टी– २० विश्वकप छनोटमा नेपालको खेल कस्तो रह्यो ?
नेपाली टिमको खेल हामीले सोचेअनुरूप नैै भएको छ । फाइनल खेलमा अलि कमजोर प्रदर्शन भएको हो कि जस्तो देखिए पनि यो टी– २० को फम्र्याट नै यस्तो हो । एक ओभरले नै खेलको नतिजामा फरक पार्छ । समग्रमा प्रदर्शन सन्तोषजन रह्यो ।
नेपाल टी– २० विश्वकपका लागि छनोट भएको छ, खेलाडीहरूलाई प्रोत्साहित गर्न सरकारले के गर्नुपर्छ ?
पहिलो त सरकारले पुरस्कारबाट प्रोत्साहित गर्ने हो । सरकारले खेलकुद परिषद्को कार्यविधि र नियमअनुसार पुरस्कार दिन्छ, दिने भनेकै छ । अर्काे सरकारले खेलाडीहरूलाई अझ सशक्त बनाउन आवश्यक पर्ने सहयोग गर्नुपर्छ । क्यानले भुक्तानी गरिरहेको प्रशिक्षकको पारिश्रमिक सरकारले तिरिदिने हो भने हामीले ब्याटिङ, बलिङको छुट्टाछुट्टै प्रशिक्षक ल्याएर प्रशिक्षक विभागलाई बलियो बनाउन सक्छाैँ । यस्तोमा हरेक खेलाडी कुनै न कुनै विधामा त कमजोर छ, उसका ससाना कमीकमजोरीलाई पनि सुधार गर्नेतर्फ ध्यान दिन सक्छौँ । खेलाडीहरूलाई प्रशिक्षणका लागि विदेश पठाउन सक्छौँ । विदेशमा मैत्री खेलका लागि पठाउन सकिन्छ । तर, यी सबैका लागि आर्थिक स्रोत चाहिन्छ । क्यानले मात्रै यी काम गर्न सक्दैन, किनकि यसले समग्र क्रिकेटलाई हेर्नुपर्ने हुन्छ । यो कुरामा सरकारले सहयोग गर्यो भने नेपालको टोलीले उत्कृष्ट प्रदर्शन गर्नेमा म विश्वस्त छु ।
सात महिनापछि हुने विश्वकपलाई लक्षित गरेर नेपाली टोलीले आफूलाई कसरी तयारी गर्नुपर्छ?
विश्वकपका लागि, भोलिदेखि नै आफ्ना कमीकमजोरीलाई कसरी हटाउने भनेर सबै खेलाडी लाग्नुपर्छ । उच्च मनोबलका साथ अभ्यासलाई निखार्दै लानुपर्छ । यसका निम्ति क्रिकेट संघले गर्नुपर्ने काम क्षमताले भ्याएसम्म गर्न कुनै कसर बाँकी राख्नेछैन ।