दसैँ पर्वको १५ दिनभित्र भएका एक हजार एक सय ३४ सवारी दुर्घटनामा एक सय जनाले ज्यान गुमाएका छन् । घाइते हुनेको संख्या एक हजार ६ सय ९२ छ । प्रहरीले उपलब्ध गराएको यो तथ्यांक २८ असोजदेखि १२ कात्तिकसम्मको हो । यस वर्षको दसैँ २८ असोज (घटस्थापना) देखि सुरु भएर ११ कात्तिक (कोजाग्रत पूर्णिमा) सम्म चलेको थियो ।
तथ्यांकअनुसार दुर्घटनामा परी मृत्यु हुनेमा सबैभन्दा धेरै लुम्बिनी प्रदेशका छन् । यस अवधिमा लुम्बिनीमा ७६ दुर्घटना भएका छन्, जसमा २६ यात्रुले ज्यान गुमाएका छन् । घाइते हुनेको संख्या एक सय नौ पुगेको छ । यस अवधिमा ट्राफिक प्रहरीले लुम्बिनीमा मात्रै सात हजार सात सय ४३ सवारीचालकलाई कारबाही गरेको छ ।
यस अवधिमा भएको दुर्घटनामा परी मृत्यु हुने दोस्रो स्थानमा मधेश प्रदेश छ । तथ्यांकअनुसार मधेश प्रदेशमा मात्रै १५ दिनभित्र तीन सय ६० दुर्घटना हुँदा २४ जनाले ज्यान गुमाएका छन् । घाइते हुनेको संख्या ६ सय ६ छ । यस अवधिमा मधेश प्रदेशमा ट्राफिक प्रहरीले ६ हजार ८९ सवारीसाधनलाई कारबाही गरेको थियो ।
दुर्घटनामा परी मृत्यु हुने तेस्रो स्थानमा कोशी प्रदेश छ । कोशीमा १५ दिनको अवधिमा एक सय ४७ दुर्घटना भएका छन्, जसमा १७ जनाले ज्यान गुमाएका छन् । दुई सय ८५ जना घाइते भएको प्रहरीले जनाएको छ । यस अवधिमा ट्राफिक प्रहरीले सात हजार ७३ सवारीसाधनलाई कारबाही गरेको छ । दसैँका वेला बागमती प्रदेशमा ६० दुर्घटना भएका छन्, जसमा ज्यान गुमाउनेको संख्या ११ जना र घाइते हुने एक सय ९२ पुगेका छन् । ट्राफिक प्रहरीले यस अवधिमा दुई हजार सात सय २५ सवारीसाधनलाई कारबाही गरेको जनाएको छ । तथ्यांकअनुसार गण्डकी प्रदेशमा भएका २२ दुर्घटनामा परी आठजनाले ज्यान गुमाएका छन् । घाइते हुनेको संख्या ३० छ । ट्राफिक प्रहरीले सात हजार नौ सय ६२ सवारीसाधनलाई कारबाही गरेको छ ।
दसैँको समयमा सुदूरपश्चिम प्रदेशमा १९ दुर्घटना भएका छन् । दुर्घटनामा नौजनाको ज्यान गएको र २४ जना घाइते भएका छन् । यस अवधिमा दुई हजार तीन सय ८५ सवारीसाधन कारबाहीमा परेका छन् । कर्णाली प्रदेशमा यस अवधिमा ६१ दुर्घटना भएका छन्, जसमा दुईजनाले ज्यान गुमाएका र ८८ जना घाइते भएका ट्राफिक प्रहरीले जनाएको छ । यस अवधिमा एक हजार पाँच सय ५८ सवारीसाधन कारबाहीमा परेका छन् ।
दसैँमा उपत्यकाभित्र तीन सय ८९ सवारी दुर्घटना
विगत वर्षका दसैँमा झैँ यस वर्ष पनि काठमाडौं उपत्यकामा दुर्घटनाको संख्या धेरै छ । तर, मृत्यु हुनेको संख्या भने निकै घटेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार दसैँमा उपत्यकाभित्र तीन सय ८९ सवारी दुर्घटना भएका छन्, जसमा ज्यान गुमाउनेको संख्या तीन छ । दुर्घटनामा घाइते हुनेको संख्या तीन सय ५८ रहेको छ । यस अवधिमा ट्राफिक प्रहरी कार्यालयले २२ हजार चार सय ५१ सवारीसाधनलाई कारबाही गरेको छ ।
प्रहरीको तथ्यांक विश्लेषण गर्दा यस वर्षको दसैँमा पाल्पाको तानसेन नगरपालिकास्थित वैकुण्ठे छाँगोमा ०१–०२६ च ७२०९ नम्बरको जिपबाहेक ठूला दुर्घटना भएनन् । दुर्घटनामा एकै परिवारका ६ जनाको ज्यान गएको थियो । तर, कोशी, मधेस र लुम्बिनी प्रदेश जोड्ने ठूला राजमार्गआसपास भने साना तथा मझौला दुर्घटना निकै भए, जसमा एक सयजनाले ज्यान गुमाएका छन् । यस वर्ष पहाडीभन्दा सहरी सडकमा धेरै दुर्घटना भए ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले यस वर्षको दसैँमा सार्वजनिक यातायातका सवारीसाधन कम दुर्घटना भएको, तर निजी सवारी प्रयोजनका साधन बढी दुर्घटना भएको जानकारी दिए । ‘यस वर्षको दसँैमा ठूला तथा सार्वजनिक प्रयोजनका सवारीसाधन निकै कम दुर्घटना भएका छन् । मृत्यु हुनेको संख्या पनि घटेको छ । तर, निजी प्रयोजनका सवारीसाधन भने धेरै दुर्घटना भएका छन्,’ उनले भने ।
कारबाहीका कारण मृत्युदर घट्यो
यातायात व्यवस्था विभागको तथ्यांकअनुसार मुलुकभर ५० लाखभन्दा धेरै सवारीसाधन दर्ता छन् । त्यसमध्ये अधिकांश सवारीसाधन बागमती प्रदेशमा दर्ता भएका छन् । दर्ता भएकामध्ये सबै सवारीसाधन काठमाडौं उपत्यकाभित्रका सडकमा सञ्चालन हुन्छन् । त्यसैले काठमाडौंमा सधैँ सवारीसाधनको चाप उच्च रहन्छ । र, दुर्घटना दर पनि उच्च रहन्छ । सोही कारण विगतका दसैँमा काठमाडौं उपत्यकाभित्र भएका सवारी दुर्घटनामा कम्तीमा पनि १५ देखि २० जनाको ज्यान जाने गथ्र्यो । घाइते पनि उत्तिकै हुन्थे । तर, यस वर्षको दसैँमा उपत्यकाभित्र ज्यान गुमाउनेको संख्या तीन मात्रै छ । दुर्घटनामा परी घाइते हुनेको संख्या पनि निकै कम छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले यस वर्षको दसैँमा दुर्घटनामा ज्यान गुमाउनेको संख्या उल्लेख्य रूपमा घटेको बताए । ‘काठमाडौं उपत्यकामा यस वर्षको दसैँमा तीन सय ८९ दुर्घटना भए, जसमा तीन यात्रुको ज्यान गएको छ । जथाभावी सवारी चलाउनेलाई कारबाही प्रक्रिया अघि बढाउँदा मृत्यु हुनेको संख्या घटेको हो । यस अवधिमा साढे २२ हजार सवारीसाधनलाई कारबाही गरेका छौँ,’ उनले भने । कार्यालयका अनुसार यस वर्ष उपत्यकाभित्र ट्राफिक कारबाही अत्यन्तै कडा पारिएको थियो, जसमा दुई हजार तीन सय ६७ लाई मापसेमा र नौ सय ९७ लाई ओभर स्पिड गरेकामा कारबाही गरियो । यसका लागि कार्यालयले ठाउँठाउँमा चेक पोइन्ट बनाएको थियो ।
पोखरामा बस दुर्घटना, ३५ घाइते
पोखरा महानगरपालिका–१७ स्थित छोरेपाटनबाट पुम्दीभुम्दी जाँदै गरेको बस आइतबार दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । घाइतेहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर, चारजनाको अवस्था सामान्य जटिल र २८ जनाको अवस्था सामान्य रहेको अस्पतालका निर्देशक भरतबहादुर खत्रीले जानकारी दिए ।
शान्ति स्तूपा जाँदै गरेको ग१ख ८५८५ नम्बरको नगरबस सडकबाट करिब २० मिटर तल खसेको थियो । उकालोको घुम्तीमा विपरीत दिशाबाट आएको बसलाई साइड दिने क्रममा नगरबस सडकबाट खसेको थियो ।
घाइते हुनेमा पोखराका विनिता न्यौपाने, सीता शर्मा, उत्तमबहादुर गुरुङ, सुस्मिता तिवारी, विशाल न्यौपाने, अजय त्रिपाठी, अनिता थापा, विनम शेर्पा, सीता शेर्पा, गीता गुरुङ, राधिका थापा, बुद्धिराज सुवेदी, रेवती कार्की, सीता गुरुङ, सृष्टि गुरुङ, सुवास गुरुङ र दक्षता गुरुङ छन् । यस्तै, काठमाडौंका नमन भट्टराई, सुसान पौडेल, रेखा बस्नेत, समर बस्नेत, विनिता पराजुली, मञ्जली सुनार, चन्द्रमा पौडेल, प्रभा पराजुली, चन्द्रप्रसाद पराजुली, सुरेश निरौला, इसु निरौला, रीमा कार्की, विवेक शर्मा र रोशनी बस्नेत, तनहुँकी तारा पराजुली, सुरक्षा रिमाल, ग्रेसी थापा र कल्पना सिग्देल छन् ।
काभ्रेमा बोलेरो दुर्घटना, ११ घाइते
काभ्रेको बेथानचोक गाउँपालिकामा आइतबार बोलेरो दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । एमाले खानीखोलाले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी भई फर्कने क्रममा दुर्घटना हुँदा एमालेनेतृ नवीना लामा, रामहरि सुवेदी, भक्तकुमारी लामासहित ११ जना घाइते भएका हुन् ।
तालढुंगामा आयोजित चियापान कार्यक्रममा सहभागी भएर फर्किएका एमाले नेताहरू सवार बा.१४च ७०७७ नम्बरको बोलेरो बेथानचोक–१ स्थित निगालेडाँडामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । बोलेरोमा १८ जना सवार थिए ।
घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । बोलेरोको ब्रेक फेल भई सडकबाट पल्टेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते हुने अन्यमा सिर्जना नेपाली, सुवम श्रेष्ठ, सुरज श्रेष्ठ, रचना मगर, इन्जिला सोडारी, मिना श्रेष्ठ, दीपेन्द्र राना, सिङताङ तामाङ छन् ।