मौलाकालिका मन्दिरको दर्शन गर्ने भक्तजनको संख्या उल्लेख्य वृद्धि

शनिबार, ११ कार्तिक, २०८०
डिजिटल संस्करण

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटमा अवस्थित मौलाकालिका मन्दिरमा यस वर्षको नवदुर्गामा पहिलेका वर्षहरूभन्दा धेरै भक्तजन पुगेका छन्। मन्दिर व्यवस्थापन समितिका अनुसार यस वर्ष पहिलेकोभन्दा भक्तजनको ठूलो संख्यामा भिड लागेको हो।  

दसैँको नवदुर्गा सुरु भएदेखि मौलाकालिका दर्शन गर्न जाने क्रम बढेको हो। पहिले गैँडाकोटबाट माथि मन्दिरसम्म हिँडेर जानुपर्नेमा अहिले मन्दिरसम्म पुग्नका लागि केबलकार निर्माण भएपछि सहज भएको हो। अघिल्ला वर्षहरूमा मन्दिरमा बिहानको समयमा मात्र भक्तजन जाने गरेको भए पनि यस वर्ष साँझसम्म नै गएका थिए।

ज्येष्ठ नागरिक, अपांगता भएका एवं अशक्तसमेत केबलकार चढेर मन्दिर पुग्ने गरेका छन्। चितवनमा दिउँसोको गर्मी समयमा उकालो हिँड्न कठिन हुने भएकाले बिहान मात्र मन्दिरमा भिड हुने गरेकोमा अहिले साँझसम्म नै भक्तजन जाने गरेको पाइएको छ।

धार्मिक सेवा समिति मौलाकालिकाका अध्यक्ष शालिग्राम सापकोटाका अनुसार यस वर्ष नवदुर्गा लागेसँगै भक्तजनको संख्या बढेको छ। यस वर्ष नवदुर्गा लागेपछि र त्यसअघि पनि गत वर्षहरूका तुलनामा झन्डै ३० प्रतिशत भक्तजन बढेको उनले बताए। पहिले पहिले हरेक वर्ष १० प्रतिशतको हाराहारी दर्शनार्थी बढ्ने गरेकामा यस वर्ष केबलकार सेवा उपलब्ध भएसँगै थप २० प्रतिशत भक्तजन बढेको उनले बताए।

फूलपाती, अष्टमी र नवमीमा मात्र २५ हजार भक्तजन मन्दिर पुगेका उनको अनुमान छ। यसमध्ये सबैभन्दा बढी फूलपातीका दिन नौ हजारको हाराहारीमा भक्तजन त्यहाँ पुगेका उनले बताए। उनले भने, 'केबलकार बनेपछि सहजताका कारण भक्तजनको संख्या पनि बढेको हो।'

यो संख्या हालसम्मकै बढी भएको उनको भनाइ छ। कार्यालय बन्द भएपछिको पहिलो दिन भएकाले फूलपातीका दिन भक्तजनको निकै भिड थियो। आज कोजाग्रत पूर्णिमाका दिन पनि भक्तजनको निकै भिड लाग्ने अनुमान गरिएको छ। यहाँ हालै सञ्चालनमा ल्याइएको केबलकार र अरू दुईवटा बाटोबाट भक्तजन मन्दिर पुग्ने गर्दछन्।

तर, पछिल्लो समयमा केबलकार चढेर मन्दिर जानेको संख्या धेरै छ। घटस्थापनाको दिनदेखि क्रमशः भक्तजन बढ्दै गएका हुन्। नवदुर्गा सुरु भएसँगै बिहान ५ बजेदेखि नै केबलकार सञ्चालनमा ल्याइएको छ।

मौलाकालिका केबलकार लिमिटेडका स्टेसन म्यानेजर सुरज पौडेलका अनुसार वैशाख महिनामा २५ हजार व्यक्ति केबलकार चढेर मन्दिर पुगेका थिए। यो संख्या जेठमा २६ हजार थियो भने असार र साउनमा केही घटेको थियो।

विजयादशमी सुरु भएसँगै केबलकार चढ्नेको संख्या बढ्दै गएको छ। फूलपाती र नवमीका दिन चार हजार हाराहारीले केबलकार चढेको उनले जानकारी दिए। घटस्थापनायता दैनिक सरदर केबलकार चढ्नेको संख्या दुई हजारभन्दा बढी छ। केबलकारको दूरी पाँच मिनेटको छ। केबलकारबाट झरेपछि केही मिनेटको पैदलयात्रा गरी मन्दिर पुग्न सकिन्छ।

केबलकार बनेसँगै नवलपरासी, चितवन, तनहुँलगायत छिमेकी जिल्ला र बाहिरी जिल्लाबाट घुम्न आएका पर्यटक मन्दिर पुग्ने गरेका छन्। मन्दिरमा बिहान ५ बजेअघि र साँझ घाम डाँडामा पुगेपछि आरती गर्ने गरिन्छ। मन्दिरसँगै सञ्चालनमा रहेको मौलाकालिका संस्कृत विद्यापीठ गुरुकुलमका ३२ जना र पुजारी कर्मचारीसँगै भक्तजनले आरती गर्ने गर्दछन्।

अहिलेको मन्दिर विसं २०५३ मा बनेको भए पनि मन्दिरको इतिहास भने विसं १५७५ देखिकै छ। करिब पाँच सय वर्ष पहिले पाल्पा राज्यको सैनिक टुकडीले मौला राखेर शक्तिपीठको पूजा गर्ने भएकाले मन्दिरको नाम मौलाकालिका राखिएको किंवदन्ती छ। करिब २० वर्षयता मात्रै मन्दिरमा भौतिक संरचनाको विकास गरेर भक्तजन भित्र्याउन थालिएको हो।

मौलाकालिका शक्तिपीठको दर्शन र पूजा गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ। यही आस्थाका कारण नेपालका विभिन्न जिल्लाबाट पूजाआजाका लागि भक्तजन यहाँ आउने गरेका छन्। प्रायः शनिबार र चितवनको गर्मीका कारण धेरैजसो बिहानको समयमा यहाँ दर्शनका लागि मानिस आउने गरेकामा अहिले भने दिउँसो पनि आउने गरेका छन्।     

 
 

सुझावित समाचार