आइसिसी टी–२० विश्वकप छनोट : नेपाललाई खेल जित्न १४६ रनको लक्ष्य

सोमबार, १३ कार्तिक, २०८०
डिजिटल संस्करण

आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत एसिया छनोटको पहिलो खेलमा अहिले नेपाल र सिंगापुरबीच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा नाै विकेट गुमाउँदै एक सय ४५ रन बनाएको थियो । 

सिंगापुरको इनिङ्समा ओपनर रोहन रंगराजनले सर्वाधिक ४६ रन बनाए । उनले ३० बलमा नाै चौका र एक छक्का प्रहार गरेका थिए । आर्यवीर चौधरीले २३ बलमा ३३ रन र विकेटकिपर मानप्रित सिंहले २६ बलमा २४ रनको योगदान गरे । 

अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर तथा कप्तान अरित्रा दत्त र चौथो नम्बर क्रिजमा पुगेका अमात्र्य कौल र अनान्था कृष्णा डकआउट भएका थिए । 

सानदार बलिङ गरेको नेपालका तीन बलरले समान दुई विकेट हात पारेका थिए । तीव्रगतिका बलर अभिनाश बोहाेराले चार ओभरमा तीन विकेट लिएका थिए । यसबाहेक करण केसी, गुल्सन झासहित लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट झारे। चार ओभरमा २१ रन खर्चिएका सोमपाल कामी विकेटविहीन भए । 

वार्मअपमा घाइते भएपछि अलराउन्डर दीपेन्द्रसिंह ऐरी टोलीबाहिर रहे । उनको स्थानमा विवेक यादवलाई खेलाइएको थियो ।

आइसिसी टी–२० विश्वकप छनोटमा नेपालसहित कुल आठ टिम सहभागी छन्  । दुई समूहमा चार–चार टोली रहेका छन् । समूह ‘ए’का सबै खेल त्रिवि मैदानमा हुनेछन् । यो समूहमा आयोजक नेपालसहित सिंगापुर, मलेसिया र ओमान छन् । नेपालले १४ कात्तिकमा मलेसिया र १६ कात्तिकमा ओमानसँग खेल्नेछ । 

समूह ‘बी’का सबै खेलसहित सेमिफाइनल मूलपानीकाे माथिल्लो मैदानमा हुनेछन् । प्रत्येक समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनल स्थान बनाउनेछन् । फाइनल पुग्ने दुई टोलीले टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन् ।
 

सुझावित समाचार