भूकम्पपीडितलाई धमाधम सहयोग घोषणा

सोमबार, २० कार्तिक, २०८०
डिजिटल संस्करण

जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले कर्णाली प्रदेशमै ठूलो जनधनको क्षति भएपछि त्यहाँका भूकम्पपीडितलाई सहयोग गर्न निजी क्षेत्र कम्मर कसेर लागेको छ । भूकम्पबाट पीडितहरूको राहतका लागि विभिन्न कम्पनी संघ तथा संस्थाहरूले सहयोग घोषणा गरेका हुन् ।

विशेषतः जाजरकोट र रुकुम–पश्चिम जिल्लामा अपूरणीय जनधनको क्षति व्यहोर्नुपरेकोप्रति दुःख व्यक्त गर्दै सहयोग गर्नेहरू बढ्दै गएका हुन् । कम्पनी तथा संस्थाहरूले मृतकप्रति श्रद्धाञ्जली अर्पण तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सहयोग घोषणा गरेका छन् । विभिन्न कम्पनीले भूकम्पपीडितलाई राहत पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम प्रदान गर्ने भएका हुन् । 

 सिबिफिनको १० लाख सहयोग 
भूकम्पको भयावह अवस्थाबाट गुज्रिरहेका सम्बन्धित क्षेत्रका आमजनताको तत्काल खोज, उद्धार, घाइतेहरूको आवश्यक औषधोपचार र राहतसहित सुरक्षित पुनस्र्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले तत्कालका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । राहत सामग्री जुटाउने र सम्बन्धित क्षेत्रमा पुर्याउने मानवीय सेवाको कार्यमा सहयोगी हात अगाडि बढाउन सम्बन्धित प्रदेश–जिल्ला तथा स्थानीय निकायमा रहेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई सिबिफनले आग्रह गरेको छ । 

 आइएमई ग्रुपले डेढ करोड दिने
आइएमई ग्रुपअन्तर्गतका कम्पनीले संयुक्त रूपमा सहयोग गर्ने भएका छन् । ग्रुपबाट प्रवद्र्धित ग्लोबल आइएमई बैंक, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स र आइएमई लिमिटेडलगायतका कम्पनीहरू तथा आइएमई फाउन्डेसनमार्फत सहयोग गर्ने भएका छन् । फाउन्डेसनमार्फत भूकम्पपीडितलाई एक करोड ५० लाख रुपैयाँ नगद सहयोग रकम प्रदान गर्ने आइएमईले निर्णय गरेको हो । 

ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले महाभूकम्प तथा महामारीका समयमा उद्धार, तत्काल राहत वितरणमा आइएमई ग्रुपलाई नै परिचालन गरेको स्मरण गर्दै यससपटक पनि  हरसम्भव सहयोगका लागि जुटेको बताए । 

 एनआइसी एसियाको ५१ लाख
एनआइसी एसिया बैंक लिमिटेडले भूकम्पबाट प्रभावितका लागि उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले ५१ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा सहयोग रकम प्रदान गर्ने भएको हो । भूकम्पका कारण ठूलो जनधनको क्षति भएकाले पीडितलाई राहत उपलब्ध होस् भन्ने उद्देश्यले सहयोग गर्न लागेको बैंकले जनाएको छ ।  

 सिटिजन्स बैंकले २५ लाख दिने
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विनाशकारी भूकम्पबाट पीडितहरूको उद्धार तथा उपचारमा सहयोग पु¥याउने उद्देश्यले २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा सहयोग रकम प्रदान गर्ने निर्णय गरेको हो । यस घटनाबाट प्रभावित सम्पूर्णजनप्रति तत्काल सहयोग तथा राहत पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ । 

 प्राइम बैंकको २५ लाख ५१ हजार 
विनाशकारी भूकम्पबाट जनधनको अपूरणीय क्षति व्यहोर्नुपरेको अकल्पनीय घटनाप्रति दुःख व्यक्त गर्दै प्राइम कमर्सियल बैंक लिमिटेडले २५ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । बैंकले सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम प्रदान गर्ने भएको हो । भूकम्पपीडितले तत्काल राहत प्राप्त गर्न सहज होस् भन्ने उद्देश्यसहित सहयोग गर्न लागेको बैंकले जनाएको छ । 

 निर्माण व्यवसाय विकास परिषद्ले २५ लाख सहयोग गर्ने
नेपाल निर्माण व्यवसायी महासंघ सदस्य रहेको निर्माण व्यवसाय विकास परिषद्ले भूकम्पपीडितको सहयोगार्थ २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । परिषद्ले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग रकम उपलब्ध गराउने भएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको अध्यक्षतामा बसेको परिषद्को आकस्मिक बैठकले निर्माण व्यवसाय कोषबाट उक्त रकम उपलब्ध गराउने निर्णय गरेको महासंघका महासचिव रोशन दाहालले बताए ।

 आइएमई लाइफले १० लाख सहयोग गर्ने
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भूकम्पपीडितको सहयोगार्थ १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत जाजरकोटमा गएको भूकम्पबाट प्रभावितलाई उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा उक्त रकम सहयोग गर्ने भएको हो ।

 सहयोग रकमले ठूलो जनधनको क्षति भएको भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतको थप सहयोग पुग्ने कम्पनीले विश्वास व्यक्त गरेको छ । पीडित परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै समुदायलाई आवश्यकता परेको समयमा यस्तै संस्थागत सामाजिक उत्तरदायित्व कार्य गरी सहयोग र हातेमालो गर्न कम्पनी अग्रसर रहने प्रमुख कार्यकारी अधिकृत कवि फुँयालले बताए ।

सुझावित समाचार