बजेट नल्याउँदा सिराहाको विष्णुपुर गाउँपालिकामा कर्मचारीको तलब रोकियो

शनिबार, १७ कार्तिक, २०८०
डिजिटल संस्करण
बजेट नल्याउँदा सिराहाको विष्णुपुर गाउँपालिकामा कर्मचारीको तलब रोकियो

धर्नामा बसेका विष्णुपुर गाउँपालिकाका कर्मचारी

स्वास्थ्य संस्थामा औषधि अभाव, विद्यार्थीको दिवा खाजा ठप्प

चालू आर्थिक वर्ष ०८०/८१ को साढे तीन महिना बित्दा पनि बजेट नल्याउँदा सिराहाको विष्णुपुर गाउँपालिकामा कर्मचारीको तलब रोकिएको छ । असारमा गाउँ सभामार्फत बजेट ल्याउनुपर्ने भए विष्णुपुरले अझै सभा गरेको छैन । कार्यसमितिबाट निर्णय गराएर खर्च गर्ने बाटो पनि नखोल्दा समस्या भएको हो । 

विष्णुपुरका कर्मचारीको तलबभत्ता तीन महिनादेखि रोकिएको छ । स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ । बजेट निकासा नहुँदा १४ सामुदायिक विद्यालयका बालबालिकाको दिवा खाजा कार्यक्रम रोकिएको विष्णुपुर गाउँपालिकाका शिक्षा संयोजक दीपकुमार यादवले बताए ।  

गर्भवती र सुत्केरीलाई निःशुल्क दिँदै आएको क्याल्सियम, आइरन चक्कीलगायत अत्यावश्यक औषधि अभाव भएको स्वास्थ्य शाखा प्रमुख रामसेवक रायले बताए । औषधि खरिद गर्न चालू आवमा १६ लाख बजेट भए पनि पालिकाले खरिद प्रक्रिया सुरु गर्नसकेको छैन ।  

बालबालिका, ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्तिलाई दिँदै आएको सामाजिक सुरक्षा भत्ता पनि वितरण हुन सकेको छैन । विष्णपुर गाउँपालिकाले एक करोडभन्दा बढी सामाजिक सुरक्षाअन्तर्गत रकम वितरण गर्दै आएको छ । चालू आवमा चार हजार एकजनालाई वितरण गर्नुपर्ने सामाजिक सुरक्षाको रकम गाउँ सभा हुन नसक्दा निकासा नै रोकिन पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शैलेश यादवले बताए ।

धर्नामा कर्मचारी, सेवामा फर्कन अध्यक्षको आग्रह
प्रशासन, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रका कर्मचारीले गाउँपालिकाले चाडपर्वका वेला पनि तलब उपलब्ध नपाएको भन्दै बुधबारदेखि धर्ना सुरु गरेका छन् । धर्ना २१ कात्तिकसम्म रहने नगर शिक्षा संयोजक दीपकुमार यादवले बताए । ‘गाउँपालिकाले गाउँ सभा गर्न नसक्दा कर्मचारीले तलबभत्ता पाउन सकेका छैनन्,’ यादवले भने, ‘गाउँ सभा नहुँदा कर्मचारीको तलबभत्ता मात्र नभएर विकास निर्माण नै रोकिन पुगेको छ ।’

विष्णपुर गाउँपालिका अध्यक्ष सत्यनारायण यादवले बिहीबार पत्रकार सम्मेलन गरेर कर्मचारीलाई धर्ना रोकेर काममा फर्किन आह्वान गरे ।  ‘सबैसँग संवादको ढोका खुला छ,’ उनले भने, ‘सबै जनप्रतिनिधि, कर्मचारी मिलेर गाउँ सभा गरी गाउँपालिकालाई नमुना बनाउनुपर्छ । यसमा सबैले सहयोग गर्नुपर्छ ।’

बजेट बाँडफाँटमा विवाद
विष्णुपुर गाउँपालिका जनप्रतिनिधिबीच बजेट बाँडफाँटमा विवाद हुँदा गाउँ सभा हुन सकेको छैन । गत १० असारमा गाउँ सभाको उद्घाटन सत्र भए पनि बजेट पेस हुन सकेन । वडाध्यक्षहरूले समयमा योजना पेस नगर्दा बजेट ल्याउन नसकेको गाउँपालिका अध्यक्ष सत्यनारायण यादवले बताए ।  ‘प्रत्येक वडालाई ७५/७५ लाख बजेट दिने गरी टुंगिएको थियो,’ यादवले भने, ‘अहिलेसम्म वडा १ का अध्यक्षले योजना बुझाउनुभएको छैन ।’ 

दसैँअगावै बजेट ल्याउने प्रयास गर्दा पनि सम्भव नभएको भन्दै अध्यक्ष यादवले गाउँ सभा गराउने प्रयासमा रहेको र चाँडै गाउँ सभा गरी निकास निकाल्ने बताए  । विष्णुपुरमा अध्यक्ष यादव एमालेबाट निर्वाचित एक्लो जनप्रतिनिधि हुन् । उपाध्यक्ष गीताकुमारी सिंह र दुई वडाध्यक्ष जसपाका छन् । तीनजना वडाध्यक्ष कांग्रेसका छन् ।

बजेट नल्याउने तीन पालिकाले पाएनन् अनुदान

सिराहाका १७ पालिकाध्ये तीनले तोकिएको समय घर्किएको साढे तीन महिना बित्दा पनि चालू आव ०८०/८१ को बजेट ल्याउन सकेका छैनन् । असारमा गाउँ/नगर सभामार्फत बजेट ल्याउनुपर्ने भए बरियारपट्टी, विष्णुपुर र सखुवानन्कारकट्टी गाउँपालिकाले अझै सभा गरेका छैनन् । जसकारण यी पालिकाले संघ र प्रदेशबाट प्राप्त हुने अनुदान रकम पनि पाउन सकेका छैनन् । संघ र प्रदेश सरकारबाट प्राप्त हुने सर्सत, विशेष, समानीकरण र समपूरक अनुदानको किस्ताका लागि पालिकाले बजेटको रातोकिताबसहित माग गर्नुपर्छ । तर, बजेट नै नल्याएकाले यी पालिकाले अनुदान प्राप्तिको प्रक्रिया अगाडि बढाउन नसकेका हुन् । कोष तथा लेखानियन्त्रक कार्यालय सिराहाका प्रमुख ध्यानकुमार राईले तीनवटै पालिकाले रेडबुकसहित रकम माग गर्न नआएकाले निकासा दिन नसकिएको बताए ।

See More On

सुझावित समाचार