भूकम्पले घाइते भएकाकाे नेपालगन्जमा उपचार गरिँदै

शनिबार, १८ कार्तिक, २०८०
डिजिटल संस्करण

गएराति गएको भूकम्पका कारण घाइते भएकाहरूको बाँकेको नेपालगन्जमा उपचार थालिएको छ। उपचारका लागि दुई घाइतेलाई भेरी अस्पताल, नेपालगन्जमा भर्ना गरिएको छ। 

भेरी अस्पतालमा फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भूकम्पमा परी घाइते भएका जाजरकोटको भेरी नगरपालिका–३ का ४८ वर्षीय विमलबहादुर कार्की र भेरी–३ की २२ वर्षीया इसा शाहीको उपचार भइरहेको छ। कार्कीको दाहिने खुट्टा भाँचिएको छ भने शाहीको टाउकोमा चोट लागेको छ। दुवैको अवस्था सामान्य भएको उनले बताए। 

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार भेरी अस्पताल, सैनिक अस्पताल र प्रहरी अस्पतालको एक सय पाँच शय्या घाइतेको उपचारका लागि तयारी अवस्थामा राखिएको छ। हेलिकोप्टरबाट उद्धार गरिने घाइतेका लागि राझा विमानस्थल र नेपाली सेनाको हेलिप्याडमा दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखिएका छन्। भूकम्पबाट घाइते भएका अन्यलाई उपचारका लागि यहाँ ल्याउने क्रम जारी छ। 

गएराति ११: ४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रविन्दु भई ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा अत्यधिक धनजनको क्षति भएको छ। 

सुझावित समाचार