डा. महेन्द्रनाथ सरकार त्यस समय कोलकाताका निकै नाम चलेका चिकित्सक थिए । उनी चिकित्सा क्षेत्रका चिरपरिचित हस्ती नै थिए । उनले स्वामी रामकृष्ण परमहंसबारे निकै चर्चा सुनेका थिए । उनी रामकृष्णसित भेटघाट गर्न र उनको सत्संग सुन्न चाहन्थे । तर, उनले प्रत्यक्षतः भेटघाट गर्ने मौका पाइरहेका थिएनन् । उनले रामकृष्णको सत्संग सुन्ने मौका पनि पाएका थिएनन् । लामो प्रयासपछि एकपटक चिकित्सकीय कामकाजबाट फुर्सद मिलाएर रामकृष्ण परमहंससित भेटघाट गर्न र उनको सत्संग सुन्न उनी भुवनेश्वरी मन्दिरतिर गए, जहाँ रामकृष्णको आश्रम थियो । यहीँ उनको सत्संग चल्ने गथ्र्यो ।
डा. सरकार पुग्दा स्वामी रामकृष्ण परमहंस बगैँचामा टहलिँदै झार उखेलिरहेका थिए । डा. सरकारले त्यसअघि रामकृष्णबारे सुनेका मात्र थिए, कहिल्यै देखेका थिएनन् । त्यसैले, उनी रामकृष्णलाई चिन्दैनथे । त्यसैले अत्यन्त सादा वेशभूषामा झार उखेलिरहेका रामकृष्णलाई उनले त्यहाका माली ठाने । त्यसैले डा. सरकारले नम्रतापूर्वक उनलाई सम्बोधन गर्दै भने– ए मालीदाइ, मलाई अलिकति फूल दिनुहोस् न । स्वामी रामकृष्ण परमहंसज्यूलाई चढाउनु छ । डा. सरकारको आग्रह सुनेपछि रामकृष्णले कुनै प्रतिक्रिया नजनाई केही राम्रा फूल टिपेर उनलाई दिए ।
केही समयपछि रामकृष्णको सत्संग सुरु भयो । आफूले जसलाई माली ठानेर फूल मागेका थिए, उनै व्यक्ति अहिले रामकृष्णको आसनमा विराजमान भएको देखेर डा. सरकार लज्जित भए । रामकृष्णको यस्तो सरलता र विनम्रता देख्दा उनी आश्चर्यचकित भए ।