फिर्के खोला अतिक्रमण गरी बनेका संरचना ३५ दिनभित्र हटाउन सूचना

आइतबार, १२ कार्तिक, २०८०
डिजिटल संस्करण

पोखराका विभिन्न भाग भएर बग्ने फिर्के खोला अतिक्रमण गरी खोलाघरभित्र निर्माण गरिएका संरचना ३५ दिनभित्र हटाउन पोखरा महानगरपालिकाले सार्वजनिक सूचना जारी गरेको छ । महानगरपालिकाले गत ३ साउनदेखि खोलाघर छुट्याउन सीमांकन र रेखांकनको काम सुरु गरेको थियो । महानगरका सर्वेक्षक वासुदेव पौडेलको नेतृत्वमा रहेको ४० जनाको टोलीले ३२ दिन लगाएर सीमांकन र रेखांकनको काम सम्पन्न गरेको थियो । टोलीले दिएको प्राविधिक प्रतिवेदनपछि महानगरले खोलाघरभित्र निर्माण गरिएका अस्थायी र स्थायी संरचना ३५ दिनभित्र हटाउन शुक्रबार सार्वजनिक सूचना जारी गरेको हो । 

महानगरका प्रवक्ता मोतीलाल तिम्सिनाले खोलाघरभित्र रहेका संरचना तोकिएको समयमा सम्बन्धित व्यक्तिले हटाउनुपर्ने बताए । यदि ३५ दिनभित्र संरचनाहरू पूर्ण रूपमा नहटाए महानगर आफैँले हटाउने र हटाउँदा लागेको लागत सम्बन्धित व्यक्ति वा संस्थाले सरकारी बाँकीसरह भुक्तानी गर्नुपर्ने तिम्सिनाले जानकारी दिए । 

पोखरा–१८ सराङकोटस्थित अँधेरीकुनाबाट सुरु भएको फिर्के खेला महानगरका विभिन्न आठवटा वडाको बस्ती छिचोल्दै पोखरा ६ र १७ नम्बर वडामा पर्ने फेवातालको ड्यामसाइडनजिकैको गाईघाटबाट सीधै तालमा मिसिने गर्दछ । वडा १८ बाट सुरु भएको फिर्के खोला २, ४, ५, ८, ७, ६ र १७ नम्बर वडा हुँदै फेवातालसम्म पुगेको छ । अँधेरीकुनाबाट लगभग सात किलोमिटरअघि गएपछि मालपोत कार्यालय कास्कीभन्दा केही माथि गैरीखेत भन्ने स्थानमा लगभग दुई किलोमिटर लामो बुलौदी खोलासमेत फिर्केमा मिसिन आएको छ ।

सीमांकनका क्रममा खोलाघरभित्र १६० वटा भौतिक संरचना निर्माण भएको भेटिएको थियो । तीमध्ये संस्थागत अर्थात् सरकारी, सामाजिक संघसंस्था, आमा समूह, समाजघरलगायतका गरी २८ र व्यक्तिगत १३२ वटा छन् । संस्थागततर्फ स्थायी १८ र अस्थायी १० वटा छन् । व्यक्तिगतमध्ये ९७ वटा कच्ची र ३५ वटा पक्की संरचना छन् । ती संरचनामध्ये पाँचदेखि ८० प्रतिशतसम्म खोलाघरभित्र रहेका टोली प्रमुख पौडेलले जानकारी दिए । निर्माण भएका संरचनामध्ये शतप्रतिशत खोलाघरभित्र नभेटिएको उनले जानकारी दिए । खोलाको सिमाना अतिक्रमणसँगै खोलाको वरिपरि निर्माण गरिएका घरको फोहोरसँगै शौचालय, नाला र फोहोर पानी फाल्ने पाइपसमेत सीधै खोलामा मिसाइएको उनको भनाइ छ । 

करिब नौ किलोमिटर लामो खोलाको चौडाइ विभिन्न स्थानमा फरक–फरक रहेको छ । खोला कतै चार मिटर र कतै ४० मिटरसम्म फैलिएको टोली प्रमुख पौडेलले जानकारी दिए । ०३२ को नापीअनुसार खोलाघर छुट्याउने काम भएको उनले बताए । खोलाको कुल लम्बाइमध्ये करिब ६ किलोमिटर मुख्य सहरी भाग हुँदै बगेको छ । सीमांकन र रेखांकनका क्रममा ५८४ स्थानमा पिलर गाडिएको छ । जमिनको बनावटसँगै संरचना बनेको स्थानमा पिलर गाड्न सम्भव नभएपछि २३९ स्थानमा चिह्न लगाइएको छ ।

सुझावित समाचार