कोशीमा १० महिनापछि विषयगत समितिमा सदस्य मनोनयन

बुधबार, २२ कार्तिक, २०८०
डिजिटल संस्करण

कोशी प्रदेश सभाको आजको बैठकमा ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफलले निरन्तरता पाएको छ। 

प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत)को नियम ९३ (१) बमोजिम सो विधेयक विनाविभागीयमन्त्री शमशेर राईले सदनमा विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। 

उक्त विधेयकलाई उपसभामुख सिर्जना दनुवारले निर्णयार्थ पेस गर्दा सर्वसम्मत पारित गरिएकाले सैद्धान्तिक छलफलले निरन्तरता पाएको हो।

सैद्धान्तिक छलफल सुरु हुनुआगाडि कोशी प्रदेशसभा सदस्य विदुरकुमार लिंथेमले विधेयकलाई सैद्धान्तिक छलफलमा लैजानुभन्दा पहिले विषयगत समितिमा छलफल एवं बहस गराउनुपर्ने मागसहित नियमापत्ति गरेका थिए। 

त्यसपछि प्रारम्भ भएको छलफलमा प्रदेश सभा सदस्यहरू प्रदीपकुमार सुनुवार, राजेन्द्र कार्की, गीता तिमल्सेना, किशोरचन्द्र दुलाल, रमेशकुमार बस्नेत, पाँचकर्ण राई र जयप्रकाश चौधरीले सुशासन, स्थानीय प्रशासन र सेवासँग जोडिएको यो विधेयकलाई समृद्ध बनाउन विषयगत समितिमै छलफल हुनुपर्नेमा जोड दिए।

विषयगत समितिमा सदस्यहरू मनोनयन

यसैबीच उपसभामुख दनुवारले १० महिनापछि प्रदेश सभाको विभिन्न विषयगत समितिमा मनोनयन गरिएका सदस्यहरूको नाम सार्वजनिक गरे। 

न्याय प्रशासन तथा विधायन समितिमा १२, सुशासन तथा योजना समितिमा १५, अर्थ समितिमा १३, सार्वजनिक लेखा समितिमा ११, सामाजिक विकास समितिमा १२, उद्योग, पर्यटन तथा वातावरण समितिमा १३ र प्राकृतिक स्रोत तथा पूर्वाधार समितिमा १२ जनालाई मनोनयन गरिएको थियो।

प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत) को नियम १३३ बमोजिम ती  समितिमा सदस्यहरूलाई मनोनयन गरिएको हो। प्रदेश सभाको अर्को बैठक भोलि बिहीबार बिहान  ११ बजे बस्नेछ। 

सुझावित समाचार