बानेश्वरपछि लैनचौरमा बन्दैै छ सडक इन्टरसेक्सन

बुधबार, १५ कार्तिक, २०८०
डिजिटल संस्करण

नयाँ बानेश्वर चोकमा हुने सवारी जाम कम गर्न बनाइएको इन्टरसेक्सनअन्तर्गत ‘होल्डिङ जोन’ निर्माण अन्तिम चरणमा पुगेको छ । होल्डिङ जोनको केही प्राविधिक काम बाँकी रहे पनि सञ्चालनमा भने आइसकेको छ । सडक विभागका अनुसार केही सामान्य कामबाहेक अन्य काम सम्पन्न भइसकेको छ ।

सडक विभागका प्रवक्ता रामहरि पोखरेलका अनुसार मेन लेनमा गुड्ने सवारीसाधनलाई डिस्टर्ब नहोस् भनेर इन्टरसेक्सन सुधार गरिएको हो । यसले पिक आवरमा देखिने जाम विशेष सुधार हुनेछ । माइतीघर–तिनकुने सडकखण्डमा चल्ने सवारीसाधन पुरानो बानेश्वर र शंखमूलतर्फ जाँदा जाम नहोस् भनेर राइट टर्निङ होल्डिङ जोन निर्माण गरिएको हो । 

इन्टरसेक्सन सुधारका लागि जापान अन्तर्राष्ट्रिय सहयोग निकाय (जाइका)ले प्राविधिक सहयोग गरेको हो सडक विभागले समन्वय गरेको छ । पोखरेलका अनुसार यो जापानी शैलीको सडक व्यवस्थापन हो । जुलाइबाट सुरु भएको इन्टरसेक्सन सुधार सेप्टेम्बरमा सकिने भनिए पनि नयाँ प्रणाली भएकाले केही ढिलो भएको विभागले जनाएको छ । इन्टरसेक्सन सुधारका लागि भन्दै विभागले नयाँ बानेश्वर क्षेत्रमा हुर्किसकेका बिरुवा काट्न अनुमति दिएको थियो । 

लैनचौरको इन्टरसेक्सन यसै वर्ष सुरु हुने 
बानेश्वर चोकको सुधार सकिएपछि जाइकाले नै लैनचौरमा पनि इन्टरसेक्सन सुधार गर्ने भएको छ । बानेश्वरमा देखिएको कमी–कमजोरीलाई सुधार गर्दै लैनचौरमा इन्टरसेक्सन सुधार हुने भएको हो । इन्टरसेक्सन सुधार चालू आर्थिक वर्षमै सुरु हुने विभागले जनाएको छ । 

इन्टरसेक्सन सुधारसँगै यी क्षेत्रमा देखिने जाम कम हुने विभागको दाबी छ । ट्राफिक प्रहरी भने बानेश्वरको जाम कमी हुने–नहुने अहिले नै भन्न नसक्ने बताउँछ । ट्राफिक प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद भट्टका अनुसार दसैँपछि फुलफेजमा सवारी आवागमन नभइसकेकाले अहिले नै जाम घटाउने कुरा भन्न नसक्ने बताउँछन् ।

See More On

सुझावित समाचार