कुरा धेरै पहिलेको हो । एउटा गाउँमा एकजना मूर्तिकार बस्थे । उनी यस्तो मूर्ति बनाउँथे कि उसले बनाएको मूर्ति हेरेर मानिसहरू मूर्तिलाई जीवितै हो कि भन्ने ठान्थे । आसपासका सबै गाउँमा उनको प्रसिद्धि फैलिएको थियो । यसकारण, उक्त मूर्तिकारलाई आफ्नो कलाप्रति निकै घमन्ड थियो । तर, जीवनमा एकपटक यस्तो समय आयो, उनलाई लाग्यो अब म छिटै मर्दै छु । आफ्नो छिटै मृत्यु हुँदै छ भन्ने लागेपछि उनी निकै चिन्तित भए । यमदूतलाई छक्याउन भनेर उनले एउटा योजना बनाए । उनले ठ्याक्कै आफूजस्तै देखिने १० थान मूर्ति बनाए र आफू पनि ती मूर्तिको माझमा गएर बसे ।
जब यमदूत उनलाई लिन आए, एउटै अनुहार र रूपरंगका ११ आकृति देखेर छक्क परे । ती मूर्तिमा असली मनुष्य को हो भनेर उनले चिन्न सकेनन् । उनी अब के गर्ने भनेर सोचविचार गर्नतर्फ लागे । यदि समयमा मूर्तिकारको प्राण हरण गर्न सकिएन भने सृष्टिको नियम तोडिने र असली मनुष्य को हो भनेर परख गर्न मूर्ति तोड्दा कलाको अपमान हुने । उनी असमञ्जसमा परे । अचानक उनलाई मानव स्वभावको सबैभन्दा ठूलो दुर्गुण ‘अहंकार’बारे सम्झना आयो । उनले मूर्तिहरूतर्फ हेरेर भने, ‘कति सुन्दर मूर्तिहरू बनेका रहेछन्, तर मूर्तिमा एउटा त्रुटि रहेछ । यदि मूर्तिकार मेरो अगाडि हुन्थ्यो भने उसको गल्ती बताइदिन्थेँ ।’
यो कुरा सुनेर मूर्तिकारको अहंकारले फँडा उठायो । उनले सोचे, मैले आफ्नो पूरै जीवन मूर्ति बनाउनमा समर्पित गरेँ, मेरो मूर्तिमा के गल्ती हुन सक्छ र ? आफ्नो त्रुटि नै हुन नसक्ने अहंकारले उनी एकाएक ‘कस्तो त्रुटि’ भनेर बोले । यमदूतले तुरुन्तै उनलाई समाते र भने, ‘तिम्रो गल्ती के भने बेजान मूर्ति बोल्दैन, तर अहंकारले गर्दा तिमी बोल्यौ । यही गल्ती गर्यौ ।’ यस कथाको अर्थ के हो भने अहंकारले मानिसलाई हमेसा दुःखमा पार्छ, समस्यासिवाय केही दिँदैन ।