जाजरकोट र रुकुमपश्चिमको भूकम्प प्रभावित क्षेत्रका लागि कोशी प्रदेश सरकारले एक करोड सहयोग प्रदान गर्ने घोषणा गरेको छ।
शनिबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश राहत कोषमा जम्मा हुने गरी भूकम्पपीडितहरूको सहयोगका लागि एक करोड रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जानकारी दिए।
मुख्यमन्त्री कार्कीका अनुसार भूकम्पपीडितका लागि आवश्यकताअनुसार राहत सामग्री एवं उपचारका लागि स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्री पठाउने व्यवस्था पनि प्रदेश सरकारले मिलाएको छ।
साथै, प्रदेश सरकारले भूकम्पपीडितहरूको समस्यालाई आफ्नै समस्या मानेर सक्दो सहयोग गर्न प्रदेशका संघसंस्था, विभिन्न निकाय र नागरिक समाजसँग अपिल पनि गरेको छ।