धौलागिरि अस्पतालमा पहिलोपटक सबैभन्दा बढी तौल भएको बच्चाको जन्म भएको छ ।
बागलुङ जैमिनी नगरपालिका– ३ की ३२ वर्षीया मालती छन्त्याल तामाङले अहिलेसम्मकै बढी तौल भएको बच्चा जन्माएकी हुन् ।
बच्चाको तौल चार केजी सात सय ५० ग्राम रहेकोे अस्पतालले जनाएको छ । अस्पतालको प्रसूति वार्डमा बिहीबार सामान्य रूपमा उनले छोरा जन्माएको अस्पतालकी नर्सिङ इन्चार्ज देवी भट्टराईले जानकारी दिइन् । यो छन्त्यालको चौथो सन्तान हो ।
पेटमा रहेको बच्चा ठूलो देखिएकाले अस्पतालबाट पोखरा जान सल्लाह दिइएको थियो, तर विगतका सन्तान पनि सामान्य रूपमै जन्मिएकाले आफूलाई यसपटक पनि सामान्य रूपमै बच्चा जन्मिन्छ भन्ने लागेर यहीँ भर्ना भएको सुत्केरी छन्त्याल तामाङले बताइन् ।
बडादसैँका वेला अस्पतालमा स्त्रीरोग विशेषज्ञ नहुँदा पनि स्वास्थ्यकर्मीको सक्रियतामा सामान्य रूपमै प्रसूति गराइएको हो ।
दसैँका वेलामा पोखरा जान पनि गाह्रो थियो । नजिकको अस्पतालमै बच्चा जन्माउने विचार गरेर यहाँ सम्बन्धित चिकित्सक नहुँदा पनि अस्पतालमा भएको जनशक्तिको सहयोगमा राम्रौसँग बच्चा जन्मिएको मालतीका पति नेत्रबहादुर छन्त्यालले बताए ।
उक्त अस्पतालमा प्रसूतिका लागि एक दिनमा झन्डै एक दर्जन महिला आउने गर्छन् । यसभन्दा अघि अस्पतालमा बढीमा चार किलो पाँच सय ग्रामसम्मको बच्चाको जन्म भएकामा अहिले चार किलो सात सय ५० ग्रामको बच्चाको जन्म भएको हो ।
यसअघि ठूलो तौलको बच्चा जन्माउन नसक्दा शल्यक्रिया गर्नुपरेको थियो । अहिले ती बच्चा र आमा दुवैको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ । (रासस)