भाग्य कि पुरुषार्थ ?

बिहिबार, १६ कार्तिक, २०८०
डिजिटल संस्करण

धेरै समयअघिको कुरा हो । एउटा जंगलमा चल्तीको गुरुकुल थियो । जहाँ थुप्रै बालक पढ्न आउथे । एकदिन गुरुले सबै विद्यार्थीलाई एकैठाउँ राखेर पढाइरहेका थिए । तर, एउटा विधार्थीले भने बारम्बार बुझाउँदा पनि पाठलाई बुझ्न सकिरहेको थिएन । उसको बोधोपनबाट दिक्क भएर गुरुलाई ती विद्यार्थीसँग एकदमै रिस उठ्छ । उनले उक्त विद्यार्थीलाई तिम्रो हात देखाऊ त भन्छन् । विद्यार्थीले आफ्नो हत्केला गुरुको अगाडि फैलाइदिन्छ । उसको हातका रेखा हेरेर गुरु उसलाई बाबु तिमीले पढेर खान सक्दैनौ, तिम्रो भाग्यमा विद्या छैन, तिमी घर जाऊ भन्छन् ।

उक्त विद्यार्थीले गुरुलाई किन र गुरुजी भनेर सोध्छ । गुरुले एउटा पढैया विद्यार्थीको हत्केला देखाउँदै तिम्रो हातमा उसकोजस्तो विद्याको रेखा नै छैन, त्यसैले तिमीले पढ्ने दुःख नगरेकै जाती, तिमी घर गए हुन्छ भन्छन् । 

यो कुरा सुनेर उक्त विद्यार्थीले खल्तीबाट एउटा धारिलो चक्कु निकाल्छ, जुन उसले हरेक दिन दतिवन काट्न प्रयोग गथ्र्याे । उसले आफ्नो हातमा चक्कुले चिरेर एउटा गहिरो रेखा बनाउँछ र गुरुलाई देखाउँदै भन्छ, गुरुजी हेर्नुस् त मैले आफ्नो हातमा विद्याको रेखा बनाएँ । 

यो देखेर गुरु भावविह्ल हुन्छन् र बाबु तिमीलाई विद्या आर्जन गर्न कुनै ताकतले रोक्न सक्दैन । दृढ निश्चय र परिश्रमले भाग्यका रेखा बदलिदिन्छ भन्छन् । ती विद्यार्थी पछि महर्षि पाणिनिका नामले सुप्रसिद्ध भए । उनले विश्वप्रसिद्ध व्याकरण अष्टाध्यायीको रचना गरे । भनिन्छ, अहिलेसम्म विश्वका कुनै पनि भाषामा यतिको उत्कृष्ट र पूर्ण ग्रन्थ अहिलेसम्म लेखिएको छैन । हामीले चाह्यौँ भने लगन, दृढ निश्चय र कठिन परिश्रमको बलमा कुनै पनि कुरा हासिल गर्न सकिन्छ । पुरुषार्थी व्यक्ति कहिल्यै भाग्यको भरोसामा चल्दैन । यस्तो व्यक्तिको मार्ग लगन र परिश्रमले तय हुन्छ ।

सुझावित समाचार