कैलालीका पर्यटकीय क्षेत्रमा बढे पर्यटक

मंगलबार, १४ कार्तिक, २०८०
डिजिटल संस्करण
कैलालीका पर्यटकीय क्षेत्रमा बढे पर्यटक

कर्णालीमा डुंगामा सयर गर्दै आन्तरिक पर्यटक

चाडबाडका वेलामा हुने बिदालाई सदुपयोग गर्दै कैलालीका पर्यटकीय गन्तव्यहरूमा आन्तरिक पर्यटक बढेका छन् । कैलालीको चिसापानी, टीकापुर पार्क, विश्व रामसार सूचीमा सूचीकृत घोडाघोडी ताल, प्रसिद्ध धार्मिक स्थल गोदावरी धाम, बेहडाबाबा मन्दिर, खानीडाँडा, जाखोरताललगायत पर्यटकीय गन्तव्यहरूमा आन्तरिक पर्यटक वढेका हुन् । 

चिसापानी घुम्न अहिले दैनिक तीन–चार सय पर्यटक पुग्ने गरेका छन् । दसैँको बिदाको समयमा यहाँ पर्यटकको थामी नसक्नु भिड थियो । दुईतिर अग्ला पहाडका बीचमा बग्दै गरेको नीलो कर्णाली नदी र त्यसमाथि एउटै पिल्लरमा अडिएको पुल पर्यटकको आकर्षणका केन्द्र बनेका छन् । कर्णाली पुलमा फोटो खिच्ने, टिकटक बनाउनेको भिड लाग्ने गरेको छ । स्थानीय व्यवसायीहरूका अनुसार दसैँको बिदाका वेला दिनमा हजारभन्दा बढी पर्यटक चिसापानी पुगेका थिए । ‘पुलमा फोटो खिच्ने, टिकटक बनाउँदै रमाउनेको भिड हुन्छ’ चिसापानी बजारमा रहेको लुक होटेलका सञ्चालक शशी लिगलले भने, ‘पर्यटकको घुइँचो लागेपछि पहिलेको भन्दा व्यापार पनि निकै बढेको छ ।’  

तामाङ, गुरुङ, थारूलगायत विभिन्न जातजातिका परम्परागत पोसाक र पहिरन लगाएर कर्णाली पुलमा फोटो खिच्नेको भिड देखिन्छ । पर्यटकलाई केन्द्रित गरेर स्थानीय व्यवसायीले विभिन्न जातजातिका पोसाक र पहिरन भाडामा उपलब्ध गराउने गरेका छन् । चिसापानी पुग्ने पर्यटक पुलमा रमाउनेसँगै कर्णाली नदीमा र्याफ्टिङ र बोटिङ गरेर आनन्द लिन सक्ने सुविधा छ ।

दैनिक ४०–५० जनाले नदीमा बोटिङ गर्ने गरेको कर्णाली र्याफ्टिङ एन्ड एडभेन्चर प्रालिका सञ्चालक देवराज जैसीले बताए । चिसापानी पुग्ने पर्यटकको संख्याको तुलनामा र्याफ्टिङ र बोटिङ गर्ने कम भए पनि घुम्न आउने पर्यटक भने बढेको उनको भनाइ छ । चिसापानीमा जीपलाइनको सुविधा पनि छ । चिसापानीमा कैलाली, कञ्चनपुरलगायत सुदूरपश्चिमका विभिन्न जिल्लासँगै लुम्बिनी प्रदेशका बाँके, बर्दिया तथा सीमावर्ती भारतीय क्षेत्रका पर्यटक पुग्ने गरेका छन् ।

त्यस्तै, टीकापुर पार्कमा पनि पर्यटक बढेका छन् । टीकापुर पार्कका इन्चार्ज अर्जुन कुँवरका अनुसार अरूवेलाको तुलनामा हिजोआज पार्क घुम्न आउनेको संख्या दोब्बरले बढेको छ । उनले भने, ‘अहिले कुनै दिन दुई हजार पनि पुग्छन् ।’ घुम्न आउनेहरू साथीभाइसँग वा परिवारसहित घुम्न आउने गरेको उनले बताए । टीकापुर र आसपासका गाउँबाट दसैँका वेला घर फर्केकाहरू पनि परिवारसहित टीकापुर पार्क घुम्न आउने गरेको कुँवरको भनाइ छ ।

 राजा महेन्द्रका पालामा बनेको यो पार्क देशकै ठूलो पार्क पनि हो । टीकापुर पार्कमा राजा महेन्द्र बसेको आवास पनि छ । यहाँ तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यसहित राजपरिवारका सदस्य पनि विभिन्न समयमा आएर बसेका थिए । शान्त र रमणीय वातावरण, मौसमी–बेमौसमी फूलहरू टीकापुर पार्कका आकर्षण हुन् । मुटुरोगपीडित राजा महेन्द्रले ०२४ सालमा टीकापुरमा आएर करिब डेढ महिना आराम गरेका बताइन्छ । टीकापुर पार्क यहाँको प्रमुख पर्यटकीय गन्तव्य हो ।

विश्व रामसार सूचीमा सूचीकृत घोडाघोडी ताल क्षेत्र, धार्मिक स्थल गोदावरी धामलगायत कैलालीका अन्य पर्यटकीय क्षेत्र पनि आन्तरिक पर्यटकले भरिभराउ छन् । पूर्व–पश्चिम राजमार्गसँगै जोडिएकाले घोडाघोडी ताल क्षेत्रमा पुग्न यातायातको सहज सुविधा छ । 

चाडबाडका वेला क्याम्पस तथा विद्यालयहरूमा लामो बिदा भएकाले पनि पर्यटकीय गन्तव्यहरूमा चहलपहल बढेको छ । नाटा सुदूरपश्चिमका अध्यक्ष पदमविक्रम सिंहले चाडबाडका वेला लामो बिदा हुने भएकाले खप्तडलगायत सुदूरपश्चिमका प्रमुख पर्यटकीय गन्तव्यमा पर्यटकको चहलपहल बढेको बताए । नाटाले पर्यटीय गन्तव्यका बारेमा पर्यटकलाई आवश्यक सहजीकरण गर्ने गरेको उनको भनाइ छ । ‘लामो बिदा र घुम्नका लागि उपयुक्त मौसम पनि भएकाले अहिले यहाँका पर्यटकीय गन्तव्यहरूमा पर्यटकको संख्या बढेको छ,’ उनले भने, ‘पर्यटन व्यवसायीहरूले घुमघामका लागि पर्यटकलाई विभिन्न प्याकेजहरू पनि उपलब्ध गराइरहेका छौँ ।’

सुझावित समाचार