‘दिगो विकासको आधार’ भन्ने नारासहित अन्तर्राष्ट्रिय जलविद्युत् सम्मेलन इन्डोनेसियामा सुरु भएको छ । इन्डोनेसियाको राजधानी बालीमा १४ कात्तिकदेखि १६ गतेसम्म आयोजना हुने सम्मेलनमा नेपालसहित विश्वभरका ऊर्जा उत्पादकहरूको सहभागिता रहेको छ ।
सम्मेलनमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानको प्रतिनिधित्व गर्दै इप्पान उपाध्यक्ष आनन्द चौधरी, सचिव कविता पोखरेल र व्यवस्थापक सुम्निमा उपाध्याय सहभागी छन् । त्यस्तै, इप्पानका सल्लाहकारद्वय भानु पोखरेल र सुशील पोखरेल पनि जलविद्युत् सम्मेलनमा सहभागी छन् ।
उक्त सम्मेलनमा इप्पानबाहेक ऊर्जा मन्त्रालयबाट सहसचिव नवीनराज सिंह, नेपाल विद्युत् प्राधिकरणका निर्देशक प्रबल अधिकारी र जलविद्युत् लगानी तथा विकास कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्जुन गौतमलगायतको पनि सहभागिता रहेको छ ।
कार्यक्रमको उद्घाटन सत्रमा आइएचएका अध्यक्ष तथा अस्ट्रेलियाका पूर्वराष्ट्रपति माल्कोल्म टर्नबुल र इन्डोनेसियाका ऊर्जा तथा खनिजमन्त्री अरिफिन तस्रिफलगायतले मन्तव्य राखेका थिए । कार्यक्रमका वक्ताहरूले सन् २०५० सम्म जलविद्युत् उत्पादनलाई दोब्बर बनाइने बताएका छन् । वक्ताहरूले ग्लोबल वार्मिङ रियालिटी भएको भन्दै फोसेल फ्युलको खपत घटाउनुपर्नेमा पनि जोड दिएका छन् ।