चिर्पट प्रहार गरेर श्रीमतीको हत्या

शुक्रबार, १० कार्तिक, २०८०
डिजिटल संस्करण

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– २ मुडेस्थित लालीखर्कका ४० वर्षीय दावा शेर्पाले प्रहार गरेको दाउराको चिर्पट लागेर ३६ वर्षीया श्रीमती लाक्पा डिकु शेर्पाको मृत्यु भएको छ । मादक पदार्थ सेवन गरेका दावा र श्रीमतीबीच घरायसी विषयमा विवाद हुँदा श्रीमानले गएराति प्रहार गरेको चिर्पट लागेर श्रीमतीको मृत्यु भएको हो ।

श्रीमान्–श्रीमतीबीच मूलघरमा झगडा भएपछि भागेकी श्रीमती घरदेखि करिब दुई सय मिटर टाढा गोरेटो बाटोमा मृत फेला परेको स्थानीय बासिन्दाले बताए । हत्या गर्ने श्रीमानलाई गएराति नै खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए

शेर्पादम्पतीबीच यसअघिदेखि नै सामान्य विवाद हुने गरेको छिमेकीले बताए । बुधबार पनि विवाद भएपछि आफ्नो घर छाडेर मूलघर गएर बसेकी श्रीमतीलाई त्यहीँ पुगेर श्रीमानले चिर्पट प्रहार गरेको प्रत्यक्षदर्शीले बताए ।

मृत श्रीमतीको शव परीक्षणका लागि गएराति नै जिल्ला अस्पतालमा लगिएको थियो । शेर्पादम्पतीका दुई छोरी छन् ।

भिरबाट लडेर मृत्यु

यसैबीच जंगलमा घाँस काट्ने क्रममा भिरबाट लडेर हलेसी तुवाचुङ नगरपालिका– २ डिकुवाकी २६ वर्षीया एलिना मगरको मृत्यु भएको छ । दशमीका दिन घाँस काट्ने क्रममा भिरबाट लडेर ज्यान गुमाएकी उनको शव जिल्ला अस्पतालमा लगेर परीक्षण गरेपछि बिहीबार अन्तिम दाहसंस्कारका लागि प्रहरीले आफन्तलाई जिम्मा लगाएको थियो ।     

 

See More On

सुझावित समाचार