राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले परिवर्तनका लागि विगतमा तातो गोली थाप्न तयार भएका भूकम्प प्रभावित जिल्लाका जनतालाई चिसोबाट बचाउन आग्रह गरेका छन् । भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिमबाट फर्किएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर लामिछानेले पीडितले तत्काल भोगेका समस्या र थप बन्दोबस्तीबारे १४बुँदे सुझाव दिएका हुन् ।
लामिछानेले भूकम्प प्रभावित क्षेत्रमा पठाइएका त्रिपालहरू गुणस्तरीय नभएको भन्दै परीक्षण गरेर मात्रै पठाउन सुझाव दिएका छन् । ‘विपत्का वेला समयमा नपुर्याइएका सामानको महत्व हुँदैन रहेछ भन्ने सिकाइसाथ फर्किएको छु,’ लामिछानेको सुझाव छ, ‘त्यसैले सरकारले प्रभावित क्षेत्रमा चाहिएका सामग्री तत्काल पुर्याओस् । भूकम्प प्रभावित क्षेत्रमा पठाइएका त्रिपालहरूको गुणस्तर राम्रो नभएकाले अब पठाइने त्रिपालको गुणस्तर परीक्षण गरेर मात्रै पठाइयोस् । राहत सामग्रीको आवश्यकता कुन–कुन वस्तुको कति मात्रामा हो भन्ने स्पष्ट सन्देश नपुग्दा अनावश्यक र सहज पाइने वस्तुको चाङ लाग्ने देखिन्छ । आवश्यक सामग्रीको कमी हुने देखिन्छ ।’
भूकम्प प्रभावित जनता आफ्नो जोहो आफैँ गर्न संघर्षरत रहेको अनुभव रास्वपा लामिछानेले प्रधानमन्त्रीसँग बाँडेका छन् । यस्तो अवस्थामा परिवर्तनका लागि विगतमा तातो गोली थाप्न तयार भएका जनतालाई चिसोबाट बचाउनुस् भन्ने सुझाव दिँदा प्रधानमन्त्री गम्भीर भएको रास्वपाले जनाएको छ । ‘राहत सामग्री जिल्ला प्रशासन कार्यालयमा थुप्रो लागेको छ, तर भूकम्पपीडितले पाएका छैनन्,’ लामिछानेले प्रधानमन्त्रीलाई बुझाएको सुझावपत्रमा भनिएको छ, ‘प्रमुख जिल्ला अधिकारीले मात्रै सम्हाल्न सक्ने स्थिति रहेन । सरकारको त्यसतर्फ ध्यान जाओस् ।’
रास्वपाले ५१ स्वयंसेवक उपलब्ध गराउँछौँ भन्दा सरोकारवालाले लिन नचाहेको भन्दै लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग गुनासो पोखे । राहत वितरणमा पनि एकरूपता नदेखिएको लामिछानेको अनुभव थियो । ‘दलगत हिसाब अथवा त्यस ठाउँको जनप्रतिनिधि कुन पार्टीका हुन् त्यही पार्टीका समर्थकले मात्रै राहत पाएको गुनासो आमसमुदायले गरेका छन् । राहतमा राजनीति नगरिदिनू भनी सम्बन्धित सबैको ध्यानाकर्षण गर्नुपर्ने देखिएको छ,’ प्रधानमन्त्रीलाई लामिछानेको सुझाव छ ।
जाजरकोट जिल्ला अस्पतालमा देखिएको समस्याबारे पनि लामिछानेले प्रधानमन्त्रीलाई अवगत गराएका छन् । ‘अस्पतालमा राम्रो काम भइरहेको भए तापनि जाजरकोट जिल्ला अस्पतालमा स्टेब्लाइजर थिएन । अस्पताल ५० बेडको भए पनि त्यहाँ सामान्य शल्यक्रियासमेत हुन नसकी रिफर गर्नुपर्ने अवस्था रहेको, उपकरणहरू नरहेको, ओटी (अपरेसन थिएटर) र आइसियू कोठा खाली रहेको एवं विशेषज्ञका सबै दरबन्दी खाली रहेको बुझेँ । यी सबै कुरामा सरकारको तुरुन्त ध्यान जाओस्,’ उनको सुझाव छ ।