आइसिसी टी–२० विश्वकप एसियन छनोट : नेपाल र युएईमध्ये एक विश्वकपमा पुग्ने

ओमानसँग पाँच रनले पराजित भएको नेपाल समूह ‘बी’को विजेता युएईसँग आज सेमिफाइनलमा भिड्दै

शुक्रबार, १७ कार्तिक, २०८०
डिजिटल संस्करण
आइसिसी टी–२० विश्वकप एसियन छनोट : नेपाल र युएईमध्ये एक विश्वकपमा पुग्ने

ओमानविरुद्धको अन्तिम ओभरमा छलफल गर्दै विवेक यादव र करण केसी । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

नेपालले आइसिसी टी–२० विश्वकपअन्तर्गत एसियन छनोटको सेमिफाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी युएईविरुद्ध शुक्रबार मूलपानी क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्दै छ । युएई र नेपालका लागि यो खेल विश्वकपको ढोका हो । विजयी टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आइसिसी टी–२० विश्वकपमा स्थान बनाउनेछ ।

मूलपानी क्रिकेट मैदानमा पराजित हुने टोली प्रतियोगिताबाट मात्र बाहरिँदैन, विश्वपकप खेल्ने सपनासमेत अधुरो बन्नेछ । नेपाल र युएईको एउटै लक्ष्य विश्वकप खेल्ने हो । एसियन छनोट प्रतियोगिता सुरु हुनुअघि नेपाल र युएईलाई फाइनलका प्रत्यासीका रूपमा हेरिएको थियो । यी दुवै टोलीबीच सेमिफाइनलमै भिडन्तको समीकरण तयार भयो । फाइनल र विश्वकप प्रवेश खेलमा नेपाल आफ्नै कारणले युएईलाई प्रतिद्वन्द्वीका रूपमा पाएको हो । 

त्रिवि क्रिकेट मैदानमा बिहीबार ओमानसँग पाँच रनले पराजित नेपाल समूह ‘ए’ को उपविजेता बन्यो । ओमान समूह ‘ए’को विजेता भयो । समूह ‘ए’को उपविजेताले समूह ‘बी’को विजेताविरुद्ध खेल्नुपर्छ । समूह ‘बी’को विजेता युएई हो । नेपालले ओमानलाई हराउँदा शुक्रबार त्रिवि मैदानमा बहराइनसँग खेल्नुपर्ने थियो । तर, पाँच रनको नमिठो हारले नेपालले अन्तर्राष्ट्रिय क्रिकेटकै निकै परिचित प्रतिद्वन्द्वी युएईविरुद्ध खेल्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भयो । मूलपानी क्रिकेट मैदानको नतिजाले उपाधि दाबेदार एक टोली बाहिरिने पक्का छ । 

त्रिवि मैदानमा ओमानले पहिलो ब्याटिङ गरी नौ विकेटको क्षतिमा एक सय ४५ रनको मध्यम योगफल बनाएको थियो । टी–२० फम्र्याटमा यस योगफललाई सहजै मान्न सकिन्छ । अझ उत्कृष्ट लयमा रहेको नेपाललाई यो लक्ष्य सामान्यजस्तै थियो । तर, नेपाली ब्याट्सम्यानले जिम्मेवारीपूर्वक ब्याटिङ नगर्दा सिंगो टोली नै २० ओभरमै एक सय ४० रनमै समेटियो । हारसँगै नेपालको भेट युएईसँग हुन पुग्यो । त्रिवि मैदानमा शुक्रबारै ओमानले बहराइनको सामना गर्नेछ । ओमानका कप्तान जिसन मक्सुदले फाइनलमा नेपाल वा युएईमध्ये को पुग्छ भन्न नसकिने बताएका छन् । ‘नेपाल र युएई उस्तै प्रतिस्पर्धी हुन्, यही टोली फाइनल पुग्छ भनेर अहिले भन्न सकिँदैन, नेपालको बलियो पक्ष घरेलु मैदान हो,’ समूह ‘ए’को विजेता बनेपछि मक्सुदले भने । 

अन्तिम ओभरमा २६ रन आवश्यक
नेपालले लक्ष्य पछ्याएको इनिङ्सको अन्तिम ओभरमा २६ रन आवश्यक थियो । क्रिजमा विवेक यादव र करण केसी थिए । ओमानका लागि अनुभवी बलर विलाल खानले बलिङ गरेका थिए । विवेकले १९.१ ओभर, १९.२ ओभर र १९.३ ओभरमा विलालविरुद्ध छक्का प्रहार गर्दै खेल नेपालतर्फ ल्याउन कोसिस गरेका थिए । विलालले एक वाइड र तीन छक्कासहित अन्तिम ओभरको तीन बलमा १९ रन खर्चिसकेका थिए । नेपाललाई तीन बलमा सात रन आवश्यक थियो । इनिङ्सको कुनै समय हारको नजिक पुगेको नेपाल विवेककै विस्फोटक ब्याटिङका कारण सहज अवस्थामा पुगेको हो ।

तर, इनिङ्सको १९.४ ओभरमा विलालविरुद्ध अर्को छक्का प्रहार गर्ने क्रममा विवेक आयन खानबाट क्याचआउट भए । उनी आउट हुँदा दुई बलमा सात रन नै आवश्यक रह्यो । इनिङ्सको १९.५ ओभरमा अभिनाश बोहराले एक रन लिँदै स्ट्राइक करणलाई दिए । करण पनि लामो प्रहार गर्न सक्ने खेलाडी हुन् । अन्तिम बलमा नेपाललाई जितका लागि ६ रन र ओमानलाई एक विकेट आवश्यक रह्यो । विलालले अन्तिम बलमा करणलाई कलिमउल्लाहबाट क्याच गराउँदै ओमानलाई रोमाञ्चक जित दिलाए । १३ रनमा करण क्याचआउट भएसँगै खेलाडी र समर्थक निराश भए । नेपाललाई जितको आशा दिलाएका विवेकले २४ बलमा पाँच छक्काको सहयोगमा सर्वाधिक ३९ रन बनाए । 

चलेनन् भरपर्दा ब्याट्सम्यान
ओमानविरुद्धको महत्वपूर्ण खेलमा नेपालका विश्वासिला ब्याट्सम्यान चल्न सकेनन् । उनीहरूले अनावश्यक सट रोज्दा सस्तै रनमा आउट भए । नेपालको ब्याटिङमा कुनै पनि विकेटका लागि गतिलो साझेदारी भएन । गतिलो साझेदारी हुन नसक्दा नेपाल पराजित भएको मानिएको छ । ओपनर कुशल भुर्तेलले १८ बलमा तीन छक्का र एक चौका प्रहार गरी २६ रन जोडे । अर्का ओपनर आसिफ शेखले पाँच रन मात्र बनाए । मध्यक्रममा अवसर पाएका सोमपाल कामीले १२ रन, कुशल मल्लले १० रन, कप्तान रोहितकुमार पौडेलले १२ रन तथा सन्दीप जोराले १२ रन जोडे । जोरा आउट हुँदा नेपाल १४.५ ओभरमा ८२÷७ को दयनीय अवस्थामा थियो । ओमानका लागि विलालले ३० रनमा तीन विकेट लिए । सकिल अहमेद, महरान खान र अविव इयासले समान दुई विकेट लिएका थिए । 

ओमानको मध्यम योगफल 
करण केसीले सर्वाधिक तीन विकेट लिँदा पहिलो ब्याटिङ गरेको ओमानले मध्यम योगफल खडा गर्‍यो । करणले चार ओभरमा ४३ रन खर्चिए । सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई विकेट हात पारे । गुल्शन झा र अभिनाश बोहराले समान एक विकेट लिएका छन् । ओमानको इनिङ्समा कप्तान जिसन मक्सुदले सर्वाधिक ३२ रन बनाउन २६ बलमा एक चौका र तीन छक्का प्रहार गरे । मक्सुदलाई अभिनाश बोहराले विकेटकिपर आसिफ शेखबाट क्याच गराए ।

ओपनर प्रतीक अथाभाले १८ बलमा २४ रन जोडे । नसिम खुसीले २५ रन, आयन खानले १८ रनको योगदान गरे । ओमानविरुद्ध लामिछाने ह्याट्रिकबाट चुकेका थिए । उनले १३औँ ओभरमा लगातार बलमा विकेट लिएका थिए । १३.१ ओभरमा उनले आयन खानलाई बोल्ड गरे । १३.२ ओभरमा मेहरान खानलाई एलबिडब्लूमा गोल्डेन डकआउट पारे । १३.३ ओभरको ह्याट्रिक बलमा नसिमले चौका हानेका थिए । सन्दीपले अन्तर्राष्ट्रिय टी–२० करिअरमा ९४ विकेट पूरा गरेका छन् । 

घरमै बसेर खेल हेर्न क्यानको अनुरोध
मूलपानी क्रिकेट मैदानमा नेपाल र युएईबीचको सेमिफाइनल खेलका लागि आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले घरमै बसेर प्रत्यक्ष प्रसारण हेरेर सहयोग गर्न अनुरोध गरेको छ । मूलपानीमा सुविधा नाजुक अवस्थामा छ । दर्शक बस्ने प्यारापिट छैन । शौचालयको सुविधा छैन । क्यानले करिब पाँच सय अट्ने अस्थायी प्यारापिट बनाएको छ । घाँसे मैदानसमेत राम्रो नभएको भन्दै समर्थकले यसअघि नै विरोध गरेका थिए । क्यानले युएईसँगको खेलका लागि ३५ सय टिकट मात्रै वितरणमा राखेको छ । क्यानले अतिथिलाई पास वितरण नगरिएको जनाएको छ । ‘नेपाल र युएईबीचको सेमिफाइनल खेलको पास वितरण नगरिएको हुँदा घरमै बसेर खेल हेर्दै सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ,’ क्यानले विज्ञप्तिमा भनेको छ ।

सोमपालको ५० विकेट पूरा
तीव्र गतिका बलर सोमपाल कामीले अन्तर्राष्ट्रिय टी–२० मा ५० विकेटको कोसेढुंगा पूरा गरेका छन् । उनले ओमानविरुद्ध दुई विकेट लिँदै ५० विकेट पूरा गरेका हुन् । नेपालबाट यो सफलता प्राप्त गर्ने उनी चौथो खेलाडी हुन् । यसअघि सन्दीप, करण र अभिनाश बोहराले ५० विकेट पूरा गरेका थिए । ओमानविरुद्ध सोमपालले दुई ब्याट्सम्यानलाई बोल्ड गरेका थिए । उनले अकिव इल्यास र सोइब खानको विकेट लिएका थिए । 

तीव्र गतिका बलर सोमपाल कामीले अन्तर्राष्ट्रिय टी–२० मा ५० विकेटको कोसेढुंगा पूरा गरेका छन् । उनले ओमानविरुद्ध दुई विकेट लिँदै ५० विकेट पूरा गरेका हुन् । नेपालबाट यो सफलता प्राप्त गर्ने उनी चौथो खेलाडी हुन् । यसअघि सन्दीप, करण र अभिनाश बोहराले ५० विकेट पूरा गरेका थिए । ओमानविरुद्ध सोमपालले दुई ब्याट्सम्यानलाई बोल्ड गरेका थिए । उनले अकिव इल्यास र सोइब खानको विकेट लिएका थिए । 

सुझावित समाचार