आयोजक नेपाल र ओमान बिहीबार त्रिवि क्रिकेट मैदानमा एक–आपसमा प्रतिस्पर्धा गरिरहँदा एउटै लक्ष्य हुनेछ । दुवै टोली समूह ‘ए’को विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गर्न चाहन्छन् । समूह विजेता हुँदा समूह ‘बी’को उपविजेतासँग भिड्नुपर्ने हुन्छ । समूह ‘ए’को उपविजेताका रूपमा सेमिफाइनलमा खेलिरहँदा सम्भवतः उपाधि दाबेदार मानिएको युएईसँग खेल्नुपर्ने अवस्था आउन सक्छ । यस्तो समीकरण तयार हुँदा विश्वकप खेल्ने सपना बनाइरहेका नेपाल, ओमान र युएईमध्ये एक टोली सेमिफाइनलबाट बाहिरिनेछ ।
समूह ‘बी’भन्दा ‘ए’मा रहेका नेपाल र ओमानले जितबाहेक अन्य विकल्प नतिजा हेरेका छैनन् । प्रतियोगिताको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रूपमा आयोजना गर्ने आइसिसी टी–२० विश्वकपमा स्थान बनाउनेछन् । नेपाल सन् २०१४ पछि पुनः एकपटक विश्वकप खेल्ने नजिक पुगेको छ । नेपाल दोस्रोपटक आइसिसी टी–२० विश्वकप खेल्न दुई खेल टाढा छ ।
समूह ‘ए’मा नेपाल र ओमान अपराजित छन् । दुवै टोलीले सुरुवाती दुई खेल जित्दै समान चार अंक बटुलेका छन् । तर, रनरेटमा ओमान शीर्ष स्थानमा छ । नेपाल चार अंकका साथ दोस्रो स्थानमा छ । नेपालका कप्तान रोहितकुमार पौडेलले मलेसियालाई पराजित गरेपछि सेमिफाइनलमा समूह विजेताकै रूपमा प्रवेश गर्ने जनाएका थिए । यद्यपि, उपविजेता हुँदा पनि खासै फरक नपर्ने उनको धारणा थियो ।
‘हाम्रो लक्ष्य सबै खेल जितेर उपाधि जित्ने हो, यद्यपि सेमिफाइनलमा स्थान बनाए पनि समूह विजेताका रूपमा हामी अगाडि बढछौँ,’ उनले भनेका थिए, ‘हामीलाई सेमिफाइनलमा जोकोही टोली आए पनि फरक पर्दैन ।’ पछिल्लो समय उच्च लयमा रहेको नेपाल ओमानविरुद्ध जितका साथ अगाडि बढ्ने योजना छ । पछिल्ला पाँच खेलमा नेपाल एक खेलमा ओमानसँग पराजित भएको थियो । कप्तान पौडेलको कप्तानीमा नेपालले एक वर्षयता ब्याटिङ, बलिङ र फिल्डिङमा सानदार प्रदर्शन गरिरहेको छ ।
‘हाम्रो लक्ष्य विश्वकप हो । हामी हरेक खेल जित्दै अगाडि बढ्छौँ । कुनै पनि टोलीलाई कमजोर मान्दैनौँ,’ कप्तान रोहितले भनेका छन् । नेपालले पहिलो खेलमा सिंगापुरमाथि ८ विकेटको जित निकालेको थियो । पहिलो खेलमा सिंगापुरविरुद्ध ओपनर कुशल भुर्तेलले ४८ बलमा ७४ रनको योगदान दिएका थिए । सिंगापुरले ९ विकेट गुमाउँदै एक सय ४५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले १६.३ ओभरमा दुई विकेट गुमाउँदै जित हात पारेको थियो । दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटको जित हात पार्यो ।
मलेसियाले ९ विकेट गुमाउँदै नेपाललाई एक सय ६६ रनको लक्ष्य दिएको थियो । कुशल मल्लको ६५ रन सहयोगमा नेपालले १२ बलअघि जित निकालेको हो । नेपालको इनिङ्समा कुशलले सात छक्का र दुई चौका प्रहार गरे । ओपनर कुशल भुर्तेलले ४३ रनको योगदान गरे । बलिङतर्फ अभिनाश बोहराले चार
विकेट लिए ।
हेड टु हेडमा नेपाल बलियो
टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाल र ओमानबीच अहिलेसम्म चारपटक प्रतिस्पर्धा भएको छ । जसमा नेपालले पछिल्ला तीन खेलमा जित हात पारेको छ । ओमानको पक्षमा एक खेल छ । नेपालले गत वर्ष भएको विश्वकप छनोटका दुवै खेलमा ओमानलाई हराएको थियो । पछिल्लो भेटमा नेपालले ९ विकेटको जित निकालेको हो । ओमानले दिएको ८९ रनको लक्ष्य नेपालले १६.२ ओभरमा पूरा गरेको हो । २२ बलअघि जित निकाल्ने क्रममा कुशल भुर्तेलले अर्धशतकीय इनिङ्स खेलेका थिए ।
सन्दीप लामिछानेले चार ओभरमा मात्र १३ रन खर्चेर तीन विकेट लिएका थिए । त्यो खेल खेलका सन्दीप र भुर्तेलसँगै आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, अभिनाश बोहरा, विवेक यादव अहिले टोलीमा छन् । फेब्रुअरीमै भएको पहिलो खेलमा ओमान ३९ रनले पराजित भएको थियो । फेब्रुअरीमै भएको खेलमा नेपाल ६ विकेटले जित निकाल्न सफल भयो । सन् २०१९ मा भएको पहिलो भेटमा भने ओमान ६ विकेटले जित निकाल्न सफल भएको हो ।
मलेसियाले सिंगापुरसँग खेल्दै
समूह ‘ए’मा जितविहीन मलेसिया र सिंगापुरबीच प्रतिस्पर्धा हुँदै छ । दुवै टोली समूह चरणबाटै बाहिरिएका छन् । समूह ‘बी’बाट युएईको सेमिफाइनल सम्भावना बलियो छ । युएईसँगै बहराइन र हङकङमध्ये दुई टोलीले अन्तिम चार स्थान तय गर्नेछन् । युएईको चार तथा बहराइन र हङकङको समान दुई अंक छ । अंकविहीन कुवेत पुछारमा छ । समूह ‘बी’मा युएई र हङकङबीच खेल हुनेछ । बहराइनले कुवेतको सामना गर्दै छ ।
पुरस्कार दिने होडबाजी
आइसिसी टी–२० विश्वकप एसियन छनोटमा नेपाली टोलीलाई पुरस्कार दिने होडबाजी चलिरहेको छ । नेपाल विश्वकपमा पुग्दा नोबेल मेडिकलले प्रोत्साहनस्वरूप १५ लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको छ । कलेजले बुधबार विज्ञप्ति जारी गर्दै विश्वकप छनोट भए अफिसियलसहितको नेपाली टोलीलाई एकमुष्ट १५ लाख दिने घोषणा गरेको हो । यसैगरी, विश्वकप छनोटमा शतक प्रहार गर्ने खेलाडीलाई डिसहोमले १० लाख रुपैयाँ दिने भएको छ । यसअघि, अर्ना बियरले नेपाली खेलाडीलाई आकर्षक पुरस्कारको घोषणा गरेको थियो ।
डिसहोमको डिस फाइबरनेटले एकै खेलमा शतक र ५ विकेट लिने खेलाडीलाई २० लाख रुपैयाँ दिने जनाएको छ । एकै खेलमा ५ विकेट लिएमा ५ लाख, अर्धशतक बनाएमा १ लाख, कम्तीमा ३ विकेट लिएमा १ लाख, कम्तीमा ३५ रन बनाएमा ५० हजार र कम्तीमा ३ क्याच वा स्टम्पिङका लागि ५० हजार रुपैयाँ दिने डिएच फाइबरनेटले जनाएको छ ।