संखुवासभाको खाँदबारी नगरपालिका– ३ मानेभञ्ज्याङमा आयोजना हुने आठौँ अरुणभ्याली आमन्त्रित फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।
एड्भान्स क्लब मानेभञ्ज्याङको आयोजनामा यही कात्तिक २० देखि २४ गतेसम्म आयोजना हुने आठौँ अरुणभ्याली फुटबल प्रतियोगितामा आमन्त्रित १२ वटा क्लबले सहभागिता जनाउनेछन्। प्रतियोगिता स्थानीय महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानमा आयोजना हुनेछ।
प्रतियोगितामा आयोजक क्लबसहित लोहोरुङ क्लब पांमा, खाँदबारी युथ क्लब खाँदबारी, तुम्लिङटार स्पोर्टिङ क्लब तुम्लिङटार, मिर्मिरे युवा क्लब तामाफोक, अरुण एड्भान्स क्लब काठमाडौं, सेकाहा सामुदायिक क्लब सेकाहा, शीतलपाटी फुटबल क्लब शीतलपाटी, कोशी प्रदेश प्रहरी टिम, तीनपोखरी समाज विकास क्लब खाँदबारी, पञ्चकन्या क्लब धर्मदेवी र सभापोखरी फुटबल क्लब सभापोखरीको सहभागिता रहने एड्भान्स क्लबका अध्यक्ष जिल्लामान राईले जानकारी दिए।
बर्सेनि दसैँ र तिहारको बीचमा क्लबले प्रतियोगिता सञ्चालन गर्दै आएको र त्यसैको निरन्तरतास्वरूप प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष राईको भनाइ छ। यो प्रतियोगिता जिल्लाकै प्रतिष्ठित प्रतियोगिता हो।
प्रतियोगिताको विजेताले नगद दुई लाख र उपविजेताले एक लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने अन्य प्रतियोगीहरूलाई सहभागिताको आधारमा व्यवस्थापन खर्च उपलब्ध गराउने आयोजकको भनाइ छ।
प्रतियोगितालाई व्यावसायिक बनाउन आयोजकले टिकट बिक्री गर्ने भएका छन् । जिल्लामा नै पहिलो फुटबल प्रतियोगिता टिकट काटेर हेर्ने व्यवस्था गर्न लागिएको हो। खेलमैदानपरिसरमा अस्थायी स्टेडियम निर्माण गर्ने र लागत सहभागीलाई मात्रै प्रवेश गराइने अध्यक्ष राईले बताए। प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको उनको भनाइ छ।
प्रतियोगिताको उद्घाटन र समापन कार्यक्रममा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने आयोजकले जनाएको छ।
हेर्नुहाेस् प्रतियोगिताको तालिका :
