नेपालको विजयी सुरुवात

टी-२० विश्वकप एसिया छनोट

सोमबार, १३ कार्तिक, २०८०
डिजिटल संस्करण

कुशल भुर्तेलको अर्धशतकप्रेरित नेपालले आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत एसिया छनोटमा विजयी सुरुवात गरेको छ। सोमबार भएको खेलमा नेपालले सिंगापुरलाई आठ विकेटले हरायो । ब्याटिङ, बलिङ र फिल्डिङमा सानदार प्रदर्शन गर्दै नेपालले सहज जित निकालेको हो। 

जितसँगै नेपालले समूह ‘ए’मा दुई अंक जोेडेको छ। सिंगापुरले हारबाट प्रतियोगिता सुरु गर्याे । अब, नेपालले भोलि (मंगलबार) मलेसियासँग खेल्नेछ । समूहको अन्तिम खेल १६ कात्तिकमा ओमानसँग हुनेछ। 

कीर्तिपुरस्थित त्रिवि मैदानमा एक सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले १६.२ ओभरमा दुई विकेट गुमाएर जित निकालेको थियो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले अर्धशतकीय इनिङ्स खेले। उनले ४८ बलमा आठ चौका र   दुई छक्का मद्दतमा ७४ रन बनाए।  

यसअघि आक्रामक सुरुवात गरेका कुशलले २६ बलमा ६ चौका र दुई छक्कासहित ५० रन बनाएका हुन्। उनको टी–२० मा यो सातौँ अर्धशतक हो। 

अर्का ओपनर आसिफ शेखले २६ बलमा दुई चौका र एक छक्कासहित २७ रन बनाए । कप्तान रोहितकुमार पौडेलले  २४ बलमा दुई चौका र दुई छक्कासहित ३५ रन बनाए। 

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा नाै विकेट गुमाउँदै एक सय ४५ रन बनाएको थियो। 

सिंगापुरको इनिङ्समा ओपनर रोहन रंगराजनले सर्वाधिक ४६ रन बनाए । उनले ३० बलमा नाै चौका र एक छक्का प्रहार गरेका थिए । आर्यवीर चौधरीले २३ बलमा ३३ रन र विकेटकिपर मानप्रित सिंहले २६ बलमा २४ रनको योगदान गरे। 

अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। ओपनर तथा कप्तान अरित्रा दत्त र चौथो नम्बर क्रिजमा पुगेका अमात्र्य कौल र अनान्था कृष्णा डकआउट भएका थिए। 

सानदार बलिङ गरेको नेपालका तीन बलरले समान दुई विकेट हात पारेका थिए । तीव्रगतिका बलर अभिनाश बोहाेराले चार ओभरमा तीन विकेट लिएका थिए। 

यसबाहेक करण केसी, गुल्सन झासहित लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट झारे। चार ओभरमा २१ रन खर्चिएका सोमपाल कामी विकेटविहीन भए। 

वार्मअपमा घाइते भएपछि अलराउन्डर दीपेन्द्रसिंह ऐरी टोलीबाहिर रहे । उनको स्थानमा विवेक यादवलाई खेलाइएको थियो।

आइसिसी टी–२० विश्वकप छनोटमा नेपालसहित कुल आठ टिम सहभागी छन्  । दुई समूहमा चार–चार टोली रहेका छन् । समूह ‘ए’का सबै खेल त्रिवि मैदानमा हुनेछन् । यो समूहमा आयोजक नेपालसहित सिंगापुर, मलेसिया र ओमान छन्। 

समूह ‘बी’का सबै खेलसहित सेमिफाइनल मूलपानीकाे माथिल्लो मैदानमा हुनेछन् । प्रत्येक समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनल स्थान बनाउनेछन् । फाइनल पुग्ने दुई टोलीले टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन्।
 

सुझावित समाचार