एपिएफ–एसएसबी समन्वय बैठक आजदेखि नयाँदिल्लीमा

सोमबार, २० कार्तिक, २०८०
डिजिटल संस्करण

सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) र सशस्त्र सीमा बल (एसएसबी)बीचको नियमित सातौँ समन्वय बैठक सोमबारदेखि नयाँदिल्लीमा सुरु भएको छ।

बैठकमा भाग लिन सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल नेतृत्वको टोली आइतबार भारत गइसकेको छ।  भारतमा एसएसबी महानिर्देशक रश्मी शुक्लाले बैठकको नेतृत्व गरेकी छिन्।

सीमा सुरक्षामा खटिएका दुई निकायबीच समन्वय र सहकार्य बढाउन हरेक वर्ष यस्तो बैठक हुँदै आएको छ। गत वर्ष नेपालमा बैठक भएको थियो। बैठक सीमा सुरक्षा तथा समन्वयका विषयमा केन्द्रित हुने गरेको छ।

नयाँदिल्लीमा जारी बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरू सहभागी छन्। बैठक बुधबारसम्म चल्ने सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले जानकारी दिए।

सुझावित समाचार