आइसिसी टी–२० विश्वकप एसियन छनोटमा मंगलबार समूह ‘ए’मा मलेसियाले नेपाललाई एक सय ६६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ रोजेको मलेसियाले २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ६५ रन बनाएको थियो । मलेसियाको ब्याटिङमा ओपनर सइद अजिजले आक्रामक खेल्दै ४९ बलमा आठ चौका र दुई छक्काको सहयोगमा ६८ रनको योगदान दिएका थिए । अर्को ओपनर जुवैदी जुल्किफेले १६ बलमा २४ रन बटुले ।
मलेसियाका ओपनरद्वयले पावर प्लेमा उत्कृष्ट ब्याटिङ गरेका थिए । नेपालले पहिलो विकेट हात पार्दा मलेसियाले ५.५ ओभरमा ५८ रन जोडेको थियो । इनिङ्सको १०.१ ओभरमा वीरन्दीप सिंह आउट हुँदा मलेसियाले स्कोर बोर्डमा ८५ रन जोडेको थियो ।
नेपाली बलरले पहिलो १० ओभरमा विकेट लिन संघर्ष गरेका थिए । स्पिनर र मध्यक्रमका बलरले बलिङ सम्हालेपछि मलेसियाका ब्याट्सम्यानमा दबाबमा आएका थिए । मलेसिया इनिङ्सको एक समय ११४–४ को अवस्थामा थियो । त्यसवेला १३.६ ओभर चलिरहेको थियो ।
त्यसपछि १७.२ ओभरमा मलेसिया १४१–७ को कमजोर अवस्थामा पुग्यो । विजय उनीले १३ बलमा १३ रन, उर्दुसले पाँच बलमा सात रन र सामले तीन बलमा ६ रन जोडेपछि मलेसियाले नेपाललाई एक सय ६६ रनको लक्ष्य दिन सफल भयो । नेपालले मलेसियाविरुद्ध खेलको मध्यसमयमा बलिङ र फिल्डिङमा राम्रो प्रदर्शन गरेको थियो ।
नेपालको बलिङमा अभिनाश बोहोराले सर्वाधिक चार विकेट लिए । उनले चार ओभरमा २७ रन खर्चेका थिए । सन्दीप लामिछानेले एक विकेट लिन २२ रन दिए । यसैगरी, गुल्सन झाले १८ रन दिँदै एक विकेट र रोहितकुमार पौडेलले पनि १८ रन खर्चँदै एक विकेट आफ्नो नाममा लेखाए ।