भूकम्पपीडितहरूका लागि राहत सामग्री लिएर आएका चिनियाँ जनमुक्ति सेनाका दुईवटा कार्गो जहाज बेइजिङबाट आज बिहान पोखरा आइपुगेका छन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ राहत सामग्री ग्रहण गरेका छन्।
बिहान काठमाडौंबाट उपप्रधानमन्त्री श्रेष्ठसँगै पोखरा गएका चिनियाँ राजदूत चेन सोङले राहत सामग्री हस्तान्तरण गरेका हुन्। चीन सरकारको तर्फबाट ६ सय टेन्ट र चार हजार ६ सय कम्बल पठाइएको उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए।
चीनको केन्द्र सरकारले पठाएको करिब ३० करोड नेपाली रुपैयाँ (१५ लाख आरएमी) बराबरका सामग्री बोकेर चिनियाँ सेनाको जहाज आइपुगेको हो।
श्रेष्ठका अनुसार चीनबाट आज बिहान थप १० करोड रुैयाँबराबरको राहत सामग्री केरुङ–रसुवागढी नाकाबाट आइपुगेको छ। चीनले यसअघि पनि १० करोड रुपैयाँबराबरको राहत सामग्री पठाइसकेको छ।