विनाशकारी हुन सक्छ विज्ञानमाथिको अविश्वास

आइतबार, १९ कार्तिक, २०८०
डिजिटल संस्करण

गत वर्ष कोभिड खोपको चौथो बुस्टर डोज लगाउने इटालियनहरूको संख्या ज्यादै न्यून भएपछि स्वास्थ्य मन्त्रालयले मलाई एक वैज्ञानिकको नाताले टिभीबाट प्रसारित हुने एउटा ५० सेकेन्ड लामो श्रव्यदृश्य सामग्रीमा जोखिममा रहेका मानिसले किन अर्काे डोज खोप लगाउनुपर्छ भनेर बताइदिन आग्रह गर्यो । टेलिभिजनमा सो सामग्री सयौँपटक प्रसारण गरिएको थियो । फलस्वरूप मलाई मेरो आलोचना गरिएका इमेलहरूको ओइरो लागे । ट्विटर र फेसबुकमा मलाई (गलत रूपमा) ठूला औषधि कम्पनीको खल्तीको मान्छे भनेर निन्दासमेत गरियो । 

सन् २०२० को अक्टोबरमा कोभिडको महामारी उत्कर्षमा पुगेको वेला पनि यस्तै कुरा भोगेको थिएँ । त्यतिवेला म इटलीको सबैभन्दा महŒवपूर्ण वैज्ञानिक एकेडेमी ‘एकेडेमिया डेई लिन्सेई’को अध्यक्ष थिएँ र कोभिडको दोस्रो घातक लहर आउँदै थियो । महामारीको अवस्थालाई विस्तृत रूपमा प्रकाश पार्दै मैले एउटा लामो लेख नै लेखेँ । सो लेखमा मैले तुरुन्तै कठोर कदम चाल्नुपर्छ, होइन भने नोभेम्बरको मध्यसम्ममा दैनिक पाँच सयजनाको मृत्यु हुन सक्ने भयावह स्थिति आउन सक्छ भनेर तर्क गरेको थिएँ । (दुर्भाग्यवश भविष्यवाणी सही सावित भयो) । उक्त लेख प्रकाशन भएलगत्तै मलाई यो तिम्रो विज्ञता र जिम्मेवारीको विषय होइन, अरूको काममा दखलअन्दाजी नगरेकै राम्रो हो भन्ने कठोर विचारसहितका कडा आलोचनात्मक इमेल प्राप्त भए ।

यी प्रकरणले मलाई सीधै एउटा प्रवृत्तिबारे प्रत्यक्ष अनुभव गराए । विज्ञानमाथिको विश्वास टुट्दै गइरहेको कुरामा म बढ्दो रूपमा परिचित हुँदै थिएँ । हाम्रा समाजहरू वैज्ञानिक आविष्कारमा आधारित उन्नत प्रविधिमा झन्–झन् निर्भर भइरहेका छन्, जबकि मानिसहरूचाहिँ वैज्ञानिकप्रति झन्–झन् शंकालु हुँदै गएका छन् । यो कुरा विरोधाभासजस्तो देखिन्छ । 

हामीले यसलाई कसरी बुझ्न सक्छौँ ? यसमा ख्याल गर्नुपर्ने थुप्रै कारक छन् । म पछिल्ला केही दशकमा छापा माध्यमका सामग्रीको महŒव घट्दै गएकोबारे अक्सर सोच्ने गर्छु । श्रव्यदृश्य सामग्री प्रसारण गर्ने टिभीदेखि एकदमै छोटाछोटा श्रव्यदृश्य सामग्री हाल्न मिल्ने टिकटकसम्मका कारण छापा माध्यमको महŒव घट्दै गएको देख्छु । टेलिभिजन बहसहरूमा ‘फास्ट रेस्पोन्स’ चाहिन्छ, जबकि वैज्ञानिकहरू कुनै पनि विषयबारे बताउन लामो समय लिन्छन् र सोचविचार गरेर मात्र बोल्छन् । यसबाहेक प्रसारण माध्यमको सफल प्रस्तुति भनेको सत्य हुनु मात्र होइन, बरु दर्शकमा सहानुभूतिको भावना जगाउनु पनि हो, अथवा प्रस्तुतिबारे सहानुभूति बटुल्नु पनि हो । यो कुरा वैज्ञानिकहरूलाई सधैँ सजिलो हुँदैन ।

तर, अहिलेका कठिनाइको जड गहिरो छ । हामी भविष्यका बारेमा निराशावादको युगमा प्रवेश गर्दै छौँ । यसको मूल विभिन्न प्रकारका संकटमा छ । आर्थिक, जलवायु तथा प्राकृतिक स्रोत एवं सम्पदाको विनाशजस्ता विभिन्नखाले संकट यसका मूल हुन् । अधिकांश देशले असमानता, रोजगार–असुरक्षा, बेरोजगारी र प्रत्यक्ष युद्धको वृद्धि साक्षात्कार गरिरहेका छन् ।  

एक समय वर्तमानभन्दा भविष्य पक्कै पनि राम्रो हुन्छ भनेर सोचिन्थ्यो, तर अहिले प्रगति वा अग्रगमनमाथिको त्यो विश्वास टुटेको छ । धेरैलाई डर छ कि आगामी पुस्ताले वर्तमान पुस्ताले भन्दा धेरै दुर्दिन देख्नेछन् । जसरी विज्ञानले प्रगतिको श्रेय पाउने गथ्र्यो, त्यसरी नै अहिले यसले अद्योगतिको दोष पाउन थालेको छ (चाहे त्यो वास्तविक होस् वा कथित) । कतिपय अवस्थामा विज्ञानलाई खराब शिक्षकजस्तो र यसले हामीलाई गलत दिशामा डोर्याएको ठान्न थालिएको छ र यो धारणामा परिवर्तन गर्न त्यति सजिलो छैन ।

संक्षेपमा वैज्ञानिकहरूलाई अभिजात वर्गको हिस्सा मानिन्छ, त्यसकारण विश्वसनीय ठानिँदैन । ज्ञान(खोज)को पेटेन्ट(बौद्धिक सम्पत्ति अधिकार) लिने र आविष्कारहरूबाट निजी आर्थिक लाभ हासिल गर्नेतर्फ वैज्ञानिकहरूको एक अंशमा पलाएको लालच पनि उनीहरूलाई अभिजात वर्गका रूपमा दराउँदै लान सहयोग गरेको छ । तर, विज्ञान र उद्योग वा वैज्ञानिक घोटलाका घटनाक्रमबीच सम्बन्धको विस्तारले विज्ञानको आधारभूत वास्तविकतालाई बदल्दैन । विज्ञानले निष्पक्ष भविष्यवाणीहरू गर्छ, जुन वैज्ञानिक आमसहमतिपछि विश्वसनीय बन्छ । आमसहमतिको निर्माण एउटा प्रक्रिया हो, त्यसले नै यथार्थमा फरक पार्छ । यसले यसमा समग्र वैज्ञानिक समुदायलाई समावेश गर्छ र त्यसमा चलखेल हुन सक्दैन । 

दुर्भाग्यवश विश्वासको यो संकटको विनाशकारी प्रभाव पर्न सक्छ । यदि नागरिकहरूले विज्ञानलाई विश्वास गरेनन् भने हामी विश्व तापमान, संक्रामक रोग, गरिबी तथा भोकमरी र प्राकृतिक स्रोतसम्पदाको दोहनसँग लड्न सक्षम हुनेछनौँ । तर, विश्वासलाई कसरी पुनस्र्थापना र प्रवद्र्धन गर्ने त ? यसका लागि एउटा ठूलो समन्वित प्रयास आवश्यक हुन्छ र यो समस्याको जटिल प्रकृतिलाई पूर्ण रूपले बुझ्न सक्दा मात्र यो हुनेछ ।

विज्ञानको विकासमा लगाइएको मानव तथा वित्तीय स्रोतसाधनको केही अंश विज्ञान के हो ? भनेर शिक्षा, तथा मिडिया र आउटरिच कार्यक्रममार्फत नागरिकलाई बुझाउन लगाउनुपर्छ । विज्ञान नै यो संसारलाई बुझ्न र भविष्यको आकलन गर्ने सबैभन्दा भरपर्दो र इमानदार उपकरण हो । यो कुरा नागरिकलाई बुझाउन सक्नुपर्छ । 

हामी वैज्ञानिकले आफ्ना सफलता मात्र होइन, हाम्रा गल्ती, सन्देह र हिचकिचाहटबारे पनि बहस गर्ने कुरा पनि महŒवपूर्ण छ । प्रायः सार्वजनिक वैज्ञानिक प्रवचनमा वैज्ञानिक विधिमा अन्तरनिहित कठिनाइ र अनिश्चितताबारे कुनै उल्लेख हुने गरेको छैन । यदि वैज्ञानिकलाई अभिजात वर्गको रूपमा हेरिएको छ भने विश्वास पुनस्र्थापित गर्नेतर्फको पहिलो खुड्किलो भनेको हामीलाई अविश्वास गर्ने व्यक्तिजस्तै हामी पनि मानव नै हौँ भनेर विनम्रतापूर्वक देखाउने हो ।

(सैद्धान्तिक भौतिकशास्त्री एवं ‘इन ए फ्लाइट अफ स्टार्लिङ्स ः द वन्डर अफ कम्प्लेक्स सिस्टम्स’का लेखक जिर्योजियो पारिसीले सन् २०२१ मा क्लाउस हासेलम्यान र युकुरो मनाबेसँगै संयुक्त रूपमा भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार पाएका थिए)

– द  गार्जियनबाट

सुझावित समाचार