काठमाडौंमा ३७औँ क्यासी सम्मेलन सुरु : नेपालमा लगानी बढाउन एसिया प्रशान्त क्षेत्रका उद्यमीलाई राष्ट्रपतिको आह्वान

मंगलबार, २१ कार्तिक, २०८०
डिजिटल संस्करण

नेपालमा एसिया प्रशान्त क्षेत्रको लगानी नेपालमा बढाउन राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेका छन् । एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (क्यासी)को ३७औँ सम्मेलन उद्घाटन गर्दै राष्ट्रपति पौडेलले नेपालमा लगानीको वातावरण सकारात्मक रहेकाले सम्मेलनमा सहभागी उद्यमी–व्यवसायीलाई एसिया प्रशान्त क्षेत्रको लगानी ल्याउन आग्रह गरेका हुन् ।

 क्यासी एसिया प्रशान्त क्षेत्रका २६ देशका २८ वटा राष्ट्रियस्तरका उद्योग वाणिज्य संघहरू सदस्य रहेको संस्था हो । महासंघ क्यासीको संस्थापक सदस्य हो । दुई दिनसम्म चल्ने सम्मेलनमा एसिया प्यासिफिक क्षेत्रका सदस्य राष्ट्रहरूबाट ६० भन्दा बढी व्यवसायी नेताहरू र नेपाली उद्यमी–व्यवसायी, नीति–निर्माता, सरकारी प्रतिनिधिसमेत गरी दुई सयभन्दा बढीको सहभागी छन् ।

कार्यक्रममा मुख्य वक्ता एवं पूर्वप्रधानमन्त्री डा. बाबुुराम भट्टराईले बढ्दो मध्यमवर्ग, उदीयमान उपभोक्ता बजार नेपालको सबल पक्ष रहेको बताउँदै खुद्रा, उपभोग्य वस्तु र सेवालगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको औँल्याए । युवा जनसंख्याको बाहुल्यता रहेको नेपालमा लगानीको ठूलो अवसर रहेकाले क्यासीजस्ता मञ्चहरूमार्फत लगानी, प्रविधि र विकासका अनुुभव ल्याउन प्रयास हुुुनुुपर्नेमा उनले जोड दिए । 

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा रहेका अवसरलाई सदुुपयोग गर्न सम्मेलनका सहभागीलाई आग्रह गरे । उनले भने, ‘नेपालमा नवीकरणीय ऊर्जा, पर्यटन, पूर्वाधार, सूचना प्रविधिलगायतका क्षेत्रमा रहेको अपार सम्भावनाको सदुुपयोग गर्दै यस क्षेत्रका जनताको जीवनस्तर सुधारमा क्यासीजस्ता संस्थाहरूको अर्थपूर्ण सहयोग नेपालले खोजेको छ ।’  

 महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले दिगोपना, उद्यमशीलता र व्यापार एसिया–प्रशान्त क्षेत्रको समृद्ध भविष्यको खाका कोर्ने आधार रहेको बताए । उनले ऊर्जा, पर्यटन, कृषि प्रशोधन, आइसिटी, औषधि र जडीबुटी क्षेत्रमा लगानी बढाउन एसिया प्रशान्त क्षेत्रका लगानीकर्तालाई आग्रह गरे । पर्यटन पूर्वाधारहरू होटेल, केबलकार, थिम पार्क उच्च प्रतिफल दिने क्षेत्र रहेको अध्यक्ष ढकालले बताए । भारत र बंगलादेशमा नेपाली विद्युत् निर्यातको सम्भावना बढ्दै गएकाले यस क्षेत्रमा लगानी गर्न पनि उनले आग्रह गरे । 

क्यासीका अध्यक्ष पिटर म्याकमुलिन एमले क्यासीले सम्मेलन नेपालको विकास प्रयासमा सहयोगी हुने विश्वास दिलाए । उनले नेपालमा लगानी, प्रविधि र विकास मोडललाई आकर्षण गर्न सम्मेलन कोसेढुंगा हुने बताए । क्यासीका उपाध्यक्ष प्रदीपकुमार श्रेष्ठले नेपालले दोस्रोपटक सम्मेलन आयोजना गर्न पाएकोमा खुसी व्यक्त गरे । 

महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले सम्मेलनले एकता, सहयोग र समृद्ध भविष्यका लागि साझा दृष्टिकोण तय गर्ने विश्वास व्यक्त गरे । दुईदिने सम्मेलनको मुख्य थिम ‘चेम्बर्स अफ कमर्स हेल्पिङ बिजनेस गेट सेट फर द फयुचर’ रहेको छ ।  

सुझावित समाचार