालको ओछ्यानमा बस्न विवश भूकम्पपीडित

जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई तत्काल गुजाराका लागि नगदै दिइने राहतमा मात्रै सवा एक अर्ब रुपैयाँ लाग्ने प्रक्षेपण गरिएको छ । दुई जिल्लामा ६१ हजार घर क्षतिग्रस्त (पूर्ण र आंशिक) भएको तथ्यांक छ । 

विपतबाट आवास क्षतिग्रस्त भएकाहरूलाई प्रतिघरपरिवार २० हजार रुपैयाँसम्म दिने प्रावधान ‘विपत् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड, २०७७’ मा रहेकाले एक अर्ब २२ करोड रुपैयाँ आसपास खर्च लाग्ने अनुमान गरिएको हो । 

प्रारम्भिक रिपोर्टअनुसार रुकुम पश्चिममा १६ हजार पाँच सय ७० घर पूर्ण र नौ हजार नो सय ६१ घरमा आंशिक गरी २६ हजार पाँच सय ३१ घर क्षतिग्रसत भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले बताए । ‘रुकुम पश्चिममा कुल घरधुरी ४० हजार रहेकामा २६ हजार पाँच सय ३१ घर भत्किएको प्रारम्भिक तथ्यांक आएको छ । विवरण संकलन जारी रहेकाले क्षतिको विवरण बढ्न सक्छ,’ उनले भने, ‘अहिलेसम्मको तथ्यांकअनुसार आवास भत्किएका परिवारका लागि तत्काल राहतस्वरुप ५३ करोड आसपास बजेट आवश्यक देखिएको छ । अन्तिम तथ्यांक आउँदासम्म यसमा थोरै तलमाथि हुन सक्ला ।’

त्यस्तै, जाजरकोटमा पूर्ण रूपमा क्षतिग्रस्त नौ हजार सात सय ९४ र आंशिक क्षति भएका २४ हजार सात सय सात घर छन् । सहायक प्रमुख जिल्ला अधिकारी (जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी) हरिशचन्द्र शर्माले अन्तिम नतिजा आउँदा यो संख्यामा थोरै तलमाथि हुन सक्ने बताए । प्रारम्भिक तथ्यांकअनुसार कूल ३४ हजार चार सय ९८ घरपरिवारका लागि तत्काल राहत उपलब्ध गराउँदा ६९ करोड लाग्ने शर्माले बताए । ‘तत्कालको तथ्यांकलाई मात्र आधार मान्दा पनि सरकारी मापदण्डअनुसार जाजरकोटमा मात्र तत्कालको नगद राहतमा ६९ करोड बजेट आवश्यक पर्ने देखिन्छ,’ उनले भने ।

दुवै जिल्ला अहिले भूकम्प प्रभावितलाई जिन्सी राहत वितरणमा केन्द्रित छन् । शनिबारसम्म सबै प्रभावितलाई एक चरण जिन्सी राहत पुगिसक्ने र त्यसपछि मात्रै नगद राहतमा केन्द्रित हुने रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी बडुवालको भनाइ छ । ‘अहिले जिन्सी राहत वितरणमा केन्द्रित भएको अवस्था छ । करिब १० हजार थान त्रिपाल आउँदै गरेको र केही हजार थान ब्ल्यांकेटसमेत आइरहेकाले शुक्रबार र शनिबारसम्ममा सबै पीडितकोमा राहत पुगिसक्ला,’ उनले भने, ‘जिन्सी राहतको चरणपछि नगद राहत वितरण अभियान सुरु हुन्छ ।’ 

जाजरकोट जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शर्माले पनि अहिले खाद्यान्न, लत्ताकपडाजस्ता राहत वितरण नै प्राथमिकतामा रहेकाले त्यसपछि नगद राहत बाँड्ने चरणमा प्रवेश गरिने बताए । 

त्यस्तै, रुकुमबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका सांसद जनार्दन शर्माले भूकम्प प्रभावितका लागि अस्थायी वासको व्यवस्थापन अबको मुख्य चुनौती र प्राथमिकता रहेको बताएका छन् । बिहीबार रुकुम पश्चिमका पत्रकारहरूसँगको कुराकानीका क्रममा सांसद शर्माले रुकुम पश्चिम, जाजरकोट र सल्यानलगायतका जिल्लामा अस्थायी बसोवासको व्यवस्थापनमा ध्यान दिइने बताए । उद्धार, घाइतेको उपचार र राहतपछि अब सरकारको ध्यान अस्थायी वासस्थान निर्माणमा केन्द्रित हुने उनको भनाइ छ । यसका लागि कर्णाली प्रदेश सरकारलाई जस्तापाताको व्यवस्थापन गर्न भनेको सांसद शर्माले जानकारी दिए । 

‘कर्णाली प्रदेशले जस्तापाताको व्यवस्थापन गर्यो भने अस्थायी वास व्यवस्थापनका लागि धेरै नै सजिलो हुन्छ,’ उनले भने, ‘अस्थायी बसोवासपछि मात्र पुनर्निर्माणको चरण सुरु हुन्छ ।’ उनका अनुसार प्रभावित क्षेत्रमा एकै खालका भवन निर्माण गर्ने गरी सरकारले सोचिरहेको छ । एकै खालका घर निर्माण गरेर देशभरमै मोडल प्रस्तुत गर्नेतर्फ प्रधानमन्त्री नै गम्भीर रहेको उनले बताए । 

रुकुम पश्चिमका मृतकका परिवारलाई आजदेखि दुई लाख राहत बाँडिँदै, जाजरकोटमा समय लाग्ने
प्रतिमृतक उनीहरूका परिवारलाई दुई लाखका दरले राहत उपलब्ध गराउने सरकारको निर्णयअनुसार रुकुम पश्चिममा शुक्रबारदेखि वितरण गरिँदै छ । रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । 

आठबिसकोट नगरपालिकामा ४२ र सानीभेरी गाउँपालिकामा १० जनाको मृत्यु भएको हो । सानीभेरीका मृतकका परिवारलाई शुक्रबारदेखि र आठबिसकोटका पीडितलाई शनिबारदेखि आर्थिक राहत वितरण गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी बडुवालले जानकारी दिए । उनका अनुसार एकै परिवारमा एकभन्दा बढीको ज्यान गएको हकमा सुरुको दुई लाखमा अन्य मृतकअनुसार एक लाखका दरले थप रकम उपलब्ध गराइनेछ । नगद राहतका लागि जिल्ला विपत् व्यवस्थापन समितिमा पाँच करोड बजेट आइसकेको बताउँदै मृतकका कानुनवाला हकदारलाई वितरण गरिने बडुवालले बताए । 

जाजरकोटमा भने मृतकका परिवारले नगद राहत पाउन समय लाग्ने भएको छ । मृतकका कानुनी हकवालाको पहिचान, मृत्युदर्ता, प्रहरी मुचुल्कालगायत प्रक्रिया पूर्ण गर्न बाँकी नै रहेकाले आर्थिक राहत वितरणमा केही समय लाग्ने सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले बताए । अहिले राहत वितरणमै केन्द्रित भएको उनको भनाइ छ । जाजरकोटमा एक सय एकजनाको ज्यान गएको छ । 

पीडितको आस अब अस्थायी वास
जाजरकोटको भेरी नगरपालिका– १ रिम्नाकी २६ वर्षीया माया घर्ती ओलीले १७ कात्तिकको मध्यरातमा गएको भूकम्पमा श्रीमान् र छोरा गुमाइन् । २७ वर्षीय श्रीमान् पूर्णबहादुर र पाँच वर्षीय छोरा प्रणवलाई गुमाएकी माया यतिवेला चारजनाको परिवारसहित त्रिपालमुनि बसिरहेकी छिन् । लाउँलाउँ र खाउँखाउँ भन्ने उमेरमा जीवनसाथी र भविष्यको सहारा गुमाएकी माया अहिले आफू पनि बिरामी पर्न थालेकी छिन् । चिसोका कारण हातगोडा सुन्निने, रुघाखोकी लाग्ने, ज्वरो आउनेजस्ता समस्या देखिएको छ । ‘चिसो नथेग्ने यो पालमुनि बसेर त कसरी ज्यान जोगाउनू ?’ उनले भनिन्, ‘गतिला ओढ्ने, ओछ्याउने पनि छैनन्, सानो छाप्रो मात्रै भए पनि केही सहज हुन्थ्यो ।’ 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका– १ की २५ वर्षीया रञ्जना पुन पनि परिवारका सदस्यसहित पालमुनि छिन् । दाइ, भाउजू र दुई भदै गुमाएको उनको परिवारका बाँकी सदस्यलाई अहिले चिसोले सताउन थालेको छ । ‘चिसो दिन प्रतिदिन बढ्दै गएको छ, ओत लाग्नलाई पाल त छ, तर यसले चिसो छेक्न सकेको छैन, बिहान उठ्दा शीतले निथ्रुक भिज्नुपर्ने अवस्था छ, यसरी रात काट्न सकिन्न,’ रञ्जिताले भनिन्, ‘रुघाखोकीले सताएपछि घरका सबैजसोले औषधि सेवन गरिरहेका छौँ । जे बज्रपात हुनु भइगयो, अब सानो छाप्रो भए पनि बनाउन पाए ओत लाग्ने आधार हुन्थ्यो, तर कसले बनाइदेला र ?’

सुझावित समाचार