सन् २०१३ को शरद ऋतुमा चीनले दुई सहस्राब्दी पुरानो सिल्क रोडको भावनालाई पुनर्जीवित गरी धेरैको कल्पनालाई साकार पार्ने गरी बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) प्रस्ताव ल्यायो ।दश वर्षमा चीनको यो पहलकदमी सहभागी सबै राष्ट्रको सहयोगी प्रयासमार्फत परिकल्पनाबाट वास्तविकतामा विकसित हुँदै गएको छ । व्यापक रूपमा प्रशंसित सार्वजनिक वस्तु तथा समावेशी समृद्धिको विश्वव्यापी चालक बन्न पुगेको छ ।
गत केही दशकयता विश्व अर्थतन्त्रले असमावेशिता, असन्तुलन र बढ्दो आर्थिक असमानताको सामना गरिरहेको छ । एकातर्फ, केही देश र क्षेत्रले आर्थिक तथा सामाजिक रूपमा उल्लेखनीय फड्को मारेका छन् भने अर्कातर्फ, विश्वका बाँकी भागले निरन्तर गरिबी, असमानता र विकासका अवरोधहरूको सामना गरेका छन् ।बिआरआईले एक दशकअघिबाट समावेशी वृद्धिमा दृढतापूर्वक ध्यान केन्द्रित गर्दै विश्वलाई यी चुनौतीको सम्बोधन गर्न चिनियाँ प्रज्ञाले युक्त समयसापेक्ष र व्यावहारिक समाधान प्रदान गर्यो ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले सम्पूर्ण मानव जातिको भलाइको यो बाटोमा कुनै पनि देश वा राष्ट्र छुट्नुहुँदैन भनेका छन् । सम्पूर्ण देश र राष्ट्र विकासका अवसर र विकासको अधिकारमा समान रूपमा हकदार छन् । खासमा के हो त यो इनिसियटिभ (पहलकदमी) ? यसलाई सबैका लागि खुला लोकमार्गका रूपमा लिन सकिन्छ, कुनै एउटा पक्षको स्वामित्वको निजी मार्ग होइन । सबै इच्छुक देशलाई यसको लाभ लिन र साझेदारीका लागि स्वागत गरेको छ । राष्ट्रपति सीले भनेजस्तै बिआरआई चीनको विचार हुन सक्छ, तर यसको अवसर र परिणामले विश्वलाई नै लाभान्वित गर्नेछ । सन् २०२३ को जुनसम्म चीनले १५० भन्दा बढी देश र पाँचै महाद्वीपका ३० भन्दा धेरै अन्तर्राष्ट्रिय संगठनसहित २०० भन्दा बढी बिआरआई सहयोग सम्झौता गरिसकेको छ ।
‘विश्वलाई विभाजित तुल्याउने निश्चित देशहरूको एउटा समूहको संकीर्ण हितरक्षाको विपरीत बहुपक्षीयतालाई बढावा दिने चीनको बीआरआई पहलकदमीले सामञ्जस्यपूर्ण विश्व सिर्जना गर्न मद्दत गर्छ,’ युरोपेली विश्वविद्यालय साइप्रसका पूर्वरेक्टर कोस्टास गौलियामोसले एकपटक तर्क गरेका थिए । बिआरआईले विश्व अर्थतन्त्रमा धेरैभन्दा धेरै देशको हिस्सेदारी बढाएको छ ।
चरम गरिबीविरुद्धको ऐतिहासिक लडाइँ जितेको चीनले बिआरआईका साझेदार देशहरूमा कृषिमा सहकार्य, विज्ञता र प्रविधि हस्तान्तरणमार्फत गरिबी न्यूनीकरणका प्रयासलाई सुदृढ बनाएको छ ।
सन् २०१३ देखि २०२२ सम्मको चीन र बिआरआई साझेदार देशबीचको आयात तथा निर्यातको समग्र राशी १९१ खर्ब डलरको थियो (औसत वार्षिक वृद्धिदर ६.४ प्रतिशतसहित) । यसबाहेक बिआरआईले समतामूलक विकासलाई मूर्तरूप दिन्छ । गरिबीमाथि विजय हासिल गर्न र विकासको युगमा प्रवेश गर्न सहभागी देशलाई सहयोगको प्रयास गर्छ ।गत एक दशकलाई फर्केर हेर्दा बिआरआईले अत्यावश्यक रेलमार्ग, राजमार्ग, पाइपलाइन, ढुवानी, ऊर्जा र सञ्चारका पूर्वाधार निर्माण गरिदिएर अधिकांश विकासोन्मुख देशका कनेक्टिभिटी र आर्थिक वृद्धिका ठूला अवरोधलाई सम्बोधन गरेको छ ।
भूपरिवेष्ठित लाओसलाई ‘ल्यान्डलिंक्ड हब’मा रूपान्तरण गर्ने चीन–लाओस रेलवेदेखि अफ्रिकी राष्ट्र केन्याको आर्थिक वृद्धिमा दुई प्रतिशत योगदान दिएको मोम्बासा–नैरोबी रेलमार्गसम्मका उल्लेखनीय प्रभावकारी परियोजनाले विभिन्न देशका अन्तर्राष्ट्रिय व्यापारको लागतलाई प्रभावकारी रूपमा घटाएका छन् । विश्व अर्थतन्त्रमा पहुँच वृद्धि गराउनुका साथै विकासलाई प्रोत्साहित गरेका छन् ।
आर्थिक वृद्धि, विकास र समृद्धिको अन्तिम लक्ष्य भनेको मानिसको जीवनस्तर उकास्नु नै हो । सहकार्यका फाइदा सकेसम्म व्यापक रूपमा उपलब्ध हुने कुराको सुनिश्चितता गर्न बेल्ट एन्ड रोड इनिसियटिभ खाद्य सुरक्षा, गरिबी निवारण र रोजगारी सिर्जनामा केन्द्रित छ ।
चरम गरिबीविरुद्धको ऐतिहासिक लडाइँ जितेको चीनले बिआरआईका साझेदार देशहरूमा कृषिमा सहकार्य, विज्ञता र प्रविधि हस्तान्तरणमार्फत गरिबी न्यूनीकरणका प्रयासलाई सुदृढ बनाएको छ ।यसबाहेक, बेल्ट एन्ड रोड सहयोगमार्फत औद्योगिक सहकार्य र रोजगारी सिर्जनाले स्थानीय रोजगारीमा सुधार ल्याउँछ र गरिबी घटाउँछ । म्याकिन्से सर्वेक्षणको एउटा तथ्यांकले चिनियाँ कम्पनीले अफ्रिकामा आफ्ना ८९ प्रतिशत कर्मचारी स्थानीयस्तरबाट भर्ती गरेको खुलासा गरेको छ ।
‘यदि बिआरआई नभएको भए मेरा सपना असान्दर्भिक हुने थिए । म यो कुरा स्वीकार गर्छु । यसले साँच्चै मेरो करिअरको ढोका खोलिदिएको छ,’ हाल केन्यामा सडक र बाँध परियोजनाको निर्माण गर्ने चाइना इनर्जी इन्टरनेसनल ग्रुपमातहतको गुआङ्सी हाइड्रोइलेक्ट्रिक कन्स्ट्रक्सन ब्युरोमा अनुवादकको रूपमा काम गर्ने मिरियम गाकी किरिमी नामकी एक युवतीले सिह्न्वालाई भनिन् ।
बिआरआईका ‘व्यापक परामर्श, संयुक्त योगदान र लाभमा साझेदारी’का मूलभूत सिद्धान्तहरूले संयुक्त राष्ट्रसंघ र चीन–अफ्रिका सहयोग फोरमजस्ता अन्तर्राष्ट्रिय निकाय तथा संगठनका महत्वपूर्ण दस्ताबेजमा सन्दर्भसहित विश्वव्यापी मान्यता प्राप्त गरेका छन् ।
२१औँ शताब्दीको एउटा दीर्घकालीन, अन्तरदेशीय र सुव्यवस्थित विश्वव्यापी परियोजनाको रूपमा बिआरआईले लामो यात्रामा आफ्नो पहिलो पाइला टेक्न सफल भएको छ । यो नयाँ सुरुवात बिन्दुबाट अघि बढेर बिआरआईले थप रचनात्मकता र जीवन्तता प्रदर्शन गर्नेछ । थप खुला र समावेशी बन्नेछ अनि चीन र बाँकी विश्वका लागि नयाँ अवसर सिर्जना गर्नेछ ।