राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०८० संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाबाट पारित भएको छ । ३ चैतमा राष्ट्रिय सभामा उत्पत्ति भएको विधेयक सात महिनापछि मंगलबार संशोधनसहित पारित भएको हो । मंगलबार साँझ बसेको राष्ट्रिय सभाको बैठकले विधायन व्यवस्थापन समितिबाट दफावार छलफल भई संशोधन प्रतिवेदनसहित आएको विधेयकलाई सर्वसम्मत पारित गरेको संसद् सचिवालयले जनाएको छ ।
माथिल्लो सदनबाट पारित विधेयकमा विशिष्ट (भिआइपी) र अतिविशिष्ट व्यक्ति (भिभिआइपी)को मर्यादाक्रममा हेरफेर गरिएको छ । राष्ट्रिय झन्डा र राष्ट्रिय गानको प्रयोगसम्बन्धी व्यवस्था पनि विधेयकमा छ । विधेयकको प्रस्तावनामा लेखिएको छ, ‘सरकारी एवं सार्वजनिक पदाधिकारी र राष्ट्रिय जीवनमा योगदान गरेका विशिष्ट व्यक्तिहरूको मर्यादाक्रम निर्धारण गर्न, अति विशिष्ट तथा विशिष्ट व्यक्तिहरूलाई गरिने सम्बोधन निर्धारण गर्न तथा राष्ट्रिय झन्डा र राष्ट्रिय गानको प्रयोगका साथै अति विशिष्ट, विशिष्ट व्यक्तिलाई सम्मान प्रकट गर्ने तथा सलामी दिने जस्ता राष्ट्रिय मर्यादाका विषयलाई व्यवस्थित र मर्यादित बनाउने ।’
सरकार र सर्वदलीय सहमतिका आधारमा ३ चैत ०७९ मा राष्ट्रिय सभा सदस्यहरू गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, देवेन्द्र दाहाल, प्रकाश पन्थ, प्रमिलाकुमारी, बेदुराम भुसाल, रमेशजंग रायमाझी र शेखरकुमार सिंहले राष्ट्रिय मर्यादासम्बन्धी गैरसरकारी विधेयक दर्ता गरेका थिए । राष्ट्रियसभाले १२ चैतमा दफाबार छलफलका लागि विधेयक विधायन समितिमा पठाएको थियो । दफावार छलफल सकेर संशोधनसहित समितिले सोमबार विधेयक पारित गरेको थियो ।
मंगलबार बसेको राष्ट्रियसभाको पहिलो बैठकमा समिति सभापति जयन्ती राईले समितिको प्रतिवेदनसहित विधेयक पेस गरेकी थिइन् । दोस्रो बैठकमा विधेयकमाथि छलफलपछि राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले पारित गरियोस् भनी प्रस्ताव गरेका थिए । जसमा सभाले सर्वसम्मत रुपमा विधेयक पारित गरेको हो । छलफलका क्रममा सांसदहरूले राष्ट्रिय मर्यादासम्बन्धी अन्योलता हटाउने बताएका थिए । विधेयक सर्वसम्मत पारित भएसँगै अब सन्देशसहित प्रतिनिधिसभामा पठाइनेछ । प्रतिनिधिसभाले पारित गरेपछि ऐनका रूपमा कार्यान्वयनमा आउनेछ ।