चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल स्टक एक्सचेन्जको ओभर द काउन्टर (ओटिसी) बजारबाट एक अर्ब ७१ करोड ६ लाख ६८ हजार रुपैयाँको कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार २९ वटा कम्पनीको एक करोड ३६ लाख ७२ हजार कित्ता सेयर किनबेच भएको हो । कम्पनीको न्यूनतम एक सय रुपैयाँदेखि उच्चतम नौ हजार तीन सय ७५ रुपैयाँसम्म सेयर किनबेच भएको छ । वर्डलिंक कम्युनिकेसनको सर्वाधिक उच्च मूल्यमा सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ ।
त्यसैगरी, कम मूल्यमा सेयर किनबेच हुने कम्पनीमा हिम रिभर पावर, मुक्तिनाथ कृषि कम्पनी, एभरेस्ट हस्पिटालिटी होटेल, याम्बालिङ हाइड्रोपावर, गर्जन उपत्यका पावर, एपोलो हाइड्रोपावर, इलेक्ट्रोपावर, सोपन मल्टिपल क्याम्पस, अवसर इक्विटी, इलेक्ट्रो पावर कम्पनी, क्यान्डेश्वरी महादेवखोला पावर लिमिटेड, हिम रिभर पावर, गरिमा क्यापिटल रहेका छन् ।
गत आर्थिक वर्ष ०७९/८० मा ओटिसी मार्केटमा दुई अर्ब ८५ करोड ८४ लाख १९ हजार सात सय ८६ रुपैयाँको सेयर कारोबार भएको थियो । त्यस अवधिमा ८४ कम्पनीको ओटिसी मार्केटमा दुई करोड १२ लाख ६४ हजार ९५ कित्ता सेयरको कारोबार भएको थियो । प्रतिकित्ता न्यूनतम ८६ रुपैयाँदेखि अधिकतम ११ सय २५ रुपैयाँको समेत कारोबार भएको थियो ।
काठमाडौं फरेस्ट्री कलेजको दुई सय ८० कित्ता सेयर प्रतिकित्ता ११ सय २५ रुपैयाँका दरले कारोबार भएको थियो । ओटिसीमार्फत नै नेप्सेको पनि प्रतिकित्ता ६ सय ६७ दशमलव ५२ रुपैयाँका दरले पाँच लाख नौ हजार तीन सय ४२ कित्ता सेयर किनबेच भएको थियो ।
यस्तै, सुन्धारा सेक्युरिटिजको एक लाख १४ हजार दुई सय कित्ता सेयर दुई सय ७० रुपैयाँका दरले किनबेच भएको थियो । प्रभु क्यापिटलको एक सय १४ रुपैयाँका दरले दुई लाख ६ हजार एक सय ६५ कित्ता र एक सय १२ रुपैयाँका दरले एक लाख ४३ हजार एक सय ७५ कित्ता सेयर किनबेच भएको थियो । हालसम्म ओटिसी मार्केटमा दुई सय ६ वटा कम्पनी दर्ता भएका छन् ।
नेपाल स्टक एक्सचेन्जले ओटिसी बजारको सुरुवात ०६४ सालमा गरेको हो । ओटिसी बजारमा कम्पनीको सूचीकरण नभएका, खारेज भएका कम्पनी र सूचीकरणका लागि आवश्यक सर्तहरू पूरा हुन नसकेका पब्लिक कम्पनीहरूको सेयर ओटिसी बजारबाट कारोबार हुँदै आएको छ ।